निर्वाचन एकै दिन एकै चरणमा गर्नेआयोगको तयारी, असार १ बाट मतदाता नामावली दर्ता
३० जेठ, काठमाडौं । निर्वाचन आयोग प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको आन्तरिक कसरतमा जुटेको छ । आयोगले दुवै निर्वाचन एकै दिन एकै चरणमा गर्नेगरी सरकारलाई मिति प्रस्ताव गर्ने तयारी गरेको हो ।
संवैधानिक व्यवस्था बमोजिम आगामी मङ्सिर २२ गते अगावै प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचन भइसक्नुपर्नेछ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाकाअनुसार आयोगले स्थानीय तह निर्वाचनमा देशका विभिन्न स्थानमा भएका घटनाको विश्लेषण गर्दै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै दिन एकै चरणमा गर्ने योजना बनाएको छ ।
एकै चरणमा गर्ने अवस्थामा २७ कात्तिकमा नै गर्न सकिने अयोगको बुझाइ छ । ‘निर्वाचन एकै चरणमा गर्न आयोग तयार छ, हामी दुई चरणमा जाँदै जाँदैनौं, स्थानीय तहको निर्वाचनमा केही स्थानमा भएका घटनाको विश्लेषणपछि आयोग प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्ने भन्ने निष्कर्षमा पुगेको हो,’ प्रमुख आयुक्त थपलियाले भने, ‘हाम्रो आन्तरिक रूपमा दुई चरणमा निर्वाचन गर्दा २७ कात्तिक र ३ मंसिरको मितिबारे छलफल गरेको थियो तर, एकै चरणमा गर्ने अवस्थामा २७ कात्तिकमा नै गर्न सकिने गरी मिति प्रस्ताव गर्ने तयारी छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा पनि एकै चरणमा निर्वाचन गर्ने पक्षमा छन् भने सत्तारूढ गठवन्धनमा पनि एकै चरणमा निर्वाचन गर्ने विषयमा अनौपचारिक छलफल भइसकेको छ । तर, प्रधानमन्त्री देउवाले निर्वाचनका विषयमा आयोगसँग औपचारिक छलफल भने गरेका छैनन् ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा २०७४ साल मंसिर १० र २१ गते भएको थियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐनको आधारमा निवार्चित भएको अवधिबाट कार्यकाल पाँच वर्ष भनिएकाले आयोगले मंसिर २२ लाई कार्यकाल सकिने दिन भनेको छ । यसले गर्दा मंसिर १५ गतेभित्र निर्वाचन गराउन सरकारसमक्ष सिफारिस गर्ने प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाई छ ।
निर्वाचन आयोगले आगामी असार १ गतेदेखि मतदाता नामावली अद्यावधिक गर्ने काम खुलाएको छ । सोमबारको निर्णयबाट आयोगले मतदाता नामावली अद्यावधिक गर्ने (बसाइसराई भएकाहरुलाई सरेकै स्थानामा सार्ने, नामावलीमा भएको त्रुटी सच्याउने र १८ वर्ष उमेर पुगेकाहरुको नयाँ नामावली दर्ता गर्ने) काम गर्न मातहतका निकायहरुलाई निर्देशन दिएको हो ।
प्रतिक्रिया दिनुहोस्