पालिकामा सरुवा भएका अधिकृत अझै हाजिर भएनन्

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकामा प्रमुख प्रशासकीय अधिकृत सरुवा गरेको एक साता भन्दा बढी समय बिते पनि उनीहरू हाजिर नभएको पाइएको छ। मन्त्रालयले पर्साको पोखरिया नगरपालिका, बहुदरमाई नगरपालिका र कालिकामाई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएको हो।

यसअघि मन्त्रालयले वीरगन्ज महानगरपालिका कार्यालय र छिपहरमाई गाउँपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत अहिलेसम्म हाजिर नभएको पालिका कार्यालयले जनाएको छ।

frontline

मन्त्रालयले करिब दुई महिना अगाडि वीरगन्ज महानगरपालिकामा सहसचिव रेशमलाल कँडेल र छिपहरमाई गाउँपालिकामा अधिकृत सन्जीव कुमार साहको सरुवा गर्दा उनीहरू हाजिर भएका छैनन्।

०८२ फागुन १२ को मन्त्रिपरिषद् निर्णयबाट सहसचिव रेशमलाल कँडेललाई वीरगन्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएको थियो। उनलाई महानगरले हाजिर नगराएको दाबी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको छ।

सरकारले खटाएको कर्मचारीलाई हाजिर नगराएपछि मन्त्रालयले महानगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्दै आएको आर्थिक तथा प्रशासनिक अधिकार रद्द गरिदिएको छ।

वीरगन्जमा दसौं तहका अधिकृत अरविन्दलाल कर्णले आर्थिक तथा प्रशासनिक जिम्मेवारी सम्हाल्दै आएका थिए। यस्तै मन्त्रालयले गत चैत ३० गतेको निर्णयअनुसार २१ जना उपसचिव र ६ जना शाखा अधिकृतको एकैपटक सरुवा गरेकोमा अहिलेसम्म तीन पालिकाका अधिकृत हाजिर नभएको पाइएको छ।

गृह मन्त्रालयमा कार्यरत उपसचिव शेखर पौडेललाई पोखरिया नगरपालिकामा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत उपसचिव रमेश अधिकारीलाई बहुदरमाई नगरपालिकामा सरुवा गरिएको हो।

यस्तै कालिकामाई गाउँपालिकामा केशव कुमार अधिकारीलाई प्रमुख प्रशासकीय अधिकृतमा पठाइएको हो। तर अहिलेसम्म पनि सरुवा भएका कर्मचारीहरू पालिका कार्यालयमा हाजिर नभएका कारण यी पालिकाहरूमा आर्थिक तथा प्रशासनिक कामकारबाही अलपत्र परेको जनप्रतिनिधिहरूले बताएका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गएको सोमबार कडा निर्देशन दिँदै तीन दिनभित्र पालिकामा हाजिर हुन भने पनि उनीहरू हाजिर नभएको अवस्था छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here