पूर्वराजाका गतिविधिमा सांसदले खोजे नियन्त्रण

राजावादीलाई संविधान मानेर अघि बढ्न खालिदको सुझाव छ । ‘संघीय लोकतान्त्रिक गणतन्त्र चाहिँदैन भने के चाहिन्छ त ? प्रतिगमन चाहियो ?’ खालिदको प्रश्न छ ।

२५ फागुन, काठमाडौं । आइतबार राष्ट्रिय सभा सदस्यहरू पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा निकालिएका र्‍याली छिचोल्दै नयाँ बानेश्वरस्थित संसद् भवन पुगे ।

frontline

राजतन्त्रको अन्त्यका लागि लडेका नेताहरूले जब त्यसकै पक्षमा निकालिएका र्‍याली छिचोलेर संसद् भवन जानुपर्ने भयो त्यसको भाव सभामा व्यक्त उनीहरूका विचारमा प्रकट नहुने कुरै भएन । शून्य र विषय समयमा बोल्दै उनीहरूले पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्ति र गतिविधिउपर सरकारको नियन्त्रण खोजे । राजनीतिक दलहरूको धारणा माग गरे ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद मोहम्मद खालिद सरकार, राजनीतिक दलहरू र राजावादी  तीनवटै पक्षलाई प्रश्न गर्छन ।

‘लामो संघर्ष, बलिदान एतिहासिक मधेश जनविद्रोह, जनआन्दोलन र जनयुद्ध तथा विभिन्न जातजातिको आन्दोलनपछि धेरै कष्ट गरेर हामीले संघीय लोकतान्त्रिक गणतन्त्र पाएका छौं । यसकाविरुद्ध सडकमा कुराहरू आइरहेको छ । यसमा सरकारले आफ्नो दायित्व निर्वाह गरोस्’ खालिदको आग्रह छ ।

सरकारले दायित्व निर्वाह गर्दा संविधान विरोधी आवाज सडकमा नसुनिने उनको विश्वास छ । उनी भन्छन्, ‘विगतका र वर्तमान सरकारको केही विफलताको फलस्वरूप कसैले गणतन्त्रको सट्टा, लोकतन्त्रको सट्टा अरू कुरा निम्त्याउँछ भने त्यसमा सरकारले ध्यान पुर्‍याउनै पर्छ ।’

सरकारले दायित्व निर्वाह गर्दै गर्दा राजनीतिक दलहरूले आफ्नो पोजिसन क्लियर गरिदिनुपर्ने उनको अर्को आग्रह छ । ‘राजनीतिक दलहरूले आफ्नो पोजिसन क्लियर गरून कि– उहाँहरू के चाहनु हुन्छ ?’ खालिद भन्छन्, ‘सामने आते भी नहीं, साप छुपते भी नहीं’ वाला परिस्थिति जनताले राम्ररी नियालिरहेका छन्, हेरिरहेका छन् । यसमा ध्यान जाओस् ।’

राजावादीलाई संविधान मानेर अघि बढ्न खालिदको सुझाव छ । ‘संघीय लोकतान्त्रिक गणतन्त्र चाहिँदैन भने के चाहिन्छ त ? प्रतिगमन चाहियो ?’ खालिदको प्रश्न छ ।

यदि प्रतिगमन चाहेको भए त्यो पूरा हुन नसक्ने उनको राय छ । जनताको अवस्था बदल्ने एजेन्डा लिएर अघि बढ्न राजावादीलाई सुझाव छ ।

हरेक वर्ष प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले शुभकामना दिँदै आएका छन् । शुभकमना दिने क्रममा यसवर्ष ६ फागुनमा ज्ञानेन्द्रले शासन सत्ता छोड्नुलाई त्यागको रूपमा व्याख्या गरेका थिए । राजगद्दी त्याग्नुलाई कमजोरी नठान्न राजनीतिक दलहरूलाई चेतावनी दिएका थिए ।

यो पनि पढ्नुहोस

पूर्वराजाको सन्देशमाथि समीक्षा गर्न राप्रपाले बोलायो कार्यसम्पादनको बैठक

पूर्वराजा ज्ञानेन्द्रको यस्तो अभिव्यक्तिले उत्साहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार पोखराबाट चार्टर्ड विमानमा काठमाडौं आएका शाहको स्वागतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा र्‍याली निकालेको हो । पूर्वनिर्धारित आमसभा स्थगित गरेर राप्रपाले राजाको स्वागत र्‍यालीमा समय खर्चिएर राजतन्त्रका पक्षधरहरूको शक्ति देखाउने प्रयास गर्‍यो ।

