पहिरोले सडक भासिएको र पहिरो जाने क्रम नरोकिएपछि वैकल्पिक सडक व्यवस्थापन गर्न पहल

फाइल तस्बिर

११ साउन, बेंसीसहर । डुम्रे-बेसीसहर सडकअन्तर्गत बेसीसहर नगरपालिका-१, उदिपुरमा पहिरोले सडक भासिएको र पहिरो जाने क्रम नरोकिएपछि वैकल्पिक सडक व्यवस्थापन गर्न पहल थालिएको छ। 

दीर्घकालीन सडक व्यवस्थापनका लागि जिल्लास्थित विपद् व्यवस्थापन समितिले वैकल्पिक सडक व्यवस्थापनका विषयमा सरोकारवालासँग छलफल अघि बढाएको हो।

frontline

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यको अध्यक्षतामा बसेको बैठकले वैकल्पिक सडकको रूपमा उदिपुर-रिठ्ठेवगर, मध्यमर्स्याङ्दी बाँध हुँदै बेसीसहर आउने सडकलाई प्रयोगमा ल्याउनका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय गरेको छ।

सो सडक प्रयोग गर्दा मध्यमर्स्याङ्दी जलाशयको बाँध प्रयोगमा ल्याउनु पर्नेहुन्छ। बाँध क्षेत्र हुँदै यातायात सुरु गर्नका लागि सम्बन्धित निकायबाट अनुमति लिनुपर्ने प्रजिअ वैद्यले बताए।

बाँधमा यातायात सञ्चालनका लागि ऊर्जा तथा जलस्रोत मन्त्रालय, नेपाल विद्युत प्राधिकरण, सडक विभागलगायतका निकायसँग अनुमति माग्ने निर्णय भएको प्रजिअ वैद्यले जानकारी दिए।

पानी पर्नासाथ पहिरो चल्ने, हिलो जम्ने हुँदा यातायात अवरुद्ध हुने गरेको भन्दै सर्वसाधारणहरूले प्रशासनको ध्यानाकर्षण गराउँदै आएका थिए।

सम्बन्धित निकायबाट अनुमति प्राप्त भएमा सो सडक खण्डको बाँकी भाग मर्मत तथा स्तरोन्नति गरी केही वर्षका लागि यातायात सुरु गर्न सकिने प्रशासनले जनाएको छ।

उदिपुरदेखि चितीतर्फ जाने सडकखण्डमा रहेको रिठ्ठेबगर मर्स्याङ्दी नदी मोटरेबल पुलबाट व्यारेक पारि हुँदै मध्यमर्स्याङ्दीको बाँधबाट पुनः मुल सडकमा जोडिने गरी वैकल्पिक सडक व्यवस्थापन गर्न पनि प्रशासनले सम्बन्धित निकायमा पहल गरेको छ। पहिरोले सडक भत्किएपछि लमजुङ सदरमुकाम बेसीसहरसहित हिमाली जिल्ला मनाङसम्मको यातायात प्रभावित हुँदै आएको छ।

उदिपुरमा गत वर्ष नै पहिरोले सडक बगाएको हो। सडक भत्किएको वर्षदिन बित्दा पनि मर्मतको पहलसम्म नभएको भन्दै नागरिकहरू आक्रोशित भएका छन्।

सडकको दीर्घकालीन टिकाउ हुनेगरी समयमै मर्मत तथा स्तरोन्नति गरेको भए अहिले समस्या नहुने सर्वसाधारणको बुझाइ छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here