नेतृत्व पद होइन, जिम्मेवारी हो
कृप थापा

नेतृत्व कुनै कुर्सी, उपाधि वा पदको नाम होइन; यो जनताप्रतिको गहिरो जिम्मेवारी हो। तर अहिलेको नेपालको राजनीतिक अवस्थालाई हेर्दा नेतृत्वलाई अझै पनि धेरैले सत्तामा पुग्ने माध्यम का रूपमा मात्र बुझेको देखिन्छ। चुनाव जितेपछि जिम्मेवारी सुरु हुने हो भन्ने सोचभन्दा पनि “अब के पाइन्छ ?” भन्ने मानसिकता हाबी भएको अनुभूति आम जनताले र अहिले परिवेसले देखाएको छ। आज नेपालको राजनीतिमा नेतृत्वको संकट स्पष्ट देखिन्छ। सरकार परिवर्तन भइरहन्छ, गठबन्धन बन्छ र भत्किन्छ, तर जनताको दैनिकी उस्तै रहन्छ। बेरोजगारी, महँगी, शिक्षा र स्वास्थ्यको समस्या ज्यूँका त्यूँ छन्। यसले एउटा गम्भीर प्रश्न उठाउँछ के हामीसँग पदमा बस्ने नेता त छन्, तर जिम्मेवारी वहन गर्ने नेतृत्व छैन?
साँचो नेतृत्व भनेको निर्णय गर्दा व्यक्तिगत स्वार्थ होइन, देश र जनताको भविष्य सोच्नु हो। गल्ती स्वीकार्न सक्ने साहस, आलोचना सुन्ने धैर्य, र कठिन समयमा अगाडि बढ्ने दृढता नै नेतृत्वको परिचय हो। तर दुर्भाग्यवश, अहिलेको राजनीतिमा नेतृत्वभन्दा पनि आरोप–प्रत्यारोप, शक्ति सन्तुलन र पद जोगाउने खेल बढी देखिन्छ।
नेपालका धेरै युवा राजनीति प्रति निराश हुँदै गएका छन्। यसको मुख्य कारण नै नेतृत्वको गैर-जिम्मेवार व्यवहार हो। जब नेताहरूले आफ्ना वाचा पूरा गर्दैनन्, जब नीति भन्दा पनि सत्ता प्राथमिकता बन्छ, तब जनताले राजनीतिबाट आशा गर्न छोड्छन्। यो अवस्था लोकतन्त्रका लागि खतरा हो।
अब समय आएको छ—नेतृत्वलाई पुनः परिभाषित गर्ने। पदमा पुग्नु नै सफलता होइन, पदमा रहेर जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु नै साँचो नेतृत्व हो। नेतृत्व भनेको भाषण होइन, आचरण हो; अधिकार होइन, उत्तरदायित्व हो।
यदि नेपालको राजनीति साँच्चै परिवर्तन चाहन्छ भने, हामीलाई नयाँ अनुहार मात्र होइन, नयाँ सोच भएका जिम्मेवार नेता चाहिन्छ। किनकि नेतृत्व पद होइन—यो जनताले सुम्पिएको पवित्र जिम्मेवारी हो।
भाद्र २३ गते जेन जीले आह्वान गरेको आन्दोलन तत्कालीन सरकारविरुद्धको साधारण असन्तुष्टि मात्र थिएन; यो राज्य सञ्चालनको शैली, शक्ति प्रयोगको प्रवृत्ति र लोकतान्त्रिक अभ्यासप्रति गहिरो अविश्वासको अभिव्यक्ति थियो। सुशासन, भ्रष्टाचार नियन्त्रण, भ्रष्टाचारीमाथि कानूनअनुसार कडा कारबाही तथा सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको फुकुवाजस्ता मागहरूले राज्यको जवाफदेहिता र पारदर्शितामाथि प्रत्यक्ष प्रश्न उठाएका थिए।
