पूर्वमाओवादी घटकहरूसँगको छलफलमा प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीको विचारनिकट राजनीतिक दलहरूसँग छलफल गर्ने भएका छन् । छलफलका लागि प्रचण्डले पूर्वमाओवादी घटक नेताहरूलाई प्रधानमन्त्रीनिवास बालुवाटार बोलाएका छन् ।
प्रचण्डले पछिल्लो समय सम्पूर्ण माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गर्दै आएका छन् । सोही विषयमा आजको बैठक केन्द्रित हुने नेकपा बहुमतका संयोजक धर्मेन्द्र बाँस्तोलाले जानकारी दिए ।
आजको बैठकमा प्रचण्डसहित नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला र नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकीलगायत सहभागी हुने बताइएको छ ।
गत आइतबार सहिद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, सहिद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा प्रचण्डले विभाजित माओवादी पार्टीका विभिन्न घटकहरूलाई एकताबद्ध हुन आग्रह गरेका थिए ।
प्रचण्डले आफूमाथि जनयुद्धका कमाण्डरको हैसियतमा राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा विभिन्न दबाब र घेराबन्दीविरुद्ध लडिरहेको बताएका थिए । यस विषयमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ । सर्वोच्च अदालतले प्रचण्डविरुद्ध परेको रिट दर्ता गर्नका लागि दिएको आदेश दिएको थियो ।
केही वर्ष अगाडि टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजार जनाको मात्र आफूले जिम्मा लिने भनेर दिएको अभिव्यक्तिअनुसार फौजदारी अभियोग दायर हुनुपर्ने माग गर्दै अधिवक्ता ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकीले सर्वोच्च अदालतमा रिट दर्ता गर्न माग गरेका थिए ।
सर्वोच्च अदालत प्रशासनले सो रिट दर्ता नगरी दरपीठ गरेको थियो । प्रशासनको सो दरपीठको आदेशविरुद्ध आरण र बुढाथोकीले निवेदन दायर गरेका थिए
प्रतिक्रिया दिनुहोस्