राप्रपाको यस्तो कदमलाई गणतन्त्रमाथि प्रहार गर्ने अराजकतावादी गतिविधिको संज्ञा दिन्छन् नेकपा माओवादी केन्द्रका सांसद जगप्रसाद शर्मा । ‘यो (राजावादीको प्रदर्शन) संविधान विरोधी हर्कत, व्यवस्था विरोधी, संघीयता विरोध क्रियाकलाप जे छन्, यो अराजकतालाई नियन्त्रण गर्न कन्ट्रोल गर्न सरकार किन सकिरहेको छैन ?’ शर्माको प्रश्न छ ।

यो पनि पढ्नुहोस

राजावादीको प्रदर्शनलाई माओवादीले दियो अराजकताको संज्ञा

एकातिर सरकारलाई प्रश्न गरेका माओवादी सांसद शर्माले अर्कोतिर कतै शक्तिमा रहेकाहरू नै राजावादीसँग अप्रत्यक्ष गठबन्धनमा छन् कि भन्ने गम्भीर आशंका गरे । अन्यथा, राजनीतिक दलहरूले पूर्वराजा ज्ञानेन्द्रको व्यवहारबारे आफ्नो प्रष्ट धारणा ल्याउनुपर्ने उनको आग्रह छ ।

‘अहिलेका राजनीतिक पार्टीहरूले कित्ता क्लियर गर्नुपर्ने भयो,’ उनी भन्छन्, ‘कहीँ न कहीँ कुनै न कुनै ढंगको एउटा पुरानो अवशेष बेबी किङ, वल्ड किङ अथवा युथ किङ भन्ने यस्तो सोचाइ वा मनोभावनाले काम गरेर यस्तो भएको त होइन ? अथवा यो प्रवृत्ति र त्यो प्रतिगामी प्रवृत्ति बीचको कहीँ न कहीँ कुनै न कुनै ढंगको अपवित्र प्रकारको अप्रत्यक्ष ढंगले गठबन्धन त छैन ? भन्ने शंका गर्न सकिन्छ ।’

प्रमुख राजनीतिक दलहरू संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र वा प्रतिगमन हुन सक्दैन भन्नेमा प्रष्ट रहेको आफ्नो दृढ बुझाइ रहेको उनले बताए ।

माओवादी सांसद शर्मा थप्छन्, ‘यही विश्वास नागरिकलाई दिलाउनुपर्छ– गणतन्त्रको विकल्प राजतन्त्र होइन । संविधानको विकल्प पछाडि प्रतिगमनतिर फर्किने कुरा हुँदै होइन ।’

माओवादीका अर्का सांसद सुरेश आलेमगरको पनि शक्तिमा रहेका दलहरूप्रति आशंका छ ।

‘एकातिर राजतन्त्रका भुतहरू सलबलाउने अर्कोतिर यो देशको राज्य सत्ताको बागडोर कसको हातमा छ भन्दा जसलाई राजतन्त्र ल्याउने कुरामा सुरुमा हिचकिचाहट थियो, भय थियो । कहिले बेबी मोनार्की, कहिले सेरेमोनियल मोनार्की भन्नुभएको थियो’ सांसद मगरले राजतन्त्र अन्त्यको समय स्मरण गरे ।

तर, त्यसबेला नेपालमा गणतन्त्र आउन सक्दैन भन्नेहरू नै अहिले सत्तामा रहेको मगरले दोहोर्‍याए ।

‘…जसले राजतन्त्र नष्ट गरेर गणतन्त्र ल्याउनुपर्छ भन्दा खिसिटुयुरी गरेर भन्थे बयलगाढा चढेर अमेरिका जाने ? भन्नुहुन्थ्यो । त्यस्ता व्यक्तिहरू राज्य सत्तामा भएको बेलामा यो (राजावादीहरूको प्रदर्शन) फगत एउटा संयोग हो कि त्यस्तै व्यक्ति (नेपालमा गणतन्त्र आउन सक्दैन भन्ने व्यक्ति) हरूबाट राजतन्त्रका भुतहरू प्रोत्साहित भइरहेका छन् ? प्रेरिरत भइरहेका छन ?’

