निर्मला पन्त प्रकरण : अनुसन्धान टोली कञ्चनपुरमा
२० पुस, काठमाडौँ । कञ्चपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान गर्न गठित टोली कञ्चनपुर पुगेको छ। अनुसन्धान टोलीका संयोजक डीआईजी दुर्गा सिंह कञ्चपुर पुगिसकेकी छिन्।
टोलीका अन्य सदस्य भने कञ्चनपुर जाने तयारीमा रहेको प्रहरी स्रोतले जनाएको छ। यसअघि पनि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का जुनियर प्रहरी अफिसरको एक टोली कञ्चनपुरमै बसेर उक्त घटनाको अनुसन्धान गरिरहेको छ।
गृहमन्त्रीको कमाण्ड सम्हालेलगत्तै आफ्नो पहिलो निर्णयमा नै रवि लामिछानेले पन्तलाई न्याय दिन अधिकतम पहल गर्ने बताएका थिए। उपप्रधानमन्त्रीसमेत रहेका लामिछानेकै निर्देशनपछि प्रहरी हेडक्वाटरले सिंहको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरेको थियो।
समितिमा सिंहसँगै सीआईबीकै एसपी कमल थापा, इन्सपेक्टर हिरेन्द्र रोकाय र दुई जना मनोचिकित्सक छन्। उक्त टोलीले कञ्चनपुर पुगेर निर्मला घटनाको मिहिन अनुसन्धान गर्ने बताइएको छ।
२०७५ साउन ९ गते साथीको घरमा पढ्न भनेर गएकी निर्मला भोलिपल्ट उखुबारीमा मृत भेटिएकी थिइन्। उनको बलात्कार गरी हत्या गरिएको अनुसन्धानबाट खुले पनि अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन।
प्रतिक्रिया दिनुहोस्