नेपालमा विभिन्न कालखण्डमा भएका आन्दोलनहरूको अग्रपंक्तिमा सधैं युवाहरूको उभिएको देखिन्छ । २००७ सालको प्रजातन्त्रको आन्दोलनमा १६ वर्षका गंगालाल श्रेष्ठले ,शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठ—यी नामहरू केवल इतिहास होइनन्, त्याग र साहसका प्रतीक हुन्। २०३६ सालको विद्यार्थी आन्दोलन होस्,२०४६ सालको जनआन्दोलन होस्,२०५२ सालको सशस्त्र विद्रोह होस्, वा २०६२/६३ सालको ऐतिहासिक जनआन्दोलन, जेन जीले भाद्र २३ गते आह्वान गरेको आन्दोलनको मुख्य एजेन्डा सुशासन, भ्रष्टाचार नियन्त्रण, भ्रष्टाचारीमाथि कानूनअनुसार कडा कारबाही र सामाजिक सञ्जालमा लागेको प्रतिबन्धको फुकुवा थियो। आन्दोलनमा एकैदिन १९ जनाले सहादत प्राप्त गरे र सयौँ युवाहरू घाइते भए; करिब ३६ घण्टामा सरकार ढलेको घटना इतिहासमै पहिलो हो। जेन जीको सामूहिक नेतृत्वमा आह्वान गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरी प्रशासनले गरेको अत्यधिक दमनका कारण हालसम्म ७६ जनाले सहादत प्राप्त गरेका र सयौँ युवाहरू अझैसम्म अस्पतालमा उपचाररत छन्।
यो आन्दोलनको सबैभन्दा उल्लेखनीय पक्ष यसको नेतृत्व संरचना हो। परम्परागत राजनीतिक दल, परिचित नेता वा संस्थागत झन्डाविना अघि बढेको जेन जी आन्दोलनले नेतृत्वको वैकल्पिक अवधारणा प्रस्तुत गर्यो। सामूहिक नेतृत्व, डिजिटल सञ्जालमार्फत संगठन र नागरिक चेतनाको सक्रिय सहभागिताले आन्दोलनलाई शक्ति प्रदान गर्यो। यसले “नेतृत्व पद होइन, जिम्मेवारी हो” भन्ने भनाइलाई नारा मात्र होइन, व्यवहारमा उतारेको देखियो।
आन्दोलनको विस्तारसँगै मागहरू प्रणालीगत परिवर्तनतर्फ उन्मुख भए। प्रतिनिधि सभाको विघटन, प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचनजस्ता प्रस्तावहरूले वर्तमान संसदीय अभ्यासप्रति बढ्दो असन्तुष्टि झल्काए। यसले समस्या केही व्यक्तिमा सीमित नभई शासन प्रणालीमै निहित छ भन्ने जनधारणा बलियो हुँदै गएको संकेत गर्छ। राजनीतिक दल, संसद र सरकारप्रति जनविश्वास क्षीण हुँदै जानु लोकतन्त्रका लागि गम्भीर चेतावनी हो।
जेन जीकै सिफारिसमा अन्तरिम सरकार गठन हुनु र आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन घोषणा हुनु आन्दोलनको तत्कालीन राजनीतिक उपलब्धिका रूपमा लिन सकिन्छ। करिब ३६ घण्टाभित्र सरकार ढल्नु नेपालकै राजनीतिक इतिहासमा दुर्लभ घटना हो। यसले जनदबाबसामु सत्ता संरचना कति कमजोर र अस्थिर छ भन्ने उजागर गर्यो। तर यसले अर्को प्रश्न पनि उठाउँछ—के हाम्रो शासन प्रणाली संकट व्यवस्थापनमा मात्र सीमित हुँदै गएको हो?
