पाम तेलको निकासी खुला

विराटनगर । एक वर्षदेखि रोकिएको पाम तेलको निकासी खुला भएको छ ।
भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार शाखाले पाम तेलको आयात खुला गरेसँगै नेपालबाट निकासी खुला भएको हो ।




बुधबार सूचना जारी गर्दै भारतले पाम तेलको आयात खुला गरेको जनाएको छ ।
१३ महिनापछि भारतले खुला गरेको आयात भने ६ महिनाका लागि मात्रै रहनेछ ।
विभागको सूचना अनुसार ३१ डिसेम्बरसम्म मात्रै आयात खुला गरिएको छ ।
एक वर्षभन्दा बढी समयदेखि रोकिएको निकासी खुला हुँदा पाम तेल उत्पादन गर्ने उद्योगहरुलाई राहत मिलेको विराटनगरका उद्योगी विपिन काबराले बताए ।
भारतले आयात खुला गरे पनि नेपालबाट निकासी शुरु गर्न केही दिन लाग्ने उनले बताए ।
विराटनगरका उद्योगी अभिनाश बोहराका अनुसार एक महिनापछि मात्रै पाम तेलको निर्यात सहज हुनेछ ।
भारतले आयात बन्द गरेका कारण उद्योगहरुले कच्चा पदार्थ नल्याएको भन्दै उनले मलेसियाबाट कच्चा पदार्थ आयातपछि मात्रै निर्यात नियमित हुने बताए ।
६ महिनाका लागि खुला भएको निकासीले निर्यातको व्यापारलाई बढाउने बताए ।
उनका अनुसार मोरङमा मात्रै सात वटा पाम तेलका उद्योगहरु छन् भने देशभर २० वटा पाम तेल निर्यात गर्ने उद्योगहरु छन् ।
ती उद्योगले मलेसियाबाट कच्चा पदार्थ आयात गरी पाम तेल बनाएर भारततर्फ निकासी गर्दै आएका थिए ।
भारतले आयात बन्द गरेपछि उद्योगहरुले उत्पादन कटौती गरेका थिए ।
नेपालका उद्योगीले मलेसिया र इन्डोनेसियाबाट पाम तेल उत्पादनका लागि कच्चा पदार्थ आयात गर्छन् ।
प्रतिक्रिया दिनुहोस्