पोहोर रोकिएको पूर्व रास्ट्रपतिको चीन भ्रमण आज बल्ल सुचारु

सक्रिय राजनीतिमा फर्किने तयारीमा रहेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी उत्तरी छिमेकी चीन भ्रमणमा जाँदै हुनुहुन्छ । चिनियाँ कम्युनिष्ट पार्टी र त्यहाँको सरकारी निमन्त्रणमा साताव्यापी भ्रमणका लागि उहाँ आज राती बेइजिङ प्रस्थान गर्ने कार्यक्रम छ ।
भ्रमण दलमा मन्त्री,सांसदसहित एमाले नेताहरु पनि सहभागी हुने जनाइएको छ । जसमा उध्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी,एमाले सचिव तथा विदेश विभाग प्रमुख रघुवीर महासेठ,स्थायी कमिटी सदस्य कर्ण थापा,सांसद देवी भट्टचन,नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष महेन्द्रविष्टसहित १४ जना रहने बताइएको छ ।




भ्रमणका दौरान पूर्व राष्ट्रपति भण्डारीले उच्च राजनीतिक भेटघाट गर्ने तय भएको छ । चीन र नेपालबीचकाे सम्बन्ध, दुई देशका कम्युनिष्ट पार्टीहरुबीचको सम्बन्ध तथा सहकार्य छलफलको मुख्य एजेण्डा रहने बुझिएको छ ।
दुई पटक मुलुकको सर्वोच्च पदमा रहेकी उहाँको शीतल निवासबाट बाहिरिएपछिको यो नै पहिलो विदेश भ्रमण हुनेछ । यसअघि गत कात्तिक मै चीन भ्रमणकाे चर्चा भए पनि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल समकक्षी नरेन्द्र मोदीको शपथग्रहणबाट फर्केर एमाले अध्यक्ष केपी ओलीलाई भेटी अन्तिममा रोक्न लगाइएको थियो ।
भण्डारीकै कार्यकालमा २३ बर्षपछि चिनियाँ राष्ट्रपति तहबाट सि चिनफिङको नेपाल भ्रमण भएको हो,जसलाई ७० को दशककै एउटा महत्वपूर्ण उपलब्धिका रुपमा लिने गरिन्छ । त्यतिबेला चिनियाँ समकक्षीलाई नेपाल भ्रमण गराउन सफल भएकोमा उहाँको प्रशंसासमेत भएको थियो ।
चीनले पनि पूर्व राष्ट्रपति भण्डारीलाई महत्व दिने गरेको धेरैको विश्लेषण छ । त्यसकारण उहाँ एमालेको राजनीतिमा फर्किने चर्चाका बीच हुन लागेको भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।
यता, पूर्व राष्ट्रपतिसँगै चीन जान लागेका उध्योगमन्त्री भण्डारीको एमालेभित्रैबाट आलोचना भएको छ । गत मंगलबार बसेको क्याबिनेट बैठकले ‘चीनका विभिन्न कार्यक्रममा भाग लिन’ भन्दै उनको भ्रमण स्वीकृत गरेको थियो । तर, पूर्व राष्ट्रपति भण्डारीले गर्ने उच्च राजनीतिक भेटवार्तामा सहभागी हुनका लागि मात्र जान लागेको बताइन्छ ।
एमाले स्रोतका अनुसार मन्त्रालयको काम प्रभावकारी नभएको र नयाँ आर्थिक वर्षको संघारमा विदेश जाँदा गैरजिम्मेवार देखिने भन्दै पार्टीका केही नेताले भ्रमणमा नजान मन्त्री भण्डारीलाई सचेत गराएका थिए । तर, पूर्व राष्ट्रपतिसँग जानको लागि उनले विभिन्न कार्यक्रमको सेड्युल देखाएर क्याबिनेटबाट भ्रमण स्वीकृत गराएको दाबी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्