नवनियुक्त अर्थसचिव मरासिनीले गरे पद बहाली
मंगलबार, काठमाडौं । नवनियुक्त अर्थसचिव मधुकुमार मरासिनीले सोमबार पद बहाली गरेका छन्। महालेखा नियन्त्रकको कार्यालयबाट अर्थ मन्त्रालयको सचिवमा मरासिनी सरुवा भएका हुन्।
सचिव मरासिनीको पदवहालीसँगै निवर्तमान अर्थसचिव शिशिरकुमार ढुङ्गानाको सरुवा प्रधानमन्त्री कार्यालयमा भएको छ। ढुङ्गाना आगामी छ महिनापछि सेवा निवृत्त हुँदैछन्।
अर्थमन्त्री जनार्दन शर्माले निवर्तमान सचिवको बिदाइ र नवनियुक्त सचिवको स्वागत गरेका थिए। स्वागत र बिदाइ कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले संविधानले निर्दिष्ट गरेअनुसार समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यलाई ध्यान दिएर काम गर्न नवनियुक्त सचिवलाई निर्देशन दिएका थिए।
मन्त्री शर्माले मन्त्रालयको कार्य सम्पादनमा अधिकतम समय दिन आग्रह गरेका थिए। आन्तरिक स्रोत बढाउने र ऋण तथा व्यापार घाटा घटाउने मुख्य कार्यभार सम्पन्न गर्न निक्कै परिश्रम गर्नुपर्ने भन्दै शर्माले विभागीय प्रमुखसहित अन्य कर्मचारीलाई तीव्र गतिमा काम गर्न निर्देशन दिएका थिए।
‘मन्त्रालयमा टेबुलको शासन चलाएर हुँदैन। अत्यावश्यकीय महत्वपूर्ण विषयमा एउटै टेबुलमा बसेर छिटोछिटो काम गर्नुपर्छ,’ मन्त्री शर्माले भने,‘मन्त्रीले जानाजान वा नजानेर देशलाई घाटा हुने कुनै काम गर्यो भने त्यसलाई सिधै हुँदैन भनेर भन्न सक्नुपर्छ, म त्यस्तो कर्मचारी चाहन्छु।’ कार्यक्रममा नवनियुक्त अर्थसचिव मरासिनीले साना तथा मझौला उद्योगको प्रवद्र्धनमार्फत रोजगारी वृद्धि गरी अर्थतन्त्र चलायमान बनाउने दिशामा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
जापानी अर्थतन्त्रमा साना तथा मझौला उद्योग व्यवसायले ७० प्रतिशत योगदान गरेको प्रसंग उल्लेख गर्दै सचिव मरासिनीले यस्ता उद्योगले देशमा बेरोजगारी र गरिबीको अन्त्य गर्न सहयोग पुर्याउने धारणा व्यक्त गरे। निवर्तमान अर्थसचिव ढुङ्गानाले कोभिड १९ को कारण अर्थतन्त्रमा परेको नकारात्मक असर विस्तारै घट्दै गएको भन्दै चिन्ता गर्नुपर्ने अवस्था नरहेको प्रष्ट गरे।
कोभिड महामारीकैबीच राजस्व संकलनको लक्ष्य ९२ प्रतिशत पूरा भएको, १० महिनाको कारोबार धान्न सक्ने गरी बैदेशिक मुद्राको संचिति रहेको, विप्रेषण बृद्धि हुनुको साथै औपचारिक च्यानलमा आएको, निर्यात बृद्धि भएकोलगायतका सकारात्मक परिसूचकहरूसहित आफूले जिम्मेवारी हस्तान्तरण गरेको बताए।
प्रतिक्रिया दिनुहोस्