नागरिकता बनाउन पुगेका शेर्पाको प्रशासनमै बेहोस भएर मृत्यु

२१ पुस, सोलुखुम्बु । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा सेवा लिन आएका एक सेवाग्राहीको ज्यान गएको छ ।
ज्यान जानेमा सोलुदुधकुण्ड नगरपालिका ८ केरुङका ६६ वर्षीय फुर्वा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।




सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी भट्टराईका अनुसार बुधबार प्रशासनमा नागरिकताका बनाउन पुगेका शेर्पा प्रशासनमै बेहोस भएर ढलेका थिए ।
उनलाई तत्काल उद्दार गरी जिल्ला अस्पताल फाप्लु पुर्याउने वित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए ।
शेर्पा नसालगायत विभिन्न समस्याका कारण केहि समयदेखि फाप्लु अस्पताल भर्ना भएर उपचार गराइरहेको खुल्न आएको छ ।
तर आज आफन्तले अस्पतालको अनुमतिविना नागरिकता बनाउन भन्दै जिल्ला प्रशासन पु्र्याएको अस्पतालका सूचना अधिकारी विजयप्रकाश ठाकुरले जानकारी दिए ।
उनका अनुसार मृतक शेर्पामा खुट्टा टेक्न नसक्ने लगायत अन्य समस्या देखिएको थियो । मृतकको शव अहिले जिल्ला अस्पतालको शव गृहमा राखिएको अस्पतालले जनाएको छ ।
करिब २७/२८ वर्षदेखि परिवारसँग सम्पर्कमा नरहेका शेर्पाले हालसम्म नेपाली नागरिकता नलिएको वडा कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्