‘पाँच वर्षपछि गाउँमा बाँदर, नील गाई र बँदेलले मतदान गर्ने स्थिति नआओस्’

 समाचार सारांश

  • खोटाङका नगरप्रमुख तीर्थराज भट्टराईले स्थानीय कच्चा पदार्थको उपयोग बढाउन माग गर्दै संघीय सरकारको ध्यानाकर्षण गराए।
  • उनले स्थानीय स्रोत र सामग्री प्रयोग गर्न नसक्दा आयातित सामग्रीको न्यूनीकरण हुन नसकेको र रोजगारी सिर्जनामा समस्या भएको बताए।
  • भट्टराईले बाँदरको समस्या, प्लास्टिकजन्य वस्तुको व्यवस्थापन र भुइँमान्छेको आवाज सुनुवाइ नभएको भन्दै गुनासो गरे।

काठमाडौँ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटाङका नगरप्रमुख तीर्थराज भट्टराईले स्थानीय कच्चा पदार्थको उपयोग बढाउँदै आयातित सामग्रीका न्यूनीकरण गर्न माग गरेका छन् ।

frontline

आइतबारदेखि माइतीघर मण्डलामा सत्याग्रह सुरु गरेका भट्टराईले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा स्थानीय कच्चा पदार्थ प्रयोग गर्न सङ्घीय ऐन वाधक भएकाले पटक–पटक लिखित तथा मौखिक अनुरोधलाई सङ्घीय सरकारले बेवास्ता गरेपछि आफू सात बुँदे मागसहित सत्याग्रह बसेको बताए । 

स्थानीय श्रोत र सामग्री प्रयोग गर्नका लागि स्थानीय सरकार र प्रदेश सरकारले कानुन बनाउन नसक्ने स्थिति रहेको बताए । गाउँ घरमा खेर गएका कच्चा पदार्थ प्रयोग गर्ने हो भने आयातित सामग्रीलाई न्यूनीकरण गर्न सकिने उनको भनाइ छ । 

यसले स्थानीयलाई रोजगारी दिन सकिने र वातावरण, पर्यावरणमैत्री नगरपालिका, गाउँपालिका, वडा कार्यालयहरू बनाउन सकिने बताए । नगरपालिकाले बाँसको प्रवर्द्धनमा जोड दिइरहेको पनि उनको भनाई छ । 

उनले भने, ‘कच्चा पदार्थ प्रयोग गर्ने वातावरण सरकारले बनाइदिओस् । बाँदरको अत्यन्तै धेरै समस्या छ । बाँदरको समस्याले नागरिकहरू बसाइँ सरिरहेका छन् । अबको पाँच वर्षपछि कुनै पनि पार्टीबाट उम्मेदवार हुँदा पनि बाँदरले मतदान, बँदेलले, नील गाईले मतदान गर्नुपर्ने अवस्था भइरहेको छ । यसलाई सरकारले सुन्ने कि नसुन्ने ? प्लास्टिकजन्य वस्तुको व्यवस्थापन उत्पादन गर्नेले नै गर्नुपर्छ । यदि हुँदैन भने प्रत्येक स्थानीय तहमा १० प्रतिशत रकम अतिरिक्त उपलब्ध गराउनुपर्छ ।’

उनले भुइँमान्छेको आवाज सरकारले नसुनेपछि सङ्घ सरकारको आँगनमा आन्दोलन गरिएको बताए ।

#तीर्थराज भट्टराई #सत्याग्रह

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here