नीति तथा कार्यक्रममा समृद्ध नेपाल सुखी नेपालीको ठाउँमा राखियो समुन्नत नेपालको अवधारणा
१० जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको नीति तथा कार्यक्रमबाट समृद्ध नेपाल सुखी नेपालीको नारा हटाएको छ।
केपी शर्मा ओलीको अघिल्लो सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारालाई राष्ट्रिय आकांक्षा भनेर उल्लेख गर्दै आएको थियो। यो नारा चार वर्षसम्म ओली सरकारले आत्मसात गरेको थियो।
तर, अहिले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले समृद्ध नेपाल सुखी नेपालीको ठाउँमा समुन्नत नेपालको अवधारणा ल्याएको हो।
यो अवधारणाका प्रतिपादक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा हुन्। थापाले समुन्नत नेपालको अवधारणा ल्याउँदा एमाले अध्यक्ष ओलीले आफ्नो ‘समृद्ध नेपाल सुखी नेपाली’ अवधारणाबाट चोरी गरेको आरोपसमेत लगाएका थिए।
तर थापाले यसलाई अस्वीकार गर्दै आएका छन्। समृद्ध नेपाल र समुन्नत नेपालमा धेरै भिन्नता रहेको भन्दै थापाले यसमा बालुकोट पुगेरै ओलीलाई ट्युसन पढाउनुपर्ने भएको बताएका थिए।
नेपाली कांग्रेसको महामन्त्री उम्मेदवार हुँदा थापाले समुन्नत नेपालको अवधारणा पहिलोपटक प्रस्तुत गरेका थिए। यो अवधारणाले भुइँ मान्छेलाई छुने थापाले बताउँदै आएका छन्। थापाकै पार्टीको नेतृत्वमा रहेको गठबन्धन सरकारले उनको अवधारणालाई आत्मसात गरेको हो।
मंगलबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले समुन्नत नेपालको आकांक्षालाई नीति कार्यक्रमले पूर्ण रुपमा आत्मसात गरेको उल्लेख गरिन्। नीति तथा कार्यक्रमले सबल अर्थतन्त्र निर्माण गर्न भूमिका खेल्ने उनको विश्वास थियो।
प्रतिक्रिया दिनुहोस्