पगडी फिल्मका नायक रन्धिर कुमार सहनीका डबिङ्ग सुरु

मेवालाल यादव
भोजपुरी भाषामा निर्माण भइरहेको सामाजिक फिल्म ‘पगडी’ को डबिङ कार्य सुरु भइसकेको छ। फिल्मका नायक रन्धिर कुमार सहनी को समेत डबिङ्ग कार्य तीव्र गतिमा अगाडि बढिरहेको निर्माता पक्षले जनाएको छ। झन्डै १५ दिनअघि छायांकन कार्य सम्पन्न भएसँगै डबिङ कार्य सुरु गरिएको हो।
फिल्मका निर्माता कृष्ण मनि झा ले ‘पगडी’ फिल्मले भोजपुरी समाजमा रहेका पुराना, हानिकारक तथा अपराधजन्य कुरीति–कुसंस्कारहरूमाथि चोट पुर्याउने उद्देश्य राखेको बताए। विशेषगरी छुवाछूत, बालबिवाह, दहेज प्रथा, भ्रूण हत्या, मिटरब्याज जस्ता सामाजिक समस्याहरूमाथि गम्भीर सन्देश दिन खोजिएको छ।
‘पगडी’ फिल्मको सम्पूर्ण छायांकन कार्य रौतहट जिल्ला भित्र सम्पन्न गरिएको हो। फिल्म सुधीर इन्टरटेन्मेन्ट प्रा.लि. र के. एम. फिल्म को संयुक्त ब्यानरमा निर्माण भइरहेको छ। फिल्मको निर्देशन गोविन्द ठाकुर ले गरेका हुन्।
यस चलचित्रमा नायकको भूमिकामा रन्धिर कुमार सहनी देखिनेछन् भने, मुख्य अभिनेत्रीको भूमिकामा निभा यादव ले अभिनय गरेकी छन्। यस्तै गरी इमामुन राज, पवन साह, रामबाबु साह, अपर्णा झा लगायतका कलाकारहरूको अभिनय रहेको छ।
छायांकन निर्देशक मेवालाल कुमार यादव का अनुसार यो चलचित्र समाजिक सन्देश दिने खालको भएकोले परिवारका सबै सदस्यसँगै बसेर हेर्न मिल्ने खालको निर्माण गरिएको छ। निर्देशक ठाकुरले स्थानिय कलाकारहरूलाई प्राथमिकता दिँदै अभिनय गराइएको जानकारी दिएका छन्।
फिल्मको डबिङ प्रक्रिया सम्पन्न भएपछि छिट्टै प्रदर्शन मिति सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ। पगडी फिल्म दर्शकबीच भोजपुरी सिनेमाको नयाँ पहिचान स्थापित गर्ने विश्वास गरिएको छ।




प्रतिक्रिया दिनुहोस्