पशुपति आर्यघाटमा ५ सयमा हड्डी किनबेच

खरिदकर्ताले भनेका थिए, ‘भगवानलाई चढाउन हड्डी चाहियो’

समाचार सारांश

ढकालले एक अपरिचित व्यक्तिलाई भगवानलाई चढाउन भन्दै हड्डी बेचेको बताए, जसलाई मैनालीले सहयोग गरेका थिए।

frontline

पशुपति आर्यघाटमा शव जलाउँदै गर्दा हड्डी चोरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ परेका व्यक्तिहरूले राम शाहीको शवबाट हड्डी निकालेर ५०० रुपैयाँमा बेचेको स्वीकार गरेका छन्।

काठमाडौँ । पशुपति आर्यघाटमा जलाउँदै गरेको शवबाट हड्डी चोरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । शव जलाउने जिम्मा लिएका काभ्रे घर भएका गणेश ढकाल र उनलाई सहयोग गर्दै आएका उदयपुरका विनायक मैनालीले  शुक्रवार साँझ शवको हड्डी निकालेर बेचेको आरोप छ ।

काभ्रेको बनेपा नगरपालिका–९ का राम शाहीको शव जलाउने क्रममा उनीहरूले हड्डी निकालेका हुन् । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरूले ५ सयमा अर्का एक जनालाई सो हड्डी बेचेको थाहा भएको छ ।

ढकाल २५ वर्ष देखी पशुपतिमा शव जलाउने काम गर्दै आएका थिए । एउटा शव जलाएबापत उनले पशुपति विकाश कोषसँग १५ सय रुपैयाँ लिन्छन् । शुक्रवार दिउँसो एक जना अपरिचित आएर आफूलाई ‘भगवानलाई चढाउन हड्डी चाहियो’ भनेर आग्रह गरेको ढकालले प्रहरीसँग बताएका छन् । अनुसन्धान अधिकृतहरूसँग उनले भनेका छन्, ‘हड्डी निकालिदिन आग्रह गर्दै ती अपरिचितले मलाई ४ सय रुपैयाँ दिएका थिए ।’

कोट पाइन्ट लगाएका ती अपरिचित घण्टौँ कुरेर बसेपछि आफूले हड्डी निकालेर आफ्नो सहयोगी विनायक मैनालीलाई बट्टामा राखेर दिएको उनले बताएका छन् । अनुसन्धान अधिकृतहरूसँग ढकालले भनेका छन्, ‘पहिलो पटक हड्डी निकालेको हुँ, यसअघि यस्तो काम मैले गरेको छैन ।’

उनले दिएको बट्टा मैनालीले ती अपरिचितलाई दिए । हड्डीको बट्टा दिएपछि अपरिचितले मैनालीलाई थप १ सय रुपैयाँ दिएको उनीहरूले प्रहरीलाई बताएका छन् ।

बट्टामा हड्डी हालेर लगेको देखेपछि मृतकका आफन्तले प्रहरीलाई खबर गरेका थिए । विनायक मैनाली आर्यघाटमा ढकाललाई सहयोग गर्दै फालिएका सामान र कपडा टिप्ने काम गर्छन् ।

शवको सानो आकारको हड्डी ५ सय रुपैयाँमा किनबेच भएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । घटनाबारे प्रहरी वृत्त गोशालाले अनुसन्धान गरिरहेको छ ।

#पशुपति आर्यघाट #पशुपति #अपराध

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here