नेप्सेमा पुनः दोहोरो अङ्कको गिरावट
१७ माघ, काठमाडौं । सेयर बजारको उत्साह एक दिन पनि टिक्न सकेन । लामो समयसम्म निरन्तर ओरालो लागेको नेप्सेले गत आइतबार आफ्नो ओरालो यात्रा ब्रेक गर्दै १०५ अङ्कको छलाङ मारेको थियो ।
तर, नेप्सेको यो उत्साह एक दिन पनि टिक्न सकेन । मुलुकमा चुनावी माहौल बनेसँगै उकालो लागेको भनिएको नेप्सेमा पुनः दोहोरो अङ्कको गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १३.४८ अङ्कले घट्दै २८ सय ७२.५ विन्दुमा झरेको छ । गत आइतबार यस्तो सूचक अधिकतम १०५ अङ्कले बढ्दै २८ सय ८५ विन्दु चुमेको थियो ।
तथापि, यस दिन यता ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स भने स्थिरजस्तै रहेको छ । नेप्सेका अनुसार यस दिन ०.३९ अङ्कले बढेको सेन्सेटिभ ८३८.९३ विन्दुमा अडिएको छ ।
यस दिन माइक्रोफाइनान्स र लगानी उपसमूह बाहेकका सबैजसो उपसूचक ऋणात्मक भएका छन् । नेप्सेका अनुसार १३ अङ्कमाथिले घटेको बजारमा आज कारोबार रकम समेत घटेको छ ।
आज एक करोड कित्ता भन्दा माथिको सेयर बजारमा ६९ हजार भन्दा बढी पटक किनबेच हुँदा जम्मा ५ अर्ब १५ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ ।
जबकि गत आइतबार १०५ अङ्कले बढेको बजारमा ६ अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्