नागरिक अधिकार खुम्च्याउने तथा प्रेस, अभिव्यक्ति को हकमाथि अंकुश लगाउने सरकारी प्रयासप्रति गम्भीर चिन्ता : पापड
शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड)ले नागरिक अधिकार खुम्च्याउने तथा प्रेस, अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकमाथि अंकुश लगाउने सरकारी प्रयासप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।
पापडले लोकतान्त्रिक मूल्य–मान्यताको पक्षमा एकजुट हुन पनि सबैमा आह्वान गरेको छ। बुधबार जारी संयुक्त विज्ञप्तिमा पापडले पछिल्लो समय विकसित राजनीतिक, संवैधानिक तथा प्रशासनिक गतिविधिले लोकतान्त्रिक संस्थाहरू, विधिको शासन तथा नागरिक अधिकारलाई कमजोर बनाउने खतरा बढाएको उल्लेख गरेको छ। ‘वर्तमान शासन सञ्चालनको शैलीले ती मूल्य मान्यताहरूलाई क्रमशः संस्थागत रूपमै कमजोर बनाउँदै लान खोज्नु चिन्ताको विषय हो,’ पापडले भनेको छ।
विज्ञप्तिमा लोकतन्त्र केवल निर्वाचनमार्फत प्राप्त बहुमतको शासन नभई संविधानको सर्वोच्चता, शक्तिको सन्तुलित प्रयोग, संस्थागत उत्तरदायित्व, अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, पारदर्शिता तथा विधिको शासनमा आधारित प्रणाली भएको स्मरण गराउँदै राज्यका सबै अंगलाई यी आधारभूत मान्यताको सम्मान गर्न आग्रह गरिएको छ।
पापडले सुकुम्बासी बस्ती हटाउने कार्य, न्यायपालिकाको स्वतन्त्रतामाथि हस्तक्षेप हुने आशंका, संसद्को भूमिकालाई सीमित बनाउने अभ्यास, सञ्चारमाध्यममाथि आर्थिक दबाब सिर्जना गर्ने प्रयास तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने गतिविधिप्रति विरोध जनाएको छ। ‘पापडमा आबद्ध पेसागत संस्थाहरू सरकारलाई नागरिक सर्वोच्चता, मानवअधिकार, अन्तर्राष्ट्रिय कानुन, संविधानको अक्षर र भावना दुवैको सम्मान गर्दै लोकतान्त्रिक मूल्य—मान्यता, विधिको शासन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, न्यायपालिकाको स्वतन्त्रता, नागरिक अधिकार तथा संस्थागत सन्तुलनको रक्षा गर्न आग्रह गर्दछांै,’ विज्ञप्तिमा भनिएको छ।
संविधानप्रदत्त पेसागत तथा ट्रेड युनियन अधिकारमाथि नियन्त्रणमुखी व्यवहार, विश्वविद्यालयहरूको स्वायत्ततामा हस्तक्षेप, शिक्षा र स्वास्थ्य क्षेत्रका स्थापित अभ्यासमा नीतिगत अस्पष्टता तथा आम नागरिकको जीविका, रोजगारी र सम्मानजनक जीवनयापनमा प्रतिकूल असर पर्ने कदमप्रति पनि सञ्जालले असहमति जनाएको छ।
विज्ञप्तिमार्फत लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि सबै लोकतन्त्रवादी शक्ति, पेसागत संगठन, सञ्चार क्षेत्र, शैक्षिक समुदाय तथा नागरिक समाजलाई एकजुट भएर लोकतान्त्रिक मूल्यमान्यताको पक्षमा उभिन आह्वान गरिएको छ।
यसैबीच, नागरिक अधिकार तथा प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने सरकारी प्रयासको विरोधमा नेपाल पत्रकार महासंघले असार ५ गते दिउँसो ४ बजे माइतीघरमा आयोजना गर्ने र्यालीप्रति पापडले ऐक्यबद्धता जनाएको छ। साथै सञ्जालले सबै नागरिक, पेसागत संगठन र सरोकारवालालाई उक्त ¥यालीमा सहभागी हुन आग्रह गरेको छ। विज्ञप्तिमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजाल, नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्र, नेपाल प्राध्यापक संघका अध्यक्ष प्रा. डा. रमेशकुमार जोशी, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी तथा नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष इ. सुवासचन्द्र बरालले हस्ताक्षर गरेका छन्।






प्रतिक्रिया दिनुहोस्