प्रचण्डको आरोप- भ्रष्टाचारमा लिप्त मान्छेलाई ऊर्जामन्त्री बनाइएको छ

९ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारमा सबैभन्दा बढी लिप्त भएका व्यक्तिलाई अहिलेको सरकारले ऊर्जामन्त्री बनाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्रीको जिम्मेवारीमा नेपाली कांग्रेसका नेता दीपक खड्का छन् ।




पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले खड्कालाई भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका हुन् ।
शनिबार चितवनमा आयोजित जनतासँग माओवादी तराई–मधेश जागरण अभियान जिल्ला समन्वय समितिद्वारा आयोजित जागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाए ।
‘राष्ट्रपतिले स्वास्थ्यमन्त्रीमा स्वास्थ्यसम्बन्धी ज्ञान भएकोे मान्छेलाई बनाउन पाउनुपर्यो । शिक्षामन्त्री शिक्षासम्बन्धी राम्रोे ज्ञान भएको मान्छेलाई बनाउन पाउनुपर्यो,’ प्रचण्डले भने, ‘अहिले त भएको के छ ? मन्त्रीका अनुहारहरू हेनुैभयो भने, जो सबैभन्दा बढी भ्रष्टाचारमा लिप्त छ, उसैलाई ऊर्जामन्त्री दिएको छ । अझै लुट भनेर ।’
अहिलेको सरकारले राम्रो काम गर्नेलाई भने चिथोर्ने काम गरेको प्रचण्डको भनाइ छ ।
‘राम्रो काम गर्नेलाई कोपरेको छ, चिथोरेको छ । जसरी हुन्छ, त्यसलाई सताएको छ,’ प्रचण्डले भने ।
उनले यस्तो अवस्था अन्त्य हुनका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था हुुनुपर्ने पनि बताए ।
‘यदी प्रत्यक्ष कार्यकारी निर्वाचित राष्ट्रपति भयो भने, विज्ञहरूलाई मन्त्री बनाउने भयो भने विश्वविद्यालयका प्राध्यापकहरू मन्त्री हुन थाल्छन्,’ प्रचण्डले भने, ‘अनिमात्रै देशमा स्थिरता हुन्छ, विकास हुन्छ, भ्रष्टाचार रोकिन्छ ।’
प्रतिक्रिया दिनुहोस्