नेपाल-भारत सीमाका सबै कुखुरा फार्मको अनुगमन गरिने

२९ फागुन, पर्सा । वीरगन्ज महानगरको एक कुखुरा फार्ममा बर्डफ्लू भेटिएपछि जिल्लास्थित नेपाल-भारत सीमामा रहेका सबै कुखुरा फार्मको अनुगमन गरिने भएको छ । 

वीरगन्ज महानगरपालिका –१५ भेडियाहीस्थित सागिर अन्सारीको फार्मका कुखुरा र कुखुराजन्य वस्तुहरु शुक्रबार नष्ट गरिसकेपछि आइतबार सरोकारवालाहरुको संयुक्त टोलीले सीमामा रहेका सम्पूर्ण कुखुरा फर्महरूको अनुमगन गर्न लागेको हो ।

frontline

अन्य फार्मका कुखुरामा पनि बर्डफ्लू रोग फैलिएको हुनसक्ने आशंका रहेकाले विज्ञसहितको टोलीले सबै फार्मको अनुगमन गर्ने बताइएको छ ।

वीरगन्ज महानगर तथा जिल्लाका ग्रामीण भेगमा ठूलो संख्यामा सीमावर्ती क्षेत्रमै कुखुरा फार्म रहेका छन् । भारतमा पटक पटक बर्डफ्लू संक्रमण देखिँदै आएकाले भारतबाट नेपालमा कुखुरा तथा कुखुराजन्य वस्तु आयातमा प्रतिबन्ध छ ।

तर सीमामा रहेका कुखुरा फार्महरुले भारतबाट कुखुराका चल्ला, बयस्क कुखुरा तथा दाना आदि लुकाइछिपाइ ल्याउने गरेको गुनासो जनस्तरबाट रहँदै आएको छ ।

अन्सारीको फार्ममा रहेका कुखुरा अचानक धेरै संख्यामा मर्न थालेको जानकारी पाएपछि कुखुराको नमूना परीक्षणका लागि केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशालामा पठाइएको थियो ।

प्रयोगशालाले बर्डफ्लू पुष्टि गरेपछि बिहीबार बसेको बर्डफ्लू नियन्त्रण जिल्ला समितिले कुखुरा नष्ट गर्ने निर्णय गरेको थियो ।

जिल्ला पशु क्वारेन्टाइन कार्यालय पर्साबाट डा हरेराम यादवको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, भेटेरेनरी अस्पताल तथा पशु विज्ञ कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले अन्सारीको फार्ममा रहेका १ हजार ९ सय मरेका कुखुरा, ३० वटा जिउँदो कुखुरा, २ हजार वटा अण्डा, ३ सय किलो दाना, ३ हजार थान अण्डाको खाली क्रेट नष्ट गरेको थियो ।

उक्त कुखुरा फार्मलाई तत्काललाई सील गरी फार्म वरपर निसंक्रमण पनि गरिएको थियो । आइतबार भने टोलीले विज्ञसहितको टोलीले अन्य फार्म अनुगमन गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here