प्रतिनिधि सभा विघटन मुद्दा: वरिष्ठताका आधारमा नयाँ संवैधानिक इजलास

काठमाडौं । प्रतिनिधि सभा विघटनलगायत विषयमा परेका ३० वटा मुद्दामा आइतबार संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले यसअघि नै ती मुद्दाहरूमा सुनुवाइ गर्न आइतबार नयाँ संवैधानिक इजलास गठन  गरेका छन्। 

frontline

संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणासहित न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई  छन्। 

उनीहरूलाई संवैधानिक इजलासका लागि बनाइएको रोस्टरबाट वरिष्ठताका आधारमा इजलासमा राखिएको हो।

रोष्टरमा रहेका न्यायाधीश हरिकृष्ण कार्की केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा महान्यायाधीवक्ता रहेकाले उनैले गरेको विघटनको मुद्दामा न्यायाधीश हरिकृष्ण कार्कीले हेर्न नमिल्ने भन्दै पहिलो विघटनमा प्रश्न उठेको थियो। प्रश्न उठेपछि कार्की बाहिरिए।

अहिलेको मुद्दामा पनि आफूलाई त्यही प्रश्न आउने भन्दै उनले बस्दिनँ भनेदेखि वरिष्ठ पाँचपछिको छैठौं वरीयता क्रमका न्यायाधीश खतिवडा संवैधानिक इजलासमा परेका हुन्। वरिष्ठ पाँचमध्ये न्यायाधीश विश्वम्भर श्रेष्ठ बिरामी भएकाले आइसोलेसनमा छन्।

उनी पनि अनुपस्थित भएकाले सातौं वरीयताका आनन्दमोहन भट्टराई इजलासमा समावेश भएका हुन्। 

यसअघि प्रधानन्यायाधीश राणाले गठन गरेको संवैधानिक इजलासमा रिट निवेदकतर्फका वकिलले आपत्ति जनाएका थिए। इजलासमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले यी मुद्दा हेर्न नमिल्ने भन्दै प्रश्न उठेपछि विवाद भएको थियो।

न्यायाधीश केसी र श्रेष्ठले आफूहरूमाथि प्रश्न उठे पनि इजलासमा कायम रहने निर्णय गरेपछि इजलासमा रहेका अरू दुई न्यायाधीश आनन्दमोहन भट्टराई र  दीपककुमार कार्कीले  आफूहरू अलग हुने निर्णय गरेका थिए।

सर्वोच्च बारका पदाधिकारीसँगको छलफल र सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठकमा (फुल कोर्ट) प्रधानन्यायाधीश राणाले अबको संवैधानिक इजलास रोष्टरमा रहेका न्यायाधीशमध्ये वरिष्ठताका आधारमा गठन गर्ने सहमति जनाएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here