नेपाल अमेरिकासँग पराजित

काठमाडौँ, २ असोज (रासस) । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाल अमेरिकासँग छ विकेटले पराजित भएको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा गए राति सम्पन्न खेलमा नेपालले जितका लागि दिएको १७५ रनको लक्ष्य अमेरिकाले २९ दशमलव तीन ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । नेपाल अमेरिकासँग एकदिवसीयमा पहिलो पटक पराजित भएको हो ।

frontline

अमेरिकाको जितमा स्टेभेन टेलरले ९२ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ६३ बलमा १२ चौका र तीन छक्का प्रहार गरे । यस्तै मोनान्क पटेलले अविजित ३८ रन जोड्दा जस्करण मल्होत्राले अविजित ३६ रन बनाए ।

सुसान्त मोदानीले दुई रन जोडे । नेपालका सन्दीप लामिछाने र करण केसीले २÷२ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभरमा सबै विकेट गुमाउँदै १७४ रनको योगफल बनाएको थियो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ रनको अर्धशतकीय इनिङ्स खेले । उनले १०५ बलमा तीन चौका प्रहार गरे । ओपनर कुशल भुर्तेलले ३६ रन जोड्दा डेब्यु खेलाडी गुलशन झाले २८ रन बनाए ।

त्यस्तै करण केसीले १२, विनोद भण्डारीले १० तथा रोहित पौडेल र सोमपाल कामी २÷२ रनमा आउट भए । ओपनर आसिफ शेख पनि तीन रनमा आउट भए । सन्दीप लामिछाने ११ रनमा आउट हुँदा सुशन भारीले अविजित दुई रन जोडे ।

अमेरिकाका कप्तान सौरभ नेत्राभाल्करले चार विकेट लिए भने केली फिलिपले तीन विकेट लिए । त्यस्तै करिमा गोर, एल्मोर हुचिन्सन, नास्टुश केनिजेगेले एक÷एक विकेट लिए ।

यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा नेपाल ओमानसँग पाँच विकेटले पराजित हुन पुगेको थियो । नेपालले अन्तिम खेल ओमानसँग आइतबार खेल्नेछ । –––

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here