पृथ्वीराजमार्ग तनहँुखण्ड ः खाल्डाखुल्डीले दुर्घटनाको जोखिम
दमौली, २४ असोज (रासस) : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा खाल्डाखुल्डी पुर्न वर्षेनी करोडौ लगानी भएपनि राजमार्गको अवस्था भने सुधार आउन सकेको छैन । पृथ्वीराजमार्गका ७२ किलोमिटर पर्ने तनहुँमा ठाउँ–ठाउँमा खाल्डाखुल्डीले गर्दा यात्रा गर्ने सर्वसाधारणलाई सास्ती त छँदैछ दुर्घटनाको जोखिम पनि बढाएको छ ।
जिल्लाका कोत्रे, हलेदी, गाछेपानी, मालेबगर, थर्पु, गुणादी, घाँसीकुवा, छिर्कन, डुम्रे बजार क्षेत्रका सडकमा खाल्डाखुल्डीले राजमार्गमा सडक जाम समेत हुने गरेको छ । ट्याक्सी चालक अमित श्रेष्ठले मुख्य राजमार्गकै अवस्थाका कारण सवारी चलाउन मुस्किल हुँदै आएको बताउनुभयो । “सडकको खाल्डाखुल्डीले निकै सास्ती छ, बिरामी लिएर पोखराका अस्पताल पुग्न गाह्रो छ,” उहाँले भन्नुभयो, “भनेको समयमा पुग्न सकिदैन ।
खाल्डाखुल्डीमा गाडी चलाउँदा बिरामीलाई पनि सास्ती भइरहेको छ ।” पानी परेको बेला खाल्डामा पानी जम्ने र घाम लागेको बेला धुलो उड्ने समस्या पनि उत्तिकै रहेको उहाँले गुनासो गर्नुभयो । राजमार्गमा गाडी चलाउँदा असुरक्षित महशुस हुने गरेको चालक देव श्रेष्ठले बताउनुभयो । “राजमार्गको अवस्था हेर्दा यस्तो पनि सडक हुन्छ र भन्ने लाग्छ, ग्रामीण सडकको भन्दा पनि खत्तम छ ,” उहाँले भन्नुभयो, “सम्ब्न्धित निकायको वेवास्ताका कारण जनताले दुःख पाउनुपरेको छ ।”
पछिल्लो केही दिन यता भने सो राजमार्गका खाल्डा पुर्न थालिएको छ । गाछेपानी कोत्रे खण्डमा सडक डिभिजनले आफ्नै मेसिन प्रयोग गरेर सडकको खाल्डा पुरिरहेको कार्यालयका प्रमुख लक्ष्मी केसीले जानकारी दिनुभयो । पृथ्वीराजमार्ग सडक अहिले डिभिजनको क्षेत्राधिकारमा नपर्ने भएका कारण मर्मत गर्न नसकिएको उहाँले स्पष्ट पार्नुभयो ।
“यो सडक अहिले हाम्रो क्षेत्राधिकारमा पर्दैन । मुग्लिङ–पोखरा चार लेन सडकलाई हस्तान्तरण गरिसकेका छौ । आयोजनाको ठेकेदार फिल्डमा नआएकाले सडक डिभिजनको मेसिन र स्थानीय सामग्रीको प्रयोग गर्दै खाल्डा पुर्न थालेका हौ,” उहाँले भन्नुभयो । क्षेत्राधिकारमा नपर्ने भएकाले पृथ्वी राजमार्ग मर्मतका लागि कार्यालयसँग बजेट उपलब्ध नभएको उहाँले बताउनुभयो ।
“कार्यालयलाई अहिले सडक मर्मतका लागि पैसा आएको छैन, तर सर्वसाधारणलाई सास्ती भएको देखेर बजेट नभएपनि खाल्डा पुर्न थालेका हौ,” उहाँले भन्नुभयो । राजमार्गको मुग्लिन पोखरा सडक एसियाली विकास बैङ्कक (एडीबी)को सहुलियत ऋणमा चार लेनको बन्दैछ । चार लेन सडक बनाउनलाई दुई खण्डमा विभाजन गरेर ठेक्का प्रक्रियामा गइसकेको छ ।
गत भदौ १३ गते सडक डिभिजनले मुग्लिङ–कोत्रे सडक खण्डको जिम्मेवारी मुग्लिङ–पोखरा सडक योजनालाई दिएको छ । चार लेन सडकको आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१.४५ किमी र जामुने–पोखरा ४५ किमीको दुई प्याकेजमा ठेक्का लगाइएको हो ।
बाउन्न वर्षअघि रेखाङ्कन भएको देशकै प्रमुख पृथ्वी राजमार्ग तनहुँमा ७२ किमी पर्दछ । सडक मर्मतका लागि मात्रै गत आर्थिक वर्ष २०७७÷७८ मा रु एक करोड १७ लाख ७४ हजार ३६ खर्च भएको थियो । आर्थिक वर्ष २०७६÷७७ मा रु पाँच करोड १८ लाख ४१ हजार एक सय ५५ खर्च भएको छ ।
प्रतिक्रिया दिनुहोस्