नौबिसे नागढुंगा जामको विकल्पमा रहेको सितापाइला धार्के सडक नाम मात्र
काठमाण्डौं प्रबेशको प्रमुख नाका समेत रहेको राजमार्गको विकल्पमा हेरिएको धार्के–सितापाईला सडकलाई नेपाल सरकारले प्राथमिकता नराख्दा नागरिकले दुःख पाए
काठमाडौं । नौबिसे–नागढुंगा जामको विकल्पमा रहेको सितापाइला–धार्के सडक खण्डलाई सरकारले प्राथमिकतामा नराख्दा त्रिभुवन राजपथको नौविसे–नागढुँगामा हुने गरेको सामान्य जाममा समेत यात्रुले घण्टौँ समय विताउनु परेको छ ।
सुरुङमार्ग निर्माण भैरहेको सिस्नेखोला नजिकैको खत्रीपौवामा गएको भदौ २ गते पहिरो गएर राजमार्ग अबरुद्ध हुँदा सवारी जाम पृथ्वी राजमार्गको जुँगेखोला आसपास सम्म पुगेको थियो ।
विभिन्न जिल्लाबाट विरामी लिएर आएका एम्बुलेन्स समेत विच बाटोमा अड्किनु परेको थियो । भदौ २ गते विहान ५ः४५ बजेको समयमा पहिरो गएर अबरुद्ध भएको राजमार्ग दुबै तर्फ सञ्चालन आउन करिब १३ घण्टा लागेको थियो ।
यस्तै गरी आज (आइतबार) त्रिभुवन राजपथको नौविसे–नागढुँगा सडक खण्डको चिसापानी नजिकै विहान ८ः३० बजे पहिरो गएर राजमार्ग अबरुद्ध हुँदा सवारी साधन र यात्रुले घण्टौँ सम्म जाममा बस्नु परेको छ ।
पहिरो पन्छाएर सडक खुलाउन करिब ५ घण्टा लागेको नागढुँगा प्रहरी कार्यालयका प्रमुख त्रिभुवन थापाले जानकारी दिनु भएको छ ।
नेपालका ६५ भन्दा बढि जिल्लाका नागरिक ओहोर–दोहोर गर्ने काठमाण्डौं प्रबेशको प्रमुख नाका समेत रहेको राजमार्गको विकल्पमा हेरिएको धार्के–सितापाईला सडकलाई नेपाल सरकारले प्राथमिकता नराख्दा नागरिकले दुःख पाएका छन् ।
धार्के–सितापाईला सडक खण्डका लागि विभिन्न समयमा बजेट विनियोजन हुँदा समेत उचित कार्यन्वयन भने हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्