नेतृत्वमा कोइराला परिवारको उदय रोक्न तेस्रो समूह

काठमाडौं । १४ औं महाधिवेशनमा नेतृत्वमा कोइराला परिवारको उदय रोक्न नेपाली कांग्रेसमा तेस्रो समूह खडा भएको छ।आगामी महाधिवेशनबाट शेखर कोइराला सभापतिमा आउने प्रयत्नमा छन् जसलाई महामन्त्री शशांक कोइराला र नेतृ सुजाता कोइरालासहितको प्रयास जारी छन्। यो प्रयासलाई रोक्न कृष्ण सिटौलाको समूह तयार भएको छ।

सभापति शेरबहादुर देउवालाई साथ नदिने र कोइराला परिवारबाट नेतृत्वमा उदय गराउने सहमतिका लागि सुजाता कोइरालाको निवासमा भएको छलफलमा सहभागी उनै सिटौला तेस्रो समूहको नेतृत्व गरिरहेका छन्, जसलाई गिरीजाप्रसाद कोइरालाले अधिक विश्वास गरी नेतृत्वमा तानेका थिए।

frontline

कोइराला परिवारको समीकरणमा आउँदा सिटौलालाई उपसभापति र गगन थापालाई महामन्त्री दिनेसम्मको तयारी भएको थियो। तर सिटौला १३ औं महाधिवेशनमा जस्तो आफैं सभापतिको उम्मेदवार बन्ने र थापालाई फेरि महामन्त्रीमा उठाउने तयारीमा छन्।

‘अहिले पुस्ता हस्तान्तरणको आवाजमा गगन बलियो हुँदै गएको देखेपछि देउवाबाट कांग्रेसको नेतृत्व आफूमा ल्याउन सिटौलाको अभ्यास छ। यसमा उनले देउवासँग सम्झौता पनि गर्न सक्छन्’, कांग्रेस उच्च स्रोतले भन्यो,‘थापासहितका तेस्रो पुस्तामा रहेका केन्द्रीय सदस्यको साथमा सिटौला अघि बढ्न खोजीरहेका छन्। प्रदिप पौडेलसहितको समूह उनले तयार पारिरहेका छन्।’

उता देउवा आफैं सभापति उठ्ने या सभापतिमा विमलेन्द्र निधिको दाबी भए आरजु राणालाई उपसभापति र संसदीय दलको नेता बनाउने समझदारीका साथ महाधिवेशन भदौमा नै गराउने रणनीतिमा अघि बढेका छन्। जुन समूहले कोइराला परिवारका कसैलाई पनि यस पटक अगाडि बढ्न नदिने सोच राखेको छ।

तर कोइराला परिवारका तर्फबाट भने महाधिवेशनमा हस्तक्षेपकारी भूमिकासहित अगाडि आउने अभ्यास जारी छन्। ‘कांग्रेस भनेको कोइराला नै हो भन्ने देखाउनका निम्ति पनि शेखर दाई सभापतिमा सक्रिय हुने इच्छामा हुनुहुन्छ। त्यसका लागि संस्थापनइतरका बलिया नेतासँग सहकार्यको तयारी छ’, स्रोतले भन्यो।

जीपी फाउन्डेशनले हालै गरेको एउटा कार्यक्रममा पूर्वको सुनसरीमा देखिएका शेखर, शशांक र सुजाताले तीन जना मध्य एक जना सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका थिए। तीनै जनामा कुनै विवाद नरहेको पनि उल्लेख गरेका थिए।

जिल्ला दौडाहा र कार्यकर्तासँगको साक्षात्कारको निरन्तरतालाई ध्यानमा राख्ने हो भने शेखर सभापतिका लागि आकांक्षी छन्। उनले भनेका छन्,‘कांग्रेसको नेतृत्व हाँक्न म तयार छु। सम्भावना छ र म जिल्लाको दौडाहामा छु।’

सिटौला समूहले कसरी रोक्न सक्ला?

यस पटक बरिष्ठ नेता रामचन्द्र पौडेललाई अगाडि बढाउन नसकिने ठहरका साथ सिटौला समूहले देउवालाई सहयोग गर्न सक्ने देखिन्छ। ‘महाधिवेशनमा लेनदेन र सम्झौता हुनेछन्। नेतृत्व चानचुने कुरा होइन, १३ औं महाधिवेशनमा पौडेललाई रोक्ने सिटौला नै थिए दोस्रो राउन्डमा देउवालाई सहयोग गरेका छन्। त्यस्तै आकर्षक भिडन्त हुन सक्छ’, स्रोतले भन्यो,‘यस पटक पनि कोइराला परिवारका कोही मैदानमा आए सिटौलाको खेल सोही हिसाबले अघि बढ्न सक्छ।’

लेनदेनमा कुरा नमिलेको खण्डमा देउवालाई पनि सहयोग नगर्ने र आएको परिणाम स्वीकार गर्ने तयारीमा सिटौला समूह छ। सिटौला आफूलाई उपसभापति बनाउने र प्यानलमा महामन्त्रीका रुपमा थापालाई देउवाले अघि सार्न सक्छन् भन्ने ‘बार्गेनिङ प्वाइन्ट’मा रहेको उच्च स्रोतले जनायो।

गिरीजाप्रसाद कोइरालासँग सिटौलाको नजिकको सम्बन्ध भए पनि सुजातालगायतसँग भने त्यस्तो न्यानो नरहेको बताइन्छ। कोइराला परिवारले विश्वप्रकाश शर्मालाई साथ लिन सक्ने अनुमानका आधारमा पनि झापाको राजनीतिक धरातललाई हेरेर सिटौला चल्ने अनुमान लगाइएको छ। उनको रणनीति शर्माको सहयोग लिएको खण्डमा कुनै पनि हालतमा शेखर या कोइराला परिवारका सदस्यलाई नेतृत्वमा आउन नदिनु नै हुने बताइन्छ।

महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वमा प्रकाशमान सिंह, अर्जुननरसिंह केसीलगायतले पनि आफ्नै तयारी गरेका छन् भने दाबी पनि आ–आफ्नै छन्। उक्त टोलीका फरक समीकरण र समूह बन्न सक्ने पनि लख काटिएको छ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here