नेपाललाई ट्रान्जिट बनाएर लागुऔषध कारोबार

फाइल तस्बिर

३ असार, काठमाडौं । ४९ किलो सेतो र २ किलो खैरो हिरोइन बोकेर नेपाल भित्रिएका सातै जना अफ्रिकन नागरिक। संलग्न सबै महिला। अफ्रिकाबाट दुबई एयरपोर्ट हुँदै लागुऔषध बोकेर नेपालसम्मको यात्रा। बिहीबार लागुऔषध नियन्त्रण ब्युरो काठमाडौंले सार्वजनिक गरेको तथ्यांक हो यो ।

प्रहरीका अनुसार यो हालसम्म पक्राउ परेको सबैभन्दा ठूलो परिमाणको लागुऔषधमा पर्छ । हालको अनुमानित मूल्यअनुसार पक्राउ परेको खैरो हिरोइनको मूल्य १ अर्ब २ करोड रुपैयाँ बराबर हुन्छ। 

frontline

प्रहरीको लागुऔषध ब्युरोले जेठ २९ र ३० गते काठमाडांैका विभिन्न स्थानबाट ठूलो परिणाममा सेतो र खैरो हिरोइन बरामद गरेको हो । पक्राउ पर्नेमा दक्षिण अफ्रिकाका २९ वर्षीया सिविसी थान्डेकिले, ४६ वर्षीया मुरियल केदुकबाजी थेम्बेनी न्साम्बा, ३९ वर्षीया त्शाबाला खान्यिसिल इभोन्ने, ३६ वर्षीया रोसिन्हा नोन्केले जान्त्जो, २९ वर्षीया महलाको मौरिन माथिबा, ३७ वर्षीया मोरोएसी सुजान कोफू, ३० वर्षीया मार्लिज बाडेनहोस्ट छन्।

उनीहरू जेठ २६, २९ र ३० गते अफ्रिकाबाट दुबई हुँदै काठमाडौं प्रवेश गरेको प्रहरीले जनाएको छ। ‘ठमेलस्थित विभिन्न होटलबाट लागुऔषधसहित सबैलाई पक्राउ गरिएको हो। उनीहरूले विमानस्थल नै प्रयोग गरेर ल्याएको प्रारम्भिक अनुसन्धानले देखाएको छ,’ लागुऔषध ब्युरो प्रमुख जीवन श्रेष्ठले भने।

त्रिभुवन विमानस्थलमा रहेको विभिन्न निकाय तथा एकाइसँग आवश्यक समन्वय गरेर उनीहरूलाई पक्राउ गरेको श्रेष्ठ बताउँछन्। उनका अनुसार विभिन्न देशका लागुऔषध कारोबारी र तस्करीले नेपालको बाटो हँुदै तेस्रो मुलुकमा लागुऔषध तस्करी गर्दै आएका छन्।

‘यसअघि पनि विभिन्न समयमा प्रतिबन्धित लागुऔषध बरामद हुँदै आएको छ। तर, यो हालसम्मकै ठूलो परिमाणमा पक्राउ परेको हो’, उनले भने। तर, अचम्मको कुरा पक्राउ परेका सबै एकै देशका भए पनि उनीहरू एक आपसमा चिनजान भएको नदेखिएको श्रेष्ठ बताउँछन्।

लागुऔषध कारोबारीले महिलालाई प्रयोग गरी नेपालको बाटो हुँदै भारतलगायतका अन्य देशमा तस्करी गर्न खोजेको प्रहरीको प्रारम्भिक अनुमान छ। पक्राउ परेका महिलाहरूले आफ्नो देशमा मार्केटिङको काम गर्ने गरेको बताएको श्रेष्ठले जानकारी दिए।

पक्राउ परेका ६ जना भिजिट भिसा लिएर पहिलो पटक नेपाल आएको पाइएको छ। ४६ वर्षीया मुरियल केदुकबाजी थेम्बेनी न्साम्बा तेस्रोपटक नेपाल आएको प्रहरी अनुसन्धानले देखाएको छ। यसअघि उनी फे्रबुअरी र जुनमा पनि नेपाल आएर फर्किएको प्रहरीको भनाइ छ। 

२०७५ साउनदेखि हालसम्म लागुऔषध कारोबारमा १९ हजार ३ सय २१ जना संग्लन भएको प्रहरी तथ्याकंले देखाउँछ। जसमध्ये ८ सय ५२ जना महिला पक्राउ परेका छन्।

लागुऔषध ब्युरो प्रमुख श्रेष्ठका अनुसार महिलाहरूलाई प्रलोभनमा पार्न सजिलो हुने र विश्वासीलो पनि हुने भएकाले लागुऔषध कारोबारीको नजरमा पर्छन् । सुरक्षाका हिसाबले पनि महिलाहरूलाई भरिया बनाएर पठाउने गरेको यसअघिका अनुसन्धानमा खुल्दै गएको छ। 

५१ केजी हिरोइन विमानस्थलमा नभई ठमेलको एक होटलबाट बरामद भएको हो। नेपालको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलको कडा सुरक्षा घेरा तोड्दै तस्करीले हिरोइन ठमेल पुर्‍याएका हुन्।

नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीका अनुसार तस्करीले लागुऔषध पास गराउने अनेक उपाय रचेका हुन्छन् । नेपालको मात्रै नभएर योभन्दा अघि दुइटा विमानस्थलको सुरक्षा घेरा पनि पार गरेर नेपाल ल्याएको भेटियो । सामान्य अवस्थामा मेटललगायत सब प्रकारका लागुऔषध विमानस्थलमा चेकिङ पोइन्टमा राखिएको एक्सरे मेसिनले डिडेक्ट गर्ने उनले बताए। 

नेपाल प्रहरीको लागुऔषध ब्युरोअनुसार आर्थिक वर्ष ०७५/७६ मा ११ केजी ४ सय २२ ग्राम हिरोइन बरामद भएको छ। अफिम ३४ केजी २ सय २९ ग्राम बरामद भएको छ। यस्तै आव ०७६/७७ मा ७ केजी १ सय २ ग्राम हिरोइन बरामद भएको छ। ४४ केजी ३ सय ४८ ग्राम अफिम र १५ केजी कोकिन बरामद भएको छ। यस्तै आव ०७७/७८ मा ९ केजी २ सय ३८ ग्राम हिरोइन बरामद भएको छ भने २ सय ६२ केजी ५ सय ३९ ग्राम अफिम बरामद भएको छ। 

करिब १ केजी कोकिन पनि बरामद भएको छ। आव ०७८ देखि ०७९ को वैशाखसम्म १७ केजी ५९८ ग्राम हिरोइन बरामद भएको छ। यस्तै ४७ केजी ३ सय ७४ ग्राम अफिम र १ केजी ५ सय १२ ग्राम कोकिन बरामद भएको छ ।

पक्राउ परेका ७ जना विदेशी नागरिकलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको लागुऔषध ब्युरो प्रमुख श्रेष्ठले जानकारी दिए । यस्ता कारोबारमा संग्लनलाई लागुऔषधको मात्रा र प्रकारअनुसार जन्मकैदसम्मको सजाय हुने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here