प्रतिनिधिसभाका तीन सांसदको पद निलम्बन
समाचार सारांश
- प्रतिनिधिसभाका सांसद मोहनबहादुर बस्नेत दूरसञ्चार प्राधिकरणको अनियमितता मुद्दामा निलम्बित भएका छन्।
- रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुद्दा दर्ता भएपछि निलम्बनमा परेका छन् र हाल थुनामा छन्।
- एमाले सांसद टोपबहादुर रायमाझी भुटानी शरणार्थी प्रकरणमा संलग्नताको आरोपमा निलम्बित छन्।
काठमाडौँ । प्रतिनिधिसभाका तीन जना सांसद निलम्बित भएका छन् । पछिल्लो पटक बिहीबार नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेत निलम्बित भएसँगै तत्काललाई प्रतिनिधिसभाका तीन सांसद निलम्बनमा परेका हुन् ।
नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद प्रकरणमा ३ अर्ब २१ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा अख्तियारले बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा दायर गरेसँगै बस्नेतको पद निलम्बन भएको हो ।
भ्रष्टाचार मुद्दा दर्ता गर्नासाथ सांसद पद निलम्बन हुने कानुनी व्यवस्था छ । बस्नेत सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । यसअघि सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएपछि उनी निलम्बनमा परेका थिए । उच्च अदालत बुटवलको आदेशमा लामिछाने अहिले थुनामा छन् । लामिछाने चितवन ३ बाट निर्वाचित सांसद हुन् ।
भुटानी शरणार्थी प्रकरणमा थुनामा पुगेका एमाले सांसद टोपबहादुर रायमाझीको सांसद पद पनि निलम्बन छ । रायमाझी अर्घाखाँचीबाट निर्वाचित सांसद हुन् ।






प्रतिक्रिया दिनुहोस्