नयाँ संसद् भवनमा हिउँदे अधिवेशन : लक्ष्यअनुसार काम सुस्त, पुस १६ भित्र सक्न अल्टिमेटम

समाचार सारांश

  • सिंहदरबारस्थित संघीय संसद् भवनको निर्माण कार्य पटक-पटक म्याद थपिएर पनि तोकिएको समयमा सम्पन्न हुन सकेको छैन।
  • निर्माण सम्पन्न गर्न पाँचौँ पटक म्याद थप गरी पुस १६ गतेभित्र काम सक्ने लक्ष्य राखिएको छ।
  • भवन निर्माणको इन्टेरियर कार्यमा ढिलाइ भएको र जनशक्ति परिचालनको कार्यतालिका समेत तोकिएको छ।

काठमाडौँ । पटक–पटक म्याद थप्दा सम्पन्न हुन नसकेको सिंहदरबारस्थित संघीय संसद् भवनमा आउँदो हिउँदे अधिवेशन सञ्चालन गर्ने लक्ष्य छ । यसका लागि पुस १६ गतेभित्र काम सक्न ‘अल्टिमेटम’ सहितको कार्यतालिका बनाइएको छ । तर हालसम्मको भौतिक प्रगति र भित्री सजावट (इन्टेरियर) को काम सुस्त हुँदा निर्धारित समयमा सम्पन्न हुनेमा आशङ्का कायमै छ । 

frontline

२०८२ पुस १६ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी पाँचौँ पटक म्याद थपिएको छ ।  उक्त म्यादभित्र सकिएला कि नसकिएला भन्नेमा पटक–पटक संसदीय समितिहरूमा छलफल हुने गरेको र छिटो सक्न निर्देशन दिएको दियै छ । 

सहरी विकास तथा भवन निर्माण विभागको विशेष भवन निर्माण आयोजना सुनिल ठाकुरले कार्यतालिका नै तयार गरी म्यादभित्र निर्माण सक्न अल्टिमेटम दिइएको बताएका छन् । 

उनका अनुसार निर्धारित लक्ष्य हासिल गर्न विभिन्न प्रयासहरू भइरहेका छन् । निर्माण व्यवसायीले क्रमिक रूपमा जनशक्ति बढाउँदै लगेको, आवश्यक सामग्री आपूर्तिका लागि एलसी खोल्ने प्रक्रिया अघि बढेको र समस्या समाधानका लागि दैनिक तथा साप्ताहिक बैठकहरू भइरहेको उनले बताए ।

‘निर्माणमा आएका समस्याहरू छिटा समाधानका लागि परामर्शदाता र निर्माण व्यवसायीको द्विपक्षीय बैठक दैनिक रूपमा तथा आयोजना कार्यालय, निर्माण व्यवसायी र परामर्शदाताको त्रिपक्षीय बैठक साप्ताहिक रूपमा बस्ने गरिएको छ,’ उनले भने, ‘कार्यतालिकाबमोजिम निर्माण व्यवसायीले जनशक्ति परिचालन गर्नुपर्ने, समयमै निर्माण सामग्री परिपूर्ति गर्ने कुराको सुनिश्चितता गर्न परामर्शदाता, आयोजना विभाग र मन्त्रालयबाट अनुगमन गरिन्छ ।’ 

उनका अनुसार कार्यतालिकाअनुसार काम भए/नभएको अनुगमन गर्न आयोजना कार्यालय, सहरी विकास विभाग र मन्त्रालयस्तरबाटै संयन्त्र बनाइएको छ र हरेक १५ दिनको प्रगति विवरण संसदीय समितिमा बुझाउने गरिएको छ । 

  • यस्तो छ कार्यतालिका 

ठाकुरका अनुसार पाँचौँ म्यादभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गर्न कार्यतालिका तयार गरिएको छ । उक्त कार्यतालिकामा संसदीय सचिवालय भवन १ र २ संसदीय समितिको भवन, प्रेस तथा पाई भवन र अति विशिष्ट व्यक्तिहरूको कार्यालय भवनको सिभिल कार्य असोज दोस्रो साता र सम्पूर्ण निर्माण कार्य पुसको पहिलो साताभित्र सक्नुपर्ने छ । 

यस्तै प्रतिनिधिसभा भवन, राष्ट्रिय सभा भवन र केन्द्रीय लबी भवनको सिभिलको कार्य मङ्सिर दोस्रो सातासम्म सम्पन्न गर्नुपर्ने छ । यी भवनको सम्पूर्ण निर्माण कार्य पुसको दोस्रो साताभित्र सम्पन्न गर्नु पर्नेछ । 

