प्रचण्ड भन्छन् : ५२ नियुक्ति अदालतबाट सदर हुनु गलत

‘अध्यादेशबाट बडो गलत ढंगले, संविधान र कानूनको मर्मविपरीत, जबरजस्ती नियुक्ति गरिएको विषयलाई यत्रो वर्ष लगाएर सदर गरियो । यो त मिलेको छैन ।’

News Summary

Generated by OK AI. Editorially reviewed.

frontline
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक पदाधिकारी नियुक्तिबारे भएको फैसला ठिक नभएको बताए।
  • उनले अदालतको निर्णय राजनीतिक प्रभाव भएको पनि आरोप लगाएका छन्।
  • प्रचण्डले अदालतको पुनर्संरचनाबारे नयाँ ढंगले जानुपर्ने पनि बताए।

२४ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक निकायका ५२ पदाधिकारीहरूको नियुक्ति सदर गर्ने सर्वोच्च अदालतको फैसला गलत भएको टिप्पणी गरेका छन् ।

सोमबार अनलाइनखबरसँग अन्तर्वार्ताका क्रममा अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतको निर्णयमा राजनीतिक प्रभाव भएको बताए ।

‘अब अदालतले निर्णय नै सकेपछि त्यो अदालतको निर्णयलाई मैले गलत इन्टरप्रेटेसन त गर्न चाहन्नँ । तर जे भयो बेठीक भयो भन्ने त मलाइ लागेकै छ,’ अध्यक्ष प्रचण्डले भने, ‘अध्यादेशबाट बडो गलत ढंगले, संविधान र कानूनको मर्मविपरीत, जबरजस्ती नियुक्ति गरिएको विषयलाई यत्रो वर्ष लगाएर सदर गरियो । यो त मिलेको छैन ।’

उनले अदालत पनि यही समाजकै अंग भएकाले प्रभावित हुनसक्ने टिप्पणी पनि गरेका छन् ।

‘म के ठान्छु भने अदालत भनेको पनि फेरि अन्तत: यही समाजको, यहीँ अहिले चलेको बहस, छलफल तिनै मान्छे त हुन्छन् त्यहाँ पनि,’ अध्यक्ष प्रचण्डले भने, ‘प्रभावित देखियो । राजनीतिक देखियो । त्यसकारण जे भयो त्यो सही चाहिँ भएन ।’

कुराकानीका क्रममा अध्यक्ष प्रचण्डले संविधान निर्माणका बेला संवैधानिक अदालतको कुरा चलेको स्मरण पनि गरे ।

‘संवैधानिक अदालतबारे पनि त्यति संविधान बनाउने बेलामा नि कुरा चलेको चाहिँ थियो नै । अदालतको पुनर्संरचनाबारे नयाँ ढंगले जानुपर्छ भन्ने बहस नि उठेको थियो । तर त्यसमा हामी सहमत हुन सकेनौं,’ प्रचण्डले भने, ‘अब अदालत पुरानै रूपमा राख्दाखेरि के भइरहेको छ भन्ने अब दुनियाँले देखिराखेकै कुरा छ ।’

उनले थप भनेका छन्, ‘यसलाई कहीँ न कहीँ हामीले संविधान संशोधन गर्दा अदालतको विषय पनि, सदनको विषय पनि, अहिले सदनमा नि जस्तो जस्तो भइराखेको देखिया छ नि, यी सबै विषयलाई पनि विचार गरेर अलिकति परिमार्जनतिर जानुपर्छ ।’

अध्यक्ष प्रचण्डसँग अनलाइनखबरले गरेको विस्तृत अन्तर्वार्ता आजै प्रसारण हुने छ ।

अदालत |पुष्पकमल दाहाल |प्रचण्ड |संवैधानिक निकाय

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here