नमोबुद्ध परिसरलाई विश्व सम्पदा सूचीमा राख्न पहल

२५ पुस, काभ्रे । ऐतिहासिक एवं पर्यटकीय स्थल नमोबुद्ध परिसरलाई विश्व सम्पदा सूचीमा राख्न पहल थालिएको छ । नमोबुद्ध नगरपालिकाको दोस्रो नगरसभाको दोस्रो अधिवेशनले नमोबुद्ध–११ स्थित धार्मिक, ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक, वातावरणीय तथा प्राचीन महत्त्व बोकेको नमोबुद्धलाई मौलिक स्वरूप कायम गर्दै विश्वसम्पदामा सूचीकृत गर्न प्रस्ताव बढाउने निर्णय गरेको हो । 

नगरपालिकाले निर्माण गरेको दीर्घकालीन गुरुयोजनालाई सम्बन्धित सरोकारवालाको सहकार्य, सहयोग र समन्वयमा थप परिमार्जन गर्ने पनि निर्णय भएको छ । नगरपालिकाले यसअघि नै गुरुयोजना बनाएर काम अघि बढाएको छ भने सरोकारवालासँग पटक–पटक छलफल चलाइसकेको छ ।

frontline

यस्तै, काभ्रेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक नगर पनौती पनि विश्व सम्पदामा सूचीकृत हुने प्रक्रियामा छ । पनौती युनेस्कोद्वारा २५ वर्षअघि प्रस्ताव गरिएको क्षेत्र हो । नगर प्रमुख रामशरण भण्डारीका अनुसार नगरले २०७८ असोजमा मन्त्रिपरिषद्मा प्रस्ताव दर्ता गराएको थियो ।

‘त्यसपछि नै नगरपालिकाले फलोअप गरिरहे पनि सरकारबाट कुनै प्रतिक्रिया आएको छैन,’ उनले भने, ‘मन्त्रिपरिषद्को निर्णय कुरेर बसेका छौँ, त्यहाँबाट निर्णय भएसँगै सूचीकृतको कार्य अघि बढ्छ ।’

युनेस्कोको नेपालस्थित निकायले २०५२ सालमै पनौती मध्यकालीन वास्तुकला क्षेत्र भएको जनाउँदै विश्व सम्पदामा सूचीकृत गर्न प्रस्ताव गरेको थियो । २०५४ सालमा मन्त्रिपरिषद् बैठकले प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अन्तर्गत रहेर साबिक पनौती गाविसलाई प्राचीन स्मारक क्षेत्र घोषणा गरेको थियो ।

त्यसयता उक्त विषयमा प्रभावकारी काम हुन सकेन । लामो समय जनप्रतिनिधि नहुँदा पनौतीको पहिचान बोकेका घर पुनर्निर्माण हुँदा मौलिक शैलीमा बनेनन् । जसले पनौतीलाई विश्व सम्पदा सूचीमा राख्‍नुपर्ने दाबीलाई कमजोर बनाएको सरोकारवाला बताउँछन् ।

२०७४ यता नगरपालिकाले प्रक्रियालाई क्याबिनेटसम्म लाने काम अघि सारेको उपप्रमुख गीता बञ्जराले बताइन् । ‘२०७६ सम्म नगरपालिकाले प्रस्तावलाई क्याबिनेटसम्म पुर्‍याउने काम भयो, तर सरकार फेरबदलका कारण नगरबाट पेस भएका फाइल क्याबिनेटबाट अघि बढ्न सकेन,’ उनले भनिन् ।

पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्ने कार्य अघि बढाइएपछि युनेस्कोको नेपाल प्रमुख क्रिस्टियन मनहर्टको टोलीले यहाँका ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विकलगायत सम्पदाको अवलोकन गरेको थियो । त्यसपछि ७२ वटा घरको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार पारी मौलिक शैलीमा रूपान्तरण गर्ने काम भइरहेको नगरपालिकाले जनाएको छ ।

सम्पदामैत्री ढाँचामा बनिरहेका नयाँ घरका लागि नगरपालिकाले सहयोग गरिरहेको छ । २०७४ मै सम्पदामैत्री घर बनाउनेलाई वर्गफिटअनुसार अनुदान दिने व्यवस्था गरिएको थियो ।

अहिले नगरको वडा नं ७ स्थित स्मारक क्षेत्रमा मौलिक शैलीका घर निर्माणले तीव्रता पाएको नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here