त्यसैगरी पुस्तकालय, चमेना गृह, सवारी साधन पार्किङ तथा सुरक्षाकर्मीको भवन र संसदीय दलको भवन पुसको दोस्रो साता सिभिलको काम तथा सम्पूर्ण निर्माण कार्य पुसको दोस्रो साताभित्र सम्पन्न गरी हस्तान्तरणका लागि अल्टिमेटम दिइएको छ । 

इन्टेरियर, सेक्युरिटी, कन्फेरेन्सिङ सिस्टमको पनि निश्चित कार्यतालिका बनाइएको छ । यसमा अति विशिष्ट व्यक्तिहरूको कार्यालय भवनको वाल प्यानलिङ, फल्स सिलिङ, बिम क्ल्याडिङ असोज दोस्रो साताभित्र सम्पन्न गर्नुपर्ने छ । 

त्यस्तै प्रतिनिधि सभा भवनको वाल प्यानलिङ, फल्स सिलिङ र भुइँको काम भदौ मसान्तभित्र, राष्ट्रियसभाको कार्तिक पहिलो साता र केन्द्रीय लबीको असोज मसान्तभित्र सम्पन्न गर्नुपर्ने छ । 

यस्तै फर्निसिङ खरिद, निर्माण आपूर्ति र जडान मङ्सिर मसान्तभित्र सक्नुपर्ने, आन्तरिक बत्तीहरू खरिद आपूर्ति र जडान असोज दोस्रो साताभित्र, कन्फेरेन्स, सेक्युरिटी सिस्टम असोज दोस्रो साताभित्र सक्नु पर्ने उल्लेख छ । 

त्यसैगरी स्थानीय रूपमा निर्मित मूर्ति खरिद आपूर्ति र जडान मङ्सिर दोस्रो साताभित्र सक्नुपर्ने  छ । 

अन्तिम निरीक्षण परीक्षण र सञ्चालन पुस पहिलो साता सम्पन्न गरी पुसको दोस्रो साता आयोजनालाई हस्तान्तरण गर्नुपर्ने कार्यतालिका छ । 

  • यस्तो छ जनशक्ति परिचालनको कार्यतालिका 

यस्तै निर्माणमा आवश्यक जनशक्ति परिचालनका लागि समेत प्रतिदिन संलग्न हुनुपर्ने सङ्ख्या तोकिएको छ । असार १६ गतेदेखि साउन १५ गतेसम्म प्रतिदिन ३५० जना जनशक्ति हुनुपर्ने उल्लेख गरिएको छ । यसमध्ये सिभिल वर्कका लागि २३८, प्लम्बिङ १२, एचभीएसी वर्क २६, फायर फाइटिङ वर्क २५, इलेक्ट्रिकल २५, फायर आलर्म १४ र न्यू आइटम वर्कका लागि १२ जना दैनिक परिचालन गरिनुपर्ने उल्लेख छ । 

साउन १६ देखि भदौ १५ गतेसम्म, भदौ १६ देखि असोज १५ सम्म ४९० र असोज १६ देखि कार्तिक १५  सम्म दैनिक ४९० का दरले जनशक्ति परिचालन गर्नुपर्ने निर्देशन छ । यसमध्ये सिभिल वर्कका लागि ३४४, प्लम्बिङ ४, एचभीएसी वर्क ३०, फायर फाइटिङ वर्क ६०, इलेक्ट्रिकल २५, फायर आलर्म १२ र न्यू आइटम वर्कका लागि १५ जनाका दरले दैनिक जनशक्ति परिचालन गरिनुपर्ने उल्लेख छ ।  

यस्तै कार्तिक १६ देखि मङ्सिर १५ गतेसम्म ५९० जनशक्ति परिचालन गर्नुपर्ने उल्लेख छ । यसमध्ये सिभिल वर्कका लागि ४३२, प्लम्बिङ २३, एचभीएसी वर्क ३३, फायर फाइटिङ वर्क २०, इलेक्ट्रिकल ५८, फायर आलर्म १२ र न्यु आइटम वर्कका लागि १२ जना दैनिक परिचालन गरिनुपर्ने उल्लेख छ ।

मङ्सिर १६ देखि पुस १६ सम्म २०० जना परिचालन गर्नुपर्ने छ । यसमध्ये यसमध्ये सिभिल वर्कका लागि १३१, प्लम्बिङ ९, एचभीएसी वर्क १२, इलेक्ट्रिकल ४३ र फायर आलर्म ५ जना दैनिक जनशक्ति परिचालन गरिनुपर्ने छ ।

