नयाँ गठबन्धन शुद्ध छैन, विवादित मान्छे पनि छन्: उपाध्यक्ष भुसाल
नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले वर्तमान सत्तारुढ गठबन्धनमा विवादित मान्छे पनि भएकाले शुद्ध नभएको टिप्पणी गरेकी छिन्।
शुक्रबार अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान सत्तारुढ गठबन्धन शुद्ध नभएको बताएकी हुन्।
उनले गठबन्धनमा विवादित मान्छे पनि भएको भन्दै बहुमत पुर्याउनका लागि विवादित मान्छेसँग गठबन्धन गर्नुपरेको सुनाइन्।
‘नयाँ गठबन्धन बन्यो। त्यो पनि शुद्ध त छैन। केही मान्छे त विवादित छन्। हाम्रो संख्या पुग्दैन। गठबन्धन गर्नुपर्छ। बहुमत पुर्याउनुपर्छ। यो बाध्यता त हुन्छ। तर त्यहाँ पनि कुनै गल्ती, कमजोरी देखिएमा नछोप्ने, छुट नदिने प्रतिबद्धता गरेर नयाँ गठबन्धनको सरकार भएको छ। यसले एउटा राजनीतिमा राष्ट्रिय रुपमा मात्रै होइन, अन्तर्राष्ट्रिय रुपमा पनि हलचल ल्याएको छ।’ उनले भनिन्।
उपाध्यक्ष भुसालले वर्तमान गठबन्धन विगतको भन्दा सजातिय भएको पनि जिकिर गरिन्। उनले गठबन्धनमा वामपन्थीहरुको बाहुल्यता रहेकाले काम गर्न सजिलो हुने बताइन्।
दीर्घकालसम्म देशमा दुई वटा कम्युनिस्ट पार्टीहरु समानान्तर ढंगले जान नसक्ने भन्दै उनले भनिन् ‘सहकार्यलाई पार्टी एकताको चरणसम्म पुर्याउनुपर्छ। देशमा एउटा वामपन्थी धार र अर्को प्रजातान्त्रिक धार हुनुपर्छ।’
उपाध्यक्ष भुसालले महिलाहरुले ५० प्रतिशत अधिकार प्राप्तिका लागि सङ्घर्ष जारी राख्नुपर्नेमा जोड दिइन्।
प्रतिक्रिया दिनुहोस्