पाल्पामा बिहेभोज खाएपछि बिरामी परेका अधिकांशमा आउँका किटाणु देखियो

फाइल तस्बिर

बिरामीमध्ये कतिपयलाई सुधार आए पनि केहीमा पुनः समस्या

२१ मंसिर, पाल्पा । पाल्पामा बिहेभोज खाएपछि बिरामी परेका अधिकांशमा आउँका किटाणु देखिएको चिकित्सकले बताएका छन् । स्वास्थ्यकर्मीहरूका अनुसार दूषित पानी, खाना वा सरसफाइका कारणबाट आउँ लाग्ने गर्छ ।

frontline

मिसन अस्पतालमा उपचार गर्न गएकाहरूको दिसा जाँच गरेको रिपोर्टमा आउँँका किटाणु देखिएको स्वास्थ्यकर्मी तथा चिकित्सकले बताए ।

लुम्बिनी प्रादेशिक अस्पताल र बगनासकाली गाउँपालिकाका स्वास्थ्यकर्मीले बुधबार अधिकांशको रिपोर्टमा आउँको किटाणु देखिएको बताएका हुन् । बिहेभोज खाएपछि बिरामी परेका पाल्पा चिर्तुङधारा घोरबन्दाका बिरामीको बुधबार पनि घरघरमा पुगेर उपचार गर्ने क्रममा यस्तो देखिएको बगनासकाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले बताए ।

मंगलबार मिसन अस्पतालका डा. सञ्जीव रावल, बगनासकाली गाउँपालिकाका ११ जना स्वास्थ्यकर्मी, स्वयंसेविका लगायतले सेवा दिएका थिए ।

बुधबार पुनः लुम्बिनी प्रादेशिक अस्पतालका डा. विवेक खनाल, मेडिटेक अस्पतालबाट स्वास्थ्यकर्मीहरू विष्णुप्रसाद पाण्डेय, बैकुण्ठ पौडेल लगायतको टोलीले सघाएको थिए । मेडिटेक अस्पतालले एम्बुलेन्ससमेत पठाएको थियो । रुपन्देही बसोवास गर्ने बराङदीका लक्ष्मण बस्यालले चिकित्सकसहितको टोली ल्याउन सघाएको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताइन् ।

बिरामीमध्ये कतिपयलाई सुधार आए पनि केहीमा पुनः समस्या देखिएको छ । बुधबार गर्भवती महिला, बालक र अर्का एक महिलासहित तीन जना नयाँ बिरामी भेटिएको स्वास्थ्यकर्मीले बताए ।

उनीहरुका अनुसार फलोअपसहित चिकित्सकसहितको टोलीले घरघरमा पुगेर उपचारमा सघाएको छ । मिसन अस्पतालमा उपचार गराएर फर्किएकाहरूको प्रयोगशाला रिपोर्ट अनुसार सबैमा दिसामा एक प्रकारको किटाणु देखिएको उनले बताए ।

दूषित पानी, खानाबाट हुने किटाणुबाट आउँ परेको देखिएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबाट आएका चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले जनाएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालका डा. खनालका अनुसार दिसा जाँच गर्दा आउँको किटाणु फेला परेको देखिएको छ । तीन दिनदेखि स्वास्थ्यकर्मीले बिरामीको उपचारका लागि घरघरमा पुगेर सेवा दिइरहेका छन् ।

स्लाइन पानी चढाउने, औषधि, जीवनजल वितरण, स्वास्थ्य, सरसफाइसम्बन्धी जानकारी गराइएको चिर्तुङधारा स्वास्थ्यचौकीका प्रमुख नोदप्रसाद बस्यालले बताए ।

सामान्य अवस्थाका बाहेक अधिकांशमा पेट दुख्ने, पखाला लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने समस्या कायमै भएकाले बुधबार बिहानदेखि थप स्वास्थ्यकर्मी र थप औषधिसहित टोलबस्तीमा खटिएको उनले बताए ।

अधिकांश बिरामी गाउँमै भएकाले बगनासकाली गाउँपालिका, मिसन अस्पताल, लुम्बिनी प्रादेशिक अस्पतालबाट स्वास्थ्यकर्मी खटिएर उपचार गरेका हुन् ।

बगनासकाली गाउँपालिकाका–१, चिर्तुङधाराको घोरबन्दा क्षेत्रका झण्डै सय बढी घरपरिवारका १ सय ५० बढी तीन दिनयता बिरामी परेका छन् ।

निम्तो मान्न आएका छिमेकी गाउँ र प्यूठानबाट आएका ४५ जना जन्ती पनि बिरामी परेका थिए । स्वास्थ्य कार्यालयले के खाएर फुड पोइजन भयो भन्ने पत्ता नलागेको र पानी जाँचका लागि नमूना संकलन गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here