पाकिस्तान विदेशमन्त्री कुरेसी : अफगानिस्तानमा केही दिनमा नयाँ सरकार बन्छ

काठमाडौं । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरेसीले अफगानिस्तानमा केही दिनमा नै नयाँ सरकार बन्ने बताएका छन् । मंगलबार इस्लामाबादमा जर्मनीका समकक्षी हेइको माससँगको भेटवार्तापछि बोल्दै उनले भनेका छन्, ‘हामीलाई आगामी दिनमा अफगानिस्तानमा सरकार गठन हुने विश्वास छ ।’

कुरेसीका अनुसार यसअघि तालिबानले अमेरिकी सेना फिर्ता गएपछि सरकारको घोषणा गर्ने बताएको थियो । उनले अफगानिस्तानबारे पाकिस्तानको नीति स्पष्ट रहेको पनि उल्लेख गरेका छन् ।

frontline

आफूहरुले समावेशी, सार्वभौम र समृद्ध अफगानिस्तान चाहेको उनको भनाइ छ । उनले अफगानिस्तान पनि शान्त रहेको र छिमेकी मुलुकसँग पनि शान्तिपूर्ण व्यवहार चाहेको बताएका छन् ।

कुरेसीले अन्तर्राष्ट्रिय समुदायसँग अफगानिस्तानलाई हरसम्भव सहयोगको लागि आग्रह गरेका छन् । पाकिस्तानमा अहिले ३० लाख अफगानी शरणार्थी रहेको र उनीहरुलाई सबै किसिमको सुविधा दिइएको कुरेसीको भनाइ छ । उनका अनुसार अफगानिस्तानसँगको सीमा खुला राखिएको छ र व्यापार तथा आवागमन भइरहेको छ ।

जर्मनीका विदेशमन्त्री हेइको मासले बदलाको आक्रमण नगर्ने र मानवाधिकारको सम्मान गर्ने तालिबानको घोषणाको सम्मान गर्ने बताएका छन् । यद्यपि अझैसम्म पनि तालिबानले कसरी सरकार चलाउँछ र उसको शासनकालमा महिलाको अवस्था कस्तो हुनेछ भन्ने स्पष्ट भइसकेको छैन ।

एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here