पुटिनले जस्तै गरी सोच्छन् ट्रम्प ?

वासिङ्टन डीसी । युक्रेनमाथि आक्रमणपछिका तीन वर्षसम्म अमेरिका र उसका सहयोगी देशहरूले रुसलाई बहिष्कार गरे अनि अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरेको आरोपमा रुसमाथि अनेक प्रतिबन्ध लगाइयो ।

तर अब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसप्रति फरक रवैया देखाइरहेका छन् । ट्रम्पले रुससँगको अमेरिकाको सम्बन्धलाई पुनर्स्थापित गर्दै छन् । उनी रुसलाई आक्रमणकारी भन्न वा युक्रेनलाई युद्धको पीडित घोषणा गर्न अस्वीकार गर्छन् । 

frontline

ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच शुक्रबार ह्वाइट हाउसको ओभल अफिसमा भेटवार्ता भएको थियो । यसमा युक्रेनको युद्ध र यसलाई कसरी अन्त्य गर्ने भन्ने बारेमा खुला बहस भयो । ह्वाइट हाउसमा ट्रम्प र जेलेन्स्कीबीचको छलफल चर्काचर्कीमा परिणत भयो । जेलेन्स्की रिसाएर ह्वाइटहाउसबाट निस्किए ।

यो झगडापछि उदारवादी विश्व व्यवस्था अब समाप्त हुन लागेको केही मान्छेलाई लागेको छ । यति ठुलो दाबीमा कतिको सत्यता छ ? 

उदारवादी नेतृत्व समय 

उदारवादी विश्व व्यवस्था प्रतिबद्धता, सिद्धान्त र मान्यताहरूमा निर्मित अन्तर्राष्ट्रिय सम्बन्धको प्रणाली हो । यसको केन्द्रमा अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र महासभा र सुरक्षा परिषद् जस्ता संस्थाहरू हुन्छन् । उदार विश्व व्यवस्थाले स्वतन्त्र व्यापार जस्ता मूल्यहरूलाई पनि प्रतिनिधित्व गर्दछ, जसलाई विश्व व्यापार संगठन (डब्ल्यूटीओ) अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक जस्ता संस्थाहरूले समर्थन गर्छन् । 

यसको सबैभन्दा ठुलो धारणा यही वैचारिक मान्यता हो कि पश्चिमी उदार लोकतन्त्रले सरकारको सर्वश्रेष्ठ मोडलको प्रतिनिधित्व गर्छ । अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घनलाई आधिकारिक रूपमा संयुक्त राष्ट्र सङ्घको महासभाको प्रस्ताव वा अन्तर्राष्ट्रिय न्यायालयको निर्णय मार्फत उठाउन सकिन्छ । यस्तो अवस्थामा, संयुक्त राष्ट्रको सुरक्षा परिषद्ले आर्थिक प्रतिबन्ध लगाउन सक्छ । चरम अवस्थामा सैन्य कारबाही गर्ने अधिकार पनि दिन सकिन्छ । 

रुसले प्रायः १९९९ मा नेटोले युगोस्लाभियामाथि गरेको बमबारी, २००३ मा इराकमा अमेरिकाको नेतृत्वमा भएको आक्रमण र २००८ मा कोसोभोको स्वतन्त्रतालाई मान्यता दिएपछि संयुक्त राष्ट्र सुरक्षा परिषद्को स्वीकृति बिना गरिएका पश्चिमा कार्यहरूको उदाहरणको रूपमा उद्धृत गर्ने गरेको छ ।

तर, प्रतिबन्ध र सैन्य हस्तक्षेपहरू प्रायः संयुक्त राष्ट्र सङ्घको स्वीकृति बिना नै लागू गरिन्छ । रुसले लामो समयदेखि यसको आलोचना गर्दै आएको छ । ‘शक्तिको प्रयोगलाई संयुक्त राष्ट्र सङ्घले अनुमोदन गरेमा मात्र वैध मान्न सकिन्छ । र हामीले नेटो वा युरोपेली सङ्घलाई संयुक्त राष्ट्र सङ्घले जत्तिकै महत्त्व दिन आवश्यक छैन ।’ २००७ को म्युनिख सुरक्षा सम्मेलनमा बोल्दै, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भनेका थिए । 

