नो केबलकार समूहद्वारा ‘फुङ्लिङ काण्ड’को विरोधमा आन्दोलन घोषणा

काठमाडौँ । नो केबलकार समूहले केपी ओली नेतृत्वको सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ । बिहीबार आन्दोलनकारीको तर्फबाट जारी गरिएको संयुक्त वक्तव्यमा फुङलिङ काण्डको विरोध तथा पाथीभरामा केबलकार बन्न नदिन आन्दोलनको घोषणा गरिएको उल्लेख छ ।
विज्ञप्तिमा फागुन १७ देखि २१ गतेसम्म चरणबद्ध आन्दोलन गर्ने उल्लेख छ । यसैगरी विज्ञप्तिमा ऐतिहासिक मुक्कुमलुङ (पाथीभरा) पवित्र मुन्धुमी स्थल, आस्था केन्द्र र शक्ति पीठ भएको उल्लेख छ । सोही कारण त्यहाँ केबलकारलगायत कङ्क्रिटका भौतिक संरचना नबनाउन सरकार र सम्बद्ध सबै पक्षसँग माग राखी शान्तिपूर्ण आन्दोलन गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।




‘तर सम्पदा प्रेमी रैथाने आदिवासी लगायत स्थानीय तथा अन्य सरोकारवाला समुदायको शान्तिपूर्ण आन्दोलनलाई ओली सरकारले अमानवीय र पाशविक ढङ्गले बर्बर दमन गर्दै आएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘ २०८१ माघ १२ गते साँझ मुइङ थेगु (बलुडाँडा) मा सशस्त्रले लगभग दुई सय राउन्ड गोली प्रहार गरी ३ जनालाई सख्त घाइते बनायो भने २०८१ फागुन १० गते बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म फुङलिङ बजारमा ओली सरकारले श्वेत आतङ्क मच्चायो । ९ जना घाइते (हस्पिटल भर्ना भएका मात्र) र १८ जनालाई पक्राउ गरिएको छ ।’
आन्दोलनले उचाइ लिँदै गएपछि आत्तिएको ओली सरकारले आतङ्क मच्चाएका भन्दै आन्दोलनकारी समूहले यसलाई ‘फुङलिङ काण्ड’ दिँदै आन्दोलनको घोषणा गरेको हो ।
। जसअनुसार घटनाको भण्डाफोर गर्ने, सरकार र आम जनसमुदायको ध्यानाकर्षण गराउने, काठमाडौँमा बृहत् जनप्रदर्शन र विरोधसभा आयोजना गर्ने, घटनामा संलग्नमाथि कारबाही गर्न उजुरी दिने लगायतका कार्यक्रम तय गरिएको छ ।
आन्दोलनकारीले मुक्कुमलुङ संरक्षकहरूलाई अपराधीकरण नगर्न, पक्राउ परेकालाई रिहा गर्न, घाइतेको निःशुल्क उपचार गर्न, पाथीभरामा केबलकार नबनाउनलगायतका माग राखेका छन् ।


प्रतिक्रिया दिनुहोस्