नालाको पानी व्यवस्थित नहुँदा बारामा ५० औं विगाहा गहुँ तथा मुसुरो बाली नष्ट

श्रोत : ईन्टरनेट

२१ माघ, वीरगञ्ज । बाराको प्रसौनी गाउँपालिका वडा नं, १ स्थित नालाको पानी व्यवस्थित हुन नसक्दा ५० औं विगाहा गहुँ तथा मुसुरो बाली नष्ट भएको छ।

वडा नं, १, २ र ४ का वस्तीहरुबाट नाला हुँदै आउने पानी खेतमा जम्मा भएपछि गहुँबाली नष्ट भएको कृषकहरुको भनाई छ ।

frontline

पालिकाका जनप्रतिनिधिहरुले नालाको पानीको उचित निकास नगर्दा कृषकहरु समस्यामा परेको उनीहरुको आरोप छ । कलैया वीरगञ्ज सडक खण्डमा पर्ने प्रसौनी चोकदेखि मुख्य सडक छेउमा रहेको पोखरी जस्तो खाली ठाउँमा नालाको पानी जम्मा हुँदै आएकोमा उक्त पोखरीलाई पुरेर भौतिक संरचना निर्माण हुन थालेपछि साँघुरिएको पोखरीको बाँध टुटेर पानीको बहाव खेतमा गएपछि किसानहरुले लगाएको ५० औं विगाहा गहुँबाली नष्ट उनीहरुको भनाई छ ।

नालाको पानी निकासको लागि विगत ५ वर्षदेखि पालिकाले आश्वासन दिँदै आए पनि हालसम्म पानीको उचित निकास नहुँदा खेतमा पानी जम्मा भई वर्षेनी गहुँ तथा मुसुरो बाली नष्ट हुने गरेको बताए ।

यो पानीलाई निकास दिलाउनका लागि कृषकहरुले प्रसौनी गाउँपालिकालाई पटक-पटक ध्यानाकर्षण गराउँदा समेत पालिका अध्यक्ष भोला गुप्ताले कुनै किसिमको सुनुवाई नगरेको उनीहरूले आरोप लगाए ।

यो यस वर्षको मात्रै समस्या होइन, विगत ५ वर्षदेखि नालाको पानीको कारण गहुँबाली नष्ट हुँदै आएको किसानहरुको आरोप छ ।

अहिले पनि पानी निकासको लागि पालिकामा ध्यानाकर्षण गराउँदा पालिका अध्यक्षले बेवास्ता गरेको बताए । विगत ५ वर्षदेखि नालाको पानीको समस्या खेप्दै आएका किसानहरु बाध्य भएर पालिकामा आन्दोलन गर्नु परेको बताउँछन् ।

पानी निकाशको लागि पटक पटक ध्यानाकर्षण गराउँदा समेत जनप्रतिनिधिहरुले यसमा बढी बजेट खर्च लाग्न सक्ने भएकोले अहिले तत्कालको लागि यसको निकाश निकाल्न नसकिने भन्दै आलटाल गर्दै आएको किसानहरुको भनाई छ ।

‘विगत ५ वर्षदेखि स्थानीय सरकार आए पनि यो समस्याको हल हुन सकेको छैन । पालिकाको सम्पूर्ण वडाहरुमा नालाहरु निर्माण गरिएको छ । सडक निर्माण कार्य भएको छ ।

तर त्यही चारैतिरको नालालाई ल्याएर त्यही पोखरीमा पानी खसालिएको छ । तर त्यो पोखरीबाट पानीको निकास हुन नसकेपछि हाम्रो खेतमा गयो,’ एक किसानले बताए ।

उनले थप भने, ‘एक त उब्जाउमा कमी आएको छ । त्यसमा पनि वर्षेनी गहुँबाली पलाउन थालेपछि नालाको पानी खेतमा जमेर गहुँबाली नष्ट हुने गरेको छ । यस समस्यालाई चाँडोभन्दा चाँडो निकासा दिलाउनुपर्नेमा पालिका अध्यक्षले बजेटको बहानामा आलटाल गर्दै हामीहरुलाई थप पीडामा पारे ।

पालिकाको बुनियाद, खुटवा, रहरिया लगायतका मानव वस्तीबाट आउने नालाको पानीले यहाँको खेतबालीलाई नोक्सान गर्ने गरेको किसानहरुको भनाई छ।

राम्रो उब्जनी हुने गरेको भएपनि नालाको पानीले नोक्सानी गर्न थालेपछि बालीनाली लगाउन समस्या भएको स्थानीय किसानहरुको गुनासो छ ।

अहिले पानी निकासको माग गर्दै चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । अहिले तत्कालको लागि गाउँपालिकामा धर्ना दिएका छन् भने यस मागको सुनुवाई नगरे पालिकाको कार्यालय घेराउदेखि कलैया वीरगञ्ज सडक खण्डसमेत जाम गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

यसबारे प्रसौनी गाउँपालिका वडा नं २ का अध्यक्ष एवं पालिका बोर्ड समिति सदस्य सुरेश गुप्ताले यो समस्याको एक हप्ताभित्र समाधान निकालिने बताए ।

उनले यो समस्याबारे कृषकहरुले ध्यानाकर्षण गराएको छ । बोर्ड समितिको बैठकमा पनि पानीको समस्याको चाँडो भन्दा चाँडो समाधान निकाल्ने निर्णय भएको बताइएको छ ।

यो सँगौ तत्कालको लागि पोखरी जस्तै भएकै ठाउँमा ठूलो १५ फिट खाल्डो ड्याम खन्न लगाएर तत्कालको लागि यही पानी जम्मा गर्ने र आगामी दिनमा यो पानीलाई ठूलो नाला निर्माण गरि सिंगहा नदीमा मिसाएर समस्याको दीर्घकालीन समाधान गरिने बताए ।

अध्यक्ष गुप्ताले कृषकहरुले ५०औं विगहा बालीनाली नष्ट भएको भन्नेबारे जनप्रतिनिधिहरुले गरेको अनुगमनको क्रममा किसानहरुको गहुँ तथा मुसुरो बालीमा क्षति भएको देखिएकोले क्षतिपूर्तिको विषयमा बोर्ड समितिमा प्रस्ताव भइसकेको बताए । यद्यपि अहिलेसम्म केही निर्णय नभएकोले भन्न सकिने अवस्था नरहेको भन्दै अध्यक्ष गुप्ताले पीडित किसानहरुलाई क्षतिपूर्तिको व्यवस्था गरिने आश्वासन दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here