युक्रेनमा आक्रमण गरेर रूसले धेरै देशहरूको नजरमा अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन मात्र गरेन, विश्वव्यापी मामिलाहरू सञ्चालन गर्ने तरिकालाई पनि चुनौती दियो । २०१४ देखि पुटिन आफैँले संयुक्त राष्ट्र सङ्घको स्वीकृति बिना नै सैन्य बल प्रयोग गर्दै आएका छन् । पश्चिमा दृष्टिकोणबाट युक्रेन विरुद्ध रुसको आक्रामकता शीतयुद्ध पछि नियम–आधारित व्यवस्थाको सबैभन्दा स्पष्ट उल्लङ्घन थियो । 

‘हामीले यस प्रणालीका तीन मुख्य सिद्धान्तहरूको उल्लङ्घन देखेका छौँ,’ प्रिन्सटन विश्वविद्यालयमा राजनीति र अन्तर्राष्ट्रिय मामिलाका प्राध्यापक जी. जोन इकेनबेरीले फाइनान्सियल टाइम्सलाई भने । ‘पहिलो सिद्धान्त भनेको तपाईंले क्षेत्रीय सीमाहरू परिवर्तन गर्न बल प्रयोग गर्न सक्नुहुन्न । दोस्रो, तपाईँ युद्धमा नागरिकहरू विरुद्ध हिंसा गर्न सक्नुहुन्न । र तेस्रो, तपाईँ आणविक हतियार प्रयोग गर्ने धम्की दिन सक्नुहुन्न । पुटिनले पहिलो दुई गरेका छन् र तेस्रो गर्छु भनेर धम्की दिएका छन् । त्यसैले यो नियममा आधारित व्यवस्थाको लागि वास्तविक सङ्कट हो ।’ उनले भनेका छन् । 

जवाफमा, रुसका विदेशमन्त्री सर्गेई लाभरोभले पश्चिमा दृष्टिकोणले अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र संघका संस्थाहरूको कुनै सम्मान नगर्ने तर्क गरेका छन् । रुसले प्रायः १९९९ मा नेटोले युगोस्लाभियामाथि गरेको बमबारी, २००३ मा इराकमा अमेरिकाको नेतृत्वमा भएको आक्रमण र २००८ मा कोसोभोको स्वतन्त्रतालाई मान्यता दिएपछि संयुक्त राष्ट्र सुरक्षा परिषद्को स्वीकृति बिना गरिएका पश्चिमा कार्यहरूको उदाहरणको रूपमा उद्धृत गर्ने गरेको छ । यस्ता कार्यहरूले संयुक्त राष्ट्र सङ्घको बडापत्रमा उल्लेखित सिद्धान्तहरूको उल्लङ्घन गर्ने रुसको तर्क छ । 

‘ट्रम्प पुटिन जस्तै सोच्छन्, १९ औं शताब्दीका साम्राज्यवादी शासक जस्तै,’ जोन्स हप्किन्स विश्वविद्यालयका रूस विज्ञ सर्गेई राडचेन्को भन्छन् । ‘युरोपसँग रूसमाथि दबाब दिन पर्याप्त आर्थिक शक्ति र वित्तीय उपकरणहरू छन्,’ राडचेन्को भन्छन् ।

उदारवादी विश्व व्यवस्थाको सबैभन्दा महत्त्वपूर्ण परीक्षामध्ये एक इजरायल–हमासप्रति अमेरिकाको फरक अडान थियो । इजरायललाई सैन्य सहयोग दिएकोमा धेरै देशहरूले बाइडेन प्रशासनको कडा आलोचना गरे । अमेरिकामाथि हजारौँ प्यालेस्टिनीहरूको मृत्युप्रति उदासीन रहेको आरोप लगाइयो । वाशिंगटन पोस्टसँगको एक अन्तरवार्तामा, टर्की संसदका सभामुख नुमान कुर्तुलमसले भने, ‘यो एकदमै स्पष्ट रूपमा पाखण्ड हो, द्वैध चरित्र हो । यो एक प्रकारको जातिवाद हो, किनकि यदि तपाईँ प्यालेस्टिनी पीडितहरूलाई युक्रेनी पीडितहरू बराबर मान्नुहुन्न भने, यसको अर्थ तपाईँ मानवताभित्र एक प्रकारको वर्गीकरण ल्याउन चाहनुहुन्छ । यो अस्वीकार्य छ ।’

