नेपालमा हालसम्म १०४ वटा विमान दुर्घटना
७ माघ, काठमाडौं । हालसम्म मुलुकमा आन्तरिक र अन्तर्राष्ट्रिय गरी १०४ वटा विमान दुर्घटना भएका छन् । यी दुर्घटनामा नौ सयभन्दा बढी जनाकाे मृत्यु भएको रहेकाे नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयाे ।
उहाँका अनुसार मानवीय क्षतिको हिसाबले पोखरामा भएकाे यती एयरलाइन्सको विमान दुर्घटना आन्तरिक उडानतर्फको सबैभन्दा ठूलो हाे ।
तुलनात्मकरूपमा सुरक्षित भनिने एटिआर सिरिजका विमान दुर्घटना पर्नु आफैँमा दुर्भाग्य भएको वायुसेवा सञ्चालक सङ्घका प्रतिनिधि एवं सीता एयरका आधिकारिक व्यवस्थापक घनश्यामराज आचार्यको भनाइ छ ।
नेपालमा पहिलो अन्तर्राष्ट्रिय हवाई दुर्घटना बाराको सिमरामा भएको थियो । सन् १९५५ मा कालिगा एयरको विमान दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाएका थिए । यस्तै सन् १९५६ र १९५८ भारतीय एयरलाइन्सका दुई विमान दुर्घटना भएका थिए । ती दुर्घटनामा ३४ यात्रुको ज्यान गएको थियो ।
सन १९९१ जुन ९ मा पहिलाेपल्ट आन्तरिकतर्फ नेपाल वायुसेवा निगमको जहाज दुर्घटनामा परेको थियो । काठमाडौँबाट लुक्लाका लागि उडानमा रहेको सो विमान दुर्घटनामा पर्दा चालक दलका तीन सदस्यसहित १४ जनाको मृत्यु भएको थियो ।
यस्तै १९९२ मा थाई एयरको विमान दुर्घटना हुँदा एक सय १३ जनाको ज्यान गएको थियो ।
सन् १९९२ मै पाकिस्तान एयरलाइन्सको विमान दुर्घटनामा हुँदा एक सय ५७ जनाले ज्यान गुमाएका थिए । सन् १९९० मा लुफ्थान्सा एयरको विमान दुर्घटनामा पाँच जनाले ज्यान गुमाएका थिए ।
सन् २०१४ मा अवतरणको क्रममा टर्किस एयरको विमान दुर्घटना भए पनि मानवीय क्षति भने भएन ।
सन् २०१८ को सेप्टेम्बरमा गोर्खाबाट काठमाडौँ आउँदै गरेको अल्टिट्युड एयरको हेलिकोप्टर धादिङ र नुवाकोटबीच रहेको एउटा जङ्गलमा दुर्घटनाग्रस्त हुँदा एक जापानी पर्यटकसहित छ जनाको मृत्यु भएको थियो ।
सन् २०१८ मार्चमा बङ्गलादेशबाट नेपाल आएको युएस बाङ्गला एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा ५१ जनाको मृत्यु भएको थियो ।
सन् २०१९ को अप्रिलमा सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एअरको एउटा विमान धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकोप्टरमा गएर ठोकिँदा तीन जनाको मृत्यु भएको थियो ।
यस्तै सन् २०१९ को फेब्रुअरीमा एयर डाइनेस्टीको हेलिकोप्टर ताप्लेजुङमा पाथीभरा नजिकै दुर्घटनामा पर्दा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको थियो ।
सन् २०२२ को मे २७ मा यती एयरलाइन्सको भगिनी संस्था तारा एयरको ट्वीनअटर विमान मुस्ताङमा दुर्घटनामा परी २२ जनाको ज्यान गएको थियो ।
पछिल्लाेपटक यही माघ १ गते काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कलसाइन ९–एएनसी (एटीआर–७२–२१२)विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १८ मिटर पर सेती नदीको खाेँचमा दुर्घटनाग्रस्त भयो । उक्त विमानमा सवार चालक दलका सदस्यसहित ७२ जनामध्ये ७१ जनाको निधन भइसकेको छ भने बाँकी एकजनाको अवस्था अज्ञात छ । अझै पनि खोजी कार्य जारी रहेकाे छ । – रासस
प्रतिक्रिया दिनुहोस्