नेपालको दोस्रो लामो पुलबाट यातायात आवागमन अवरुद्ध
काठमाडौं । दाङको देउखुरीमा निर्मित नेपालको दोस्रो लामो पुलमा बाढीले क्षति पुर्याएपछि यातायात आवागमन अवरुद्ध भएको छ ।
राप्ती नदीमा आएको बाढीले पुलको एकातर्फको भागमा क्षति पुर्याएपछि पुलबाट यातायातका साधन सञ्चालन बन्द भएको हो ।
राप्ती गाउँपालिकाको सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने सो पुल गत माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।
महदेवातर्फ १५–२० मिटर सडक बाढीले बगाएकाले बुधबार बिहानबाट यातायात आवागमन अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।
उनले भने, ‘अहिले ठूला गाडीहरुलाई रोक लगाइएको छ, कटान जारी रहेकाले साना सवारी साधनलाई पनि रोक्नुपर्ने स्थिति आउन सक्छ ।’
तत्काल मर्मत गर्न नेपालगञ्जस्थित पुल विभागलाई भनेको उनले बताए ।
अहिलेकै स्थितिमा पुललाई भने धेरै खतरा नदेखिएको उनको भनाइ छ ।
राप्ती नदीमाथि बनेको यो पुल बर्दियाको कोठियाघाटपछि नेपालको दोस्रो लामो पक्की पुल हो ।
यो पुल एएनके लुम्बिनी वाईपी जेभीले पूर्वनिर्धारित समयभन्दा अगावै निर्माण सम्पन्न गरेको थियो ।
राप्ती नदीमाथिको पुल २०७३ मंसिर २२ गते तत्कालीन प्रधानमन्त्री प्रचण्डले शिलान्यास गरेका थिए ।
८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइको यो पुल करिब एक अर्बको लागतमा निर्माण सम्पन्न भएको थियो ।
बस्ती पनि डुबानमा
देउखुरी क्षेत्रमा अविरल वर्षाका कारण गढवा गाउँपालिकाको महदेवा गाउँका केही घर डुबानमा परेका स्थानीय शिक्षक हिमालप्रकाश अधिकारीले जानकारी दिए ।
खौराहा र मन्द्रेनिया खोलामा आएको बाढीले आसपासका घर जलमग्न हुनुका साथै धान र मकैबालीमा पनि क्षति पुर्याएको छ ।
खौरा खोलाको बाढीले महदेवा स्कुलमा पनि बाढी पसेको छ ।
महदेवा गाउँ सुधार समितिका अध्यक्ष जनकमान चौधरीले डाडागाउँ र बड्का गल्लीका धेरैजसो घर डुबानमा परेको बताए ।
यी ठाउँका घरहरु बर्सेनि बाढीको चपेटामा पर्दै आएका छन् । तर डुबानको समस्या समाधानको प्रभावकारी उपाय अवलम्बन गरिएको छैन ।
हाल कालाकाटे-गढवा हुलाकी सडक विस्तारको काम जारी रहेकाले साना कल्भर्ट र नाला समेत थुनिएकाले पानी निकास नहुँदा पनि घरमा पानी पसेको स्थानीयवासी बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्