पर्सामा एनआइसी एसिया बैंकको शाखा कार्यालयमा चोरी

वीरगन्ज । पर्साको ग्रामीण भेगमा एनआइसी एसिया बैंकको शाखा कार्यालयमा चोरीभएको छ। धोबीनी गाउँपालिका ४ लंगडी बजारमा रहेको बैंकको शाखा कार्यालयमा बिहीबार राति मुल गेटको सटर फोडेर भित्र पसी चोरी गरेका हुन्।
 
बैंकबाट एक थान ल्यापटप र कम्प्युटरका केही सामान मात्र चोरी भएको बैंकका शाखा प्रबन्धक सचितानन्द चौहानले जानकारी दिए। बिहान बैंकमा पुगेका उनले भने, ‘चोरहरुले पैसा राख्ने लकर फुटाउने कोसिस पनि गरेको रहेछन् तर नसकेपछि लकर त्यसै छाडेर भागेको हुन सक्छ।’
 
बैंकमा जडान गरिएको सिसिटिभी क्यामेरा पनि तोडफोड गरिएको अवस्थामा भेटिएको चौहानले बताए। बैंकमा दिनमा मात्र सुरक्षा गार्ड राख्ने गरिएको तर रातिको समयमा भने सुरक्षागार्ड नराखिएकाले बैंककै लापरवाहीले चोरीको घटना हुन पुगेको स्थानीय लालबाबु बानियाँले बताए। 

चोरीको घटना बारे जानकारी पाएपछि शुक्रबार बिहान सदरमुकाम वीरगन्जबाट पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे आफैँ चोरी भएको बैंकमा पुगेर जानकारी लिएका छन्। प्रहरी उपरीक्षक पाण्डेका अनुसार सिसिटिभी क्यामेरामा रेकर्ड भएको भिडियोमा  १ बजेर ५० मिनेटको समयमा रेनकोट लगाएर आएका दुई जनाले अक्सिजन सिलण्डर सहितको बेल्डिङ मेसिनले सटर काटेर भित्र पसेको देखिन्छ।

frontline

बैंक भित्र पसेपछि सुरुमै उनीहरुले सिसिटिभी क्यामेराका तार चुडाएको देखिएको पाण्डेले  बताए। चोरहरुले लकर फुटाउने प्रयास गरेको तर त्यही बेलामा बाहिर सडकमा प्रहरीको गस्ती पुगेपछि भागेको हुन सक्ने पाण्डेले बताए।
 
चोरहरु भारतबाट आएको हुन सक्ने आशंकामा  सीमावर्ती भारतीय सुरक्षकर्मीसँग पनि समन्वय गरेर अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक पाण्डेले बताए।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here