पहिरोले बझाङ साइपाल गाउँपालिकामा ठूलो क्षति, तीन घर भत्किए, ५० बढी घर जोखिममा
५ साउन, बझाङ । मंगलबार रातिदेखिको अविरल वर्षापछि विभिन्न ठाउँमा खसेको पहिरोले बझाङको विकट साइपाल गाउँपालिकामा ठूलो क्षति भएको छ ।
दर्जनौं ठाउँमा पहिरो खसेर बाटाघाटा बन्द हुँदा एक गाउँ र अर्को गाउँबीच सम्पर्क विच्छेद भएको छ । पहिरोले तीन घर भत्किएका छन् भने ५० भन्दा बढी घर जोखिममा परेका छन् ।
पहिरोमा परेर वडा २, धलौनको खोडीमा दलजित बोहराको घर भत्किँदा ६ वटा गाईगोरु च्यापिएर मरेका छन् । यस्तै वडा २ कै जिमा गाउँमा प्यारु कामीको घर भत्किँदा ५ चौपाया मरेका छन् ।
पहिरोले वडा ४ जगेराका असभान रोकायाको घर बगाउँदा धनमालको क्षति भएको छ । वडा २ को काँकरकोटमा पहिरोले तलकोट गाउँपालिकाका धनकृष्ण जोशीका तीन वटा खच्चर मरेका छन् । दुई खच्चर घाइते छन् । सोही पहिरोले काँकरकोटमा हालसालै निर्मित पाहुना घरसमेत पुरेको साइपाल गाउँपालिकाले जानकारी दिएको छ ।
वडा ३ मा रहेको बाँझचौका गाउँकोमाथिबाट पहिरो आएपछि त्यहाँ रहेका २२ घर जोखिममा परेका छन् । यही वडाको दलित टोलमा तीन र माझलासी गाउँमा दुई वटा घरको मुन्तिरबाट पहिरो खसेपछि भत्किने अवस्थामा पुगेका छन् ।
यस्तै जिमा, धलौन र काँकरकोटका १५ बढी घर पहिरोको जोखिममा परेको गाउँपालिका अध्यक्ष मानबहादुर बोहराले बताए । ‘पहिरो आँगनसम्म पुगिसकेको छ ।
अहिले जोखिम भएका घर भत्किए भने अरू घरलाई पनि क्षति हुनेवाला छ,’ काँडा माध्यमिक विद्यालयका शिक्षक बमबहादुर बोहराले भने, ‘गाउँका कोही पनि मान्छे हिजोदेखि सुतेका छैनन् ।’ उनले पानी निरन्तर परिरहेकाले कुन बेला के हुन्छ भन्न नसकिने अवस्था रहेको बताए ।
दर्जनौं ठाउँमा पहिरो खसेपछि यहाँका बाटाघाटा पनि बन्द भएका छन् । पहिरोले काँडाबाट उत्तरी भेगमा रहेका काया, धुली, न्युना र बलौडीगाउँसँग सम्पर्क विच्छेद भएको छ ।
यस्तै दक्षिणतिरका धलौन र काँकरकोट गाउँ जोड्ने बाटो पनि पहिरोले बगाएपछि आवतजावतमा समस्या भएको स्थानीयले बताएका छन् । ‘कति ठाउँमा पहिरो गएको छ भनेर भन्न सकिने अवस्था छैन ।
पहिरो नगएको कुनै पनि गाउँ छैन,’ साइपाल–३ बाँझचौकाका गोरख बोहराले भने, ‘सबै बाटाघाटा पहिरोले क्षति गरेको छ । हिँड्नलाई समेत बाटो छैन ।’ उनले बाटो पहिरोले बगाएपछि चराउन छाडिएका दर्जनौं पशुचौपाया बीचमा अड्किरहेको बताए ।
अविरल वर्षाले यहाँका तीनवटा लघु जलविद्युत् आयोजनामा क्षति गर्दा धलौन, काँकरकोट, जिमा, काँडा र कायाका तीन सय घरको विद्युत आपूर्ति ठप्प भएको छ ।
वर्षापछि आएको बाढीपहिरोले १८ किलोवाट क्षमताको गडघट्ट लघुजलविद्युत् आयोजनाको मुहान, १२ किलोवाट क्षमताको कायाखोला र ५ किलोवाटको जिमा लघु जलविद्युत् आयोजनाको नहर बगाएको हो ।
कायाखोलामा आएको बाढीले २ वटा घट्टसमेत बगाएको पालिकाले जनाएको छ । यस्तै वडा नं ३ को लासीगाउँको खानेपानी पनि पहिरोले बगाएपछि खानेपानीको अभाव भएको स्थानीय ज्ञानबहादुर बोहराले बताए ।
‘टेलिफोन सम्पर्क पनि विच्छेद भएकाले क्षतिको सबै विवरण आइसकेको छैन । पानी पर्न बन्द नभएकाले अझै क्षति हुने सम्भावना छ,’ गाउँपालिका अध्यक्ष बोहराले भने, ‘अहिले हामी जोखिममा परेकाहरूलाई सुरक्षित ठाउँमा राख्ने काममा लागेका छौं ।
पानी बन्द भएपछि क्षतिको सबै विवरण आउला ।’ उनले साइपालमा यसअघि यति ठूलो विपद् कहिले नभएको बताए । उनले तत्काल विपद् व्यवस्थापन समितिको बैठक बसेर उद्धार, राहत र पुनःस्थापनाको काम गर्ने तयारीमा पालिका रहेको बताए ।






प्रतिक्रिया दिनुहोस्