परराष्ट्रमन्त्री उपमहासचिव खरेसँग भेटवार्ता
काठमाडौँ, १२ असोज (रासस) ः संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भागलिने सिलसिलामा न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री डा नारायण खड्काले आज राष्ट्रसङ्घीय शान्तिसैन्य परिचालनमा सहयोगीको भूमिका निर्वाह गर्ने जिम्मेवारी पाउनुभएका उपमहासचिव अतुल खरेसँग भेटवार्ता गर्नुभयो ।
त्यस अवसरमा उहाँहरूबीच भएको वार्ता विश्वका द्वन्द्वग्रस्त क्षेत्रमा परिचालन हुने शान्ति सेना, विश्व शान्ति स्थापनामा शान्ति सेनामा रहेर नेपाली सेनाले गरेको योगदानका साथै नेपाल र राष्ट्रसङ्घबीच सुरक्षाको क्षेत्रमा सहयोगलाई सुदृढ पार्नेमा केन्द्रित रहेको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्का लागि नेपालको स्थायी नियोगले जनाएको छ ।
आजै मन्त्री खड्काले बहराइनका आफ्ना समकक्षी अब्दुल लतीफ बिन राशिद अल ज्यानीसँग भेट गर्नुभयो । भेटमा उहाँहरूले मानव संसाधन, व्यापार, लगानी र पर्यटनको क्षेत्रमा द्विपक्षीय सहयोगबारे छलफल गर्नुभएको थियो । –––
प्रतिक्रिया दिनुहोस्