उदारवादी विश्व व्यवस्था अमेरिका, अमेरिकी डलर, अमेरिकी अर्थतन्त्रसँग धेरै बाँधिएको अनि यो संयुक्त राष्ट्र सुरक्षा परिषद् भन्दा बढी नेटो र गठबन्धनहरूसँग जोडिएको इकेनबेरी मान्दछन् । छोटकरीमा भन्दा यसलाई उनी अमेरिकाको उदारवादी आधिपत्यको रूपमा पनि बुझ्न भन्छन् । 

ट्रम्पको कूटनीतिबारे के सोच्छन् अमेरिकी जनता ?

विद्यमान अन्तर्राष्ट्रिय व्यवस्थालाई चुनौती दिन खोज्ने देशहरूलाई परम्परागत रूपमा संशोधनवादी शक्ति भनेर चिनिन्छ । अमेरिकी विश्लेषक र नीति निर्माताहरू यो शब्दलाई चीन र रुससँग जोड्छन् । यी दुवै देशहरू अमेरिकाको विश्वव्यापी प्रभाव कम गर्न चाहने उनीहरूको ठम्याई छ । हालैका महिनाहरूमा अमेरिका विश्वको सबैभन्दा ठुलो संशोधनवादी शक्ति बनेको प्रोफेसर इकेनबेरी बताउँछन् । ट्रम्प प्रशासनले व्यापार, मानव अधिकार संरक्षण र गठबन्धनदेखि लोकतान्त्रिक ऐक्यबद्धतासम्म उदारवादी विश्व व्यवस्थाको लगभग हरेक पक्षलाई नष्ट गर्ने काम गरिरहेको छ । 

‘मेरो प्रशासनले अघिल्लो प्रशासनको विदेश नीतिका विफलता र अतितका असफलताहरूलाई निर्णायक रूपमा तोडिरहेको छ,’ ट्रम्पले हालै भनेका थिए । विदेश नीति पूर्ण रूपमा राष्ट्रपतिको क्षेत्राधिकारमा पर्दछ ।ट्रम्प टोलीका यी आमूल परिवर्तनहरूलाई रोक्न कांग्रेस र न्यायपालिकालाई गाह्रो हुनेछ । यसलाई अमेरिकी हित अनुरूप तर्जुमा गरेर नै ट्रम्प प्रशासनले रुससँग मेलमिलापको दिशामा चालिएको कदमलाई जायज ठहराएको छ ।

‘हामी मान्छौँ कि जारी द्वन्द्व रुसको लागि नराम्रो छ, युक्रेनको लागि नराम्रो छ, युरोपको लागि पनि नराम्रो छ, तर सबैभन्दा महत्त्वपूर्ण कुरा, यो अमेरिकाको लागि पनि नराम्रो छ ।’ अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सामाजिक सञ्जालमा लेखेका छन् । तर, ट्रम्पको कूटनीतिक क्रान्ति अमेरिकीहरूलाई मन परेको छैन । हालै गरिएको एक सर्वेक्षणले अमेरिकीहरूले उनको आप्रवासन नीतिको सबैभन्दा धेरै समर्थन गरेका थिए भने रूस–युक्रेन युद्ध र इजरायल–प्यालेस्टाइन द्वन्द्वमा ट्रम्पको अडानलाई सबैभन्दा कम समर्थन प्राप्त भएको थियो । यसैबिच, दुई तिहाइभन्दा बढी अमेरिकीहरूले युक्रेनलाई सहयोगी मान्छन् । यी मध्ये आधा मानिसहरू युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको पक्षमा छन् । 