आन्दोलनको सबैभन्दा संवेदनशील र गम्भीर पक्ष भने राज्यको सुरक्षा दृष्टिकोण हो। शान्तिपूर्ण आन्दोलनमाथि गरिएको अत्यधिक दमन, एकै दिन १९ जनाको सहादत र हालसम्म ७६ जनाको मृत्यु हुनु लोकतान्त्रिक राज्यका लागि गम्भीर असफलता हो। सयौँ युवाहरू अझै अस्पतालमा उपचाररत हुनु राज्य र नागरिकबीचको सम्बन्ध कति संकटग्रस्त अवस्थामा पुगेको छ भन्ने प्रमाण हो। असहमतिको आवाजलाई राजनीतिक संवादमार्फत सम्बोधन गर्नुको सट्टा सुरक्षा चुनौतीका रूपमा लिनु लोकतन्त्रको आत्मासँग मेल खाँदैन।
यही सन्दर्भमा नेतृत्वको मूल अर्थ पुनः बहसको केन्द्रमा आएको छ। हाम्रो समाजमा नेतृत्वलाई अझै पनि शक्ति, पद र प्रतिष्ठासँग जोडेर बुझ्ने प्रवृत्ति छ। तर वास्तविक अर्थमा नेतृत्व पद होइन, जिम्मेवारी हो। पदले अधिकार दिन सक्छ, तर नेतृत्वले दायित्व बोकाउँछ। संकटको समयमा दोष अरूमाथि थोपर्ने होइन, समाधानको बाटो देखाउने साहस नै नेतृत्व हो।
साँचो नेता त्यो होइन जो कुर्सीमा बसेको छ, साँचो नेता त्यो हो जसले कठिन समयमा जिम्मेवारी लिन्छ। नेतृत्व आदेश दिने क्षमता मात्र होइन, उदाहरण प्रस्तुत गर्ने चरित्र पनि हो। बोलेका शब्द र गरेका कामबीच समानता नहुन्जेल नेतृत्व विश्वसनीय हुँदैन। जनताको विश्वास भाषणले होइन, कर्मले जितिन्छ।
आजको समाजमा नेतृत्वका पद त धेरै छन्, तर जिम्मेवारी बोक्ने नेतृत्वको अभाव देखिन्छ। पद पाउन प्रतिस्पर्धा छ, तर पदसँगै आउने कर्तव्य स्वीकार गर्ने इच्छाशक्ति कमजोर छ। यही कारण समाज निराश छ र नयाँ पुस्ता परम्परागत नेतृत्वप्रति विमुख हुँदै गएको छ। जेन जी आन्दोलन यही निराशाको संगठित अभिव्यक्ति हो।
नेतृत्व कुनै विशेष वर्ग वा पदमा सीमित हुँदैन। विद्यार्थी कक्षामा, युवा समाजमा, कर्मचारी कार्यालयमा—जहाँ जिम्मेवारी बोध छ, त्यहीँ नेतृत्व हुन्छ। त्यसैले नेतृत्वका लागि कुर्सी खोज्नु भन्दा जिम्मेवारी स्वीकार गर्ने आँट आवश्यक हुन्छ। लोकतन्त्रको सुदृढीकरण पनि यही नागरिक नेतृत्वबाट सम्भव हुन्छ।
यस अर्थमा जेन जी आन्दोलन क्षणिक राजनीतिक उथलपुथल होइन; यो पुस्तागत चेतनाको संकेत हो। यदि राज्य र राजनीतिक दलहरूले यसलाई आत्मसमीक्षाको अवसरका रूपमा लिएनन् भने भविष्यमा यस्ता आन्दोलनहरू अझ तीव्र र अनियन्त्रित हुन सक्छन्। तर यदि यसबाट पाठ सिकियो भने, यही आन्दोलन लोकतन्त्रलाई थप उत्तरदायी, पारदर्शी र जनमुखी बनाउने मोडबिन्दु बन्न सक्छ।
नेतृत्व पदमा होइन, चरित्रमा देखिनुपर्छ। जिम्मेवारीबाट नभाग्ने, सत्यको पक्षमा उभिने र परिवर्तनका लागि पहल गर्ने व्यक्ति नै साँचो नेता हो। जब नेतृत्वलाई शक्ति होइन, जिम्मेवारीका रूपमा बुझिन्छ, तब मात्र लोकतन्त्रले अर्थ पाउँछ।






प्रतिक्रिया दिनुहोस्