साथै दैनिक प्रयोग गर्ने सामग्रीसमेत कार्यतालिकाअनुसार निर्माण गरिएको जनाइएको छ । 

  • ८६ प्रतिशत भौतिक प्रगति, इन्टेरियरको काम न्यून 

यसको हालसम्मको भौतिक प्रगति ८६ प्रतिशत छ । कुल लागतको ७७.२६ प्रतिशत अर्थात् ४ अर्ब ८७ करोड रुपैयाँ बराबर वित्तीय प्रगति भएको छ ।

भौतिक प्रगतिअनुसार इन्टेरियर कार्य न्यून देखिन्छ । यसको इन्टेरियर कार्यको भौतिक प्रगति २१ प्रतिशत मात्रै छ । यस्तै १९.५१ प्रतिशत वित्तीय प्रगति छ । 

२ अर्ब ३४ करोड ५४ लाख (भ्याट सहित) भवनको इन्टेरियरका लागि ०८० असार १७ गते केसी श्यामसुन्दर बानियाँ जेभीसँग ०८१ असार १६ गते निर्माण सम्पन्न गर्ने गरी सम्झौता थियो र तर सो अवधिमा नसकिएपछि म्याद थप गरिएको थियो । उक्त म्यादमा पनि नसकिएपछि फेरि दोस्रो पटक ०८२ पुस १६ गते सम्मका लागि म्याद थप गरिएको जनाएको छ ।  

२०७६ असोज १६ गते सम्झौता गरिएको यो भवन ०७६ असोज १ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास भएको थियो । र बहुवर्षीय (आईसीबी) ठेक्काअनुसार टुन्डी–सेक जेभीलाई निर्माणको जिम्मा दिइएको थियो । 

सम्झौता रकम ५ अर्ब ६७ करोड २७ लाख रुपैयाँ (भ्याट सहित) रहेको यो भवन ०७९ असोज १६  गते सम्पन्न गर्नुपर्ने हो । तर उक्त अवधिमा निर्माण सम्पन्न हुन सकेन । पछि यसको लागत ६ अर्ब २९ करोड भ्याट र भेरिएसनसहित पुगेको छ । 

प्रारम्भिक सम्झौता अनुसार ०७९ असोज १६ गते निर्माण सम्पन्न हुनुपर्नेमा कोरोना महामारीका कारण ढिलाइ भएको भन्दै पहिलोपटक उक्त ठेक्काको म्याद थपिएको थियो । ६ महिना म्याद थप गरिएपछि निर्माण सम्पन्न गर्नुपर्ने अवधि ०८० वैशाख १४ गते कायम भएको थियो ।

पहिलोपटक म्याद सकिँदा निर्माण सम्पन्न नभएपछि कुनै पनि कारणविना दोस्रो पटकका लागि फेरि ६ महिना म्याद थप गरिएको थियो । यसपछि म्याद थपेर ०८० साल असोज १६ गते पुर्‍याइएको थियो । यो अवधिसम्म जम्मा ६० प्रतिशत प्रगति भएको थियो ।

तेस्रो पटक ०८० असोज २० गतेदेखि सोही वर्षको चैत १९ गतेसम्म म्याद थपिएको थियो । चौथो पटक थपिएको म्याद अनुसार ०८१ चैत १८ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर सो अवधिमा निर्माण सम्पन्न गर्न नसकेपछि पाँचौँ पटक ०८२ पुस १६ गतेसम्मका लागि म्याद थप गरिएको हो । 

  • म्याद थप्नुको कारण  

पाँचौँ पटक म्याद थप गरिएको यो संसद् भवनलाई राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिले ०८१ जेठ २८ गते ‘आउँदो अधिवेशन सो नयाँ सङ्घीय संसद् भवनबाट सञ्चालन गर्न सकिने गरी म्याद थप गर्न’ निर्देशन दिइएको थियो । सोहीअनुसार आगामी पुस १६ गतेसम्म विभागीय प्रमुखबाट म्याद थपिएको ठाकुरको भनाइ छ ।  

यस्तै सार्वजनिक खरिद नियमावलीको १४ औ संशोधनमा भएको व्यवस्थाबमोजिम निर्माण व्यवसायीले दिएको निवेदन, निर्माण व्यवसायीले पेस गरेको संशोधित कार्यतालिका प्रतिबद्धता, बाँकी निर्माण कार्य सम्पन्न गर्न लाग्ने समयको मूल्याङ्कन गरी विभागीय प्रमुखबाट०८२ पुस १६ गतेसम्मका लागि म्याद थप गरिएको हो ।

#नयाँ संघीय #संसद् भवन संसद् भवन #संघीय संसद #निर्माण कार्य

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here