ट्रम्पको कूटनीतिक उथलपुथल

‘२०२५ को फेब्रुअरीसम्ममा यो नियममा आधारित व्यवस्थालाई उल्ट्याउने धम्की अमेरिकाले दिइरहेको छ,’ अक्सफोर्ड विश्वविद्यालयमा रूस र युरेशियन मामिलाकी अनुसन्धानकर्ता डा. जूली न्यूटन भन्छिन् । प्रमाणको रूपमा न्यूटनले युक्रेनको प्राकृतिक स्रोतसाधनमाथि नियन्त्रण हुनु पर्ने ट्रम्पको माग, रूससँगको सम्बन्ध सामान्यीकरण गर्ने उनको कुरा, जेलेन्स्कीमाथि उनको सार्वजनिक आक्रमण र युरोपमा अति–दक्षिणपन्थी दलहरूलाई ट्रम्पका सहयोगीहरूको समर्थनलाई औँल्याउँछिन् । 

kutniti

फेब्रुअरी २४ मा युक्रेनमाथि रुसले आक्रमण गरेको तीन वर्ष पूरा भयो । यस अवसरमा, अमेरिकाले रुसी आक्रमण र युक्रेनी भूभागमा यसको कब्जाको निन्दा गर्ने संयुक्त राष्ट्र महासभाको प्रस्तावको विरुद्धमा मतदान गर्यो । अमेरिकी कूटनीतिज्ञहरूले रूस–युक्रेन द्वन्द्वको क्रममा भएको दुःखद जीवनको क्षतिप्रति समवेदना व्यक्त गर्दै एक सरल वक्तव्य प्रस्तुत गरे ।

यसैबिच, ट्रम्पले वासिङ्टन र मस्कोबीचको आर्थिक सम्बन्ध पुनर्स्थापित गर्न पुटिनसँग वार्ता गरिरहेको घोषणा गरे । ‘ट्रम्पको कूटनीतिक क्रान्तिले हेलसिंकी चार्टरका सिद्धान्तहरूलाई कमजोर बनाइरहेको छ र अमेरिकालाई आफ्नै सहयोगीहरूको नजरमा प्रतिद्वन्द्वीमा परिणत गरिरहेको छ ।’ न्यूटन भन्छिन् । अमेरिका, सोभियत संघ र युरोपेली देशहरूबीच हेलसिंकी सम्झौतामा हस्ताक्षर भएको थियो । यसको उद्देश्य क्षेत्रीय अखण्डता, सीमा हिंसा रोकथाम र एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तहरूलाई बलियो बनाउनु थियो । 

‘ट्रम्प पुटिन जस्तै सोच्छन्, १९ औं शताब्दीका साम्राज्यवादी शासक जस्तै,’ जोन्स हप्किन्स विश्वविद्यालयका रूस विज्ञ सर्गेई राडचेन्को भन्छन् । ‘युरोपसँग रूसमाथि दबाब दिन पर्याप्त आर्थिक शक्ति र वित्तीय उपकरणहरू छन्,’ राडचेन्को भन्छन् । ट्रम्पले पुटिनसँगको वार्तालाई कसरी लिन्छन् भन्ने कुराले फरक नपार्ने अनि युरोपेली देशहरूले समानान्तर रूपमा रूससँगको सम्बन्ध सामान्य बनाउने कल्पना गर्न गाह्रो भएको उनको भनाइ छ । 

एट्लान्टिक काउन्सिलको युरेसिया सेन्टरका शेल्बी म्यागिडका अनुसार उदारवादी विश्व व्यवस्थाको अन्त्य घोषणा गर्नु धेरै हतार हुनेछ । रुसमाथि अमेरिकी प्रतिबन्धहरू अझै पनि कायम छन् र ट्रम्प प्रशासनले रुसले युक्रेनमा युद्ध समाप्त गरेमा मात्र ती प्रतिबन्धहरू हटाइने बताएको छ ।

‘म यसमा सहमत छु कि समयपूर्व र खतरनाक सामान्यीकरणको जोखिम छ, तर हामी अझै पूर्ण रूपमा त्यहाँ पुगेका छैनौँ,’ मागिड भन्छन् । ‘विश्व व्यवस्थाको अन्तिम परिणाम र दिगो प्रभाव शान्ति कसरी लागू गरिन्छ भन्नेमा भन्दा युद्ध कसरी अन्त्य हुन्छ भन्नेमा बढी निर्भर हुनेछ ।’ उनले भने । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here