अन्यथा, सत्तामा रहेका दलहरूले ज्ञानेन्द्र शाहबारे आफ्नो बुझाइ र व्यवहार प्रष्ट गर्नुपर्ने उनको आग्रह छ ।

१० वर्षे माओवादी सशस्त्र युद्ध, २०६२/६३ को जनआन्दोलन र मधेश आन्दोलनको पृष्ठभूमिमा नेपालबाट राजतन्त्र अन्त्य भएको हो । २८ चैत २०६४ सालमा सम्पन्न संविधान सभाको चुनावबाट निर्वाचित संविधान सभाको पहिलो बैठक (१५ जेठ २०६५) ले नेपालबाट राजतन्त्र अन्त्यको घोषणा गरेको थियो । त्यसयता पूर्वराजा ज्ञानेन्द्र निर्मल निवासमा बस्दै आएका छन् ।

जनताका जनप्रतिनिधिहरूले संविधान सभाबाट गरेको निर्णयलाई सडकबाट उल्ट्याउने भन्दै राजावादीहरू प्रदर्शनमा उत्रिन थालेकाले दलहरू बोल्नुपर्ने अवस्था आएको बताउँछिन् एकीकृत समाजवादीकी सांसद जयन्तीदेवी राई ।

‘फेरि पनि प्रतिगामी कुर्लँदैछन्, ब्युँझदैछन् र संविधानको उल्लंघन गर्न खोज्दैछन् । ६७/६८ वर्षसम्म लडेर प्राप्त गरेका उपलब्धि खोस्न चाहन्छन् । संघीय लोकतन्त्रमाथि धावा बोलिरहेका छन्’ आइतबार संसदमा उनले आक्रोश पोखिन् ।

पूर्वराजाको गतिविधिले नेपालमा राजनीतिक अस्थिरता रहेको उनको तर्क छ । राजनीतिक अस्थिरता अन्त्य गर्न र प्राप्त उपलब्धि रक्षा गर्ने गरी भूमिका खेल्न सरकार, राजनीतिक दल र नागरिक सबैलाई उनको आह्वान छ ।

‘हामीले परास्त गरेको, नेपाली जनताको निम्ति अफापसिद्ध छ भनेर मसानघाटमा पुर्‍याएको राजतन्त्र कुर्लिरहेको छ । त्यसकारण राजनीतिक अस्थिरता पैदा भइराखेको छ । सडकमा अनावश्यक नारा गुञ्जिरहेको छ’ उनले भनिन्, ‘आह्वान गर्न चाहन्छु– प्राप्त अधिकार नगुमाउन सबै सजग बनौं ।’

राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद शर्मा सरकारको कारणले समेत गणतन्त्र विरोधीले ठाउँ पाएको ख्याल गर्न सुझाउँछन् । उनी भन्छन्, ‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन । तर, यस (राजावादीको पक्षमा प्रदर्शन) को कारण सत्तामा बसेका पार्टीहरूले जनताको आवाज सुन्न नसकेर हो ।’

यो पनि पढ्नुहोस

पार्टीहरूमा राजतन्त्र पुनरावृत्ति भयो, पूर्वराजा सडकमा आए

नागरिकका दुःखमा सत्ता भेटिए गणतन्त्र कसैले हल्लाउन नसक्ने उनको आग्रह छ । सरकारलाई उनको सुझाव छ, ‘सेवा प्रवाहमा सहजता ल्याउन सकेनौं । महँगी र भ्रष्टाचार नियन्त्रण गर्न सकेनौं । यसकारण ध्यान दिऔं– सुशासन कायम गर्न आवश्यक छ । यसो गरे व्यवस्था विरोधी आवाज आफैँ कम भएर जान्छ ।’

पूर्वराजाको सक्रियता र व्यवस्थाविरोधी आवाज कम गर्न संविधान हातमा नभएर माथमा धारण गरेर सरकार अघि बढ्नुपर्ने बताउँछन् नेपाली कांग्रेसका सांसद युवराज शर्मा ।

‘दक्षिणपन्थ, अनुदारवाद र पाखण्डपूर्ण लोकप्रियतावादको जवाफ प्रगतिशीलता, जवाफदेहिता र आर्दशवाद नै हो । यसतर्फ ध्यान आकृष्ट गराउँदै सरकारलाई भन्न चाहन्छु– संविधानलाई हातमा होइन माथमा धारण गर्दै जनताको बढ्दो असन्तुष्टि सम्बोधन गरियोस् ।’

संविधानतः प्राप्त मौलिक अधिकार जनतालाई दिलाउने प्रयासमा लाग्न र सेवा प्रवाहमा छिटो छरितो हुने उपाय अपनाउन पनि  सरकारलाई उनको सुझाव छ । यसो भए व्यवस्था विरोधी मत स्वतः निस्तेज भएर जाने उनको विश्वास छ । शर्माका अनुसार यसका लागि गणतन्त्रवादी दलहरूका बीचमा सहमति र सहकार्य समेत आवश्यक छ । सांसद शर्मा सुझाउँछन्, ‘(राजावादी गतिविधिविरुद्ध) …संविधानवादी राजनीतिक दलहरूबीच सहमतिको अधिकतम पहलको अपेक्षा राख्दछु ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here