पहिराको कारण हेलम्बु-५ उर्लेनीमा २१ घर उच्च जोखिममा
१४ भदौ,सिन्धुपाल्चोक । गत साउन २७ गते गएको पहिराको कारण हेलम्बु गाउँपालिका-५ उर्लेनीमा २१ घर उच्च जोखिममा छन् ।
तत्कालीन अवस्थामा ११ घरमात्रै जोखिममा रहे तापनि पहिराले आकार बढाएपछि थप १० घरसहित अहिले २१ घर उच्च जोखिममा रहेको उर्लेनीका पहिरो प्रभावित कान्छामान तामाङले जानकारी दिनुभयो ।
अहिले गाउँपालिकाले उपलब्ध गराएको टेण्टमा बसेका प्रभावितले कष्टपूर्ण दैनिकी बिताइरहनुपरेको छ । पहिरो गएलगत्तै वडा कार्यालय र गाउँपालिकाले त्रिपाल, टेण्टलगायतका सामग्री उपलब्ध गराएको थियो । तत्कालै अन्यत्र सरेर बसेका प्रभावित स्थायीरूपमै स्थानान्तरण हुन चाहन्छन् ।
उर्लेनीको बिसौनीबाट साप्रेसम्म करिब पाँच सय मिटर लामो पहिरो खस्दा त्यहाँका नागरिकको जनजीवन कष्टकर बनेको हो । तत्कालै २१ घर मात्र उच्च जोखिममा रहे पनि सिङ्गो गाउँ नै पहिराको जोखिममा रहेको तामाङले बताउनुभयो । पहिराले बस्तीमात्र होइन, तालामाराङ खोला आसपासका सयौँ रोपनी खेतीयोग्य जमिनसमेत जोखिममा छन् ।
हेलम्बु गाउँपालिका-५ मा पहिरो गएपछि दैनिक खोला बाढी आउने र मेलम्ची नगरपालिका–६ का नदीतटीय क्षेत्रका खेत धमाधम कटान भइरहेको स्थानीय सानोकान्छा तामाङले जानकारी दिए ।
यसका कारण केही बस्ती र खेतीयोग्य जमिन थप उच्च जोखिममा रहेको स्थानीयले बताएका छन् । पहिरो प्रभावितसँग निरन्तर सम्पर्कमा रहेको बताउँदै वडाध्यक्ष दीपकुमार तामाङले प्रभावितको माग र आवश्यकताका आधारमा गाउँपालिका र अन्य निकायसँग स्थानान्तरणसँगै स्थायी आवास निमार्णका लागि पहल गर्ने बताए ।
उनले गाउँपालिकाको स्रोतले मात्रै नभ्याउने भन्दै प्रदेश र केन्द्र सरकारसँग पटक–पटक आग्रह गर्दा कुनै चासो नदिएकोप्रति गुनासो गरे । गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पहिराको उच्च जोखिममा रहेका स्थानको पहिचान गरी आगामी दिनमा स्थानान्तरणका लागि विज्ञसहितको टोलीलाई अध्ययन गर्न लगाउने बताए ।
आगामी दिनमा गाउँपालिकाबाट गर्नुपर्ने र गर्नसक्ने काम गर्न गाउँपालिका तयार रहेको अध्यक्ष शेर्पाले बताए । पहिराको जोखिम कायममै रहेकाले आवश्यक सतर्कता अपनाउन गाउँपालिकाले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्