नेपाली महिलालाई गैरकानुनी तरिकाले कुवेत पुर्याउनेलाई कारबाही गर्न सांसद खनालको माग

गैरकानुनी तरिकाले नेपाली महिलालाई कुवेत पुर्याउने कार्यमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले माग गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद खनालले यस्तो माग गरेका हुन् ।
सरकारले झन्डै १० वर्षअघि कुवेतमा महिलालाई घरेलु कामदारको रूपमा पठाउन प्रतिबन्ध लगाए पनि त्यहाँ अहिले काम गर्ने नेपाली महिलाको संख्या दुई गुणा बढेर ५० हजार जति पुगेको उनले बताए ।




कुवेतमा रहेका नेपाली महिलाहरूको यो तथ्यांकले सरकारको स्थापित नीतिलाई नै खिल्ली उडाउने काम भएको उनले यसले नेपालको वैदेशिक सम्बन्ध र कूटनैतिक क्षमता नै स्खलित भएको बताए ।
उनले भने, ‘सजिलोसँग आम्दानी हुने प्रलोभनमा परेर जाने महिलाहरू अत्यन्त कम तलबमा काम गर्न बाध्य छन् । उहाँहरूले मानसिक र शारीरिक शोषण सहनु परेको छ । सुरक्षा खोज्दै आउनेहरूलाई नेपाली राजदूतावासको ८ जना अट्ने सेल्टरमा ४०-५० जना राख्नु परेको छ।’
प्रतिक्रिया दिनुहोस्