धुलिखेल-नगरकोट पर्यटकीय सडक कालोपत्रे गरिँदै

काभ्रेपलाञ्चोकको पर्यटकीय क्षेत्र धुलिखेल र नगरकोट जोड्ने सडक निर्माण कार्य अगाडि बढाएसँगै सो सडकखण्ड कालोपत्रे गर्ने काम अगाडि बढेको छ ।

वाग्मती प्रदेश सरकारले धुलिखेल–नगरकोटलाई जोड्ने पर्यटकीय सडक मार्गलाई पहिलो प्राथमिकतामा राखेर निर्माणको कामलाई अगाडि बढाएको हो ।

frontline

वाग्मती प्रदेश भौतिक पूर्वधार विकास मन्त्रालयको आर्थिक सहयोगमा अहिले सो सडकको धुलिखेल नगरपालिका–३ को बाँसघारी हुँदै गोसाइँस्थान–टनचोक–काँसीभञ्ज्याङ–नगरकोट सडकखण्डअन्तर्गत बाँसघारीदेखि गोसाइँस्थानसम्म निर्माण गरेको सडकखण्डको कालोपत्रे गर्ने काम भइरहेको छ ।

बनेपा नगरपालिका–६ का स्थानीय भेषराज शाहले प्रदेश सरकारले धुलिखेल–नगरकोट जोड्ने पर्यटकीय सडकको काम अगाडि बढाएपछि स्थानीय व्यवसायीलाई मात्रै फाइदा नभई धार्मिक रूपले महत्वपूर्ण रहेको गोसाइँस्थान क्षेत्रका लागि समेत ठूलो सहयोग पुगेको बताए ।

पक्की सडक बनेसँगै होटल व्यवसायको साथमा नैमिसारण्य गुरुकुल शिक्षा र गोसाइँस्थानको धार्मिक क्षेत्रको सम्भावना अझ बढेको उनको भनाई छ । ुस्थानीयवासीको पनि अर्थोपार्जनमा धुलिखेल–नगरकोट पर्यटकीय सडकले अर्को फाइदा पुर्‍याइएको छ । अर्का स्थानीय गणेश भारतीले पक्की सडक बनेपछि व्यवसायलाई अगाडि बढाउन थप मद्दत पुगेको बताए ।

त्यस्तै बनेपा नगरपालिका–६ का स्थानीय पदमनाथ ढुङ्गानाले बनाएको पक्की सडक मापदण्डअनुसारको गुणस्तरीय सामान नै प्रयोग गरेको पाइएको बताए । निर्माण भइरहेको सडक खण्डको पहिलो चरणमा सो कार्यका लागि प्रदेश सरकारले रु तीन करोडको बजेट व्यवस्थापन गरेको वाग्मती प्रदेशसभा सदस्य वसुन्धरा हुमागाईंले बताइन् ।

जिल्लाको धुलिखेल, बनेपा र मण्डनदेउपुर नगरपालिका गरी तीन नगरपालिकालाई जोड्ने सो सडक खण्ड निर्माण कार्य सम्पन्न भएपछि पर्यटकीय क्षेत्रको विकाससँगै त्यसले व्यावसायिक रूपले स्थानीयवासीको समेत आर्थिकस्तरमा वृद्धि हुने र जीवनस्तर उकास्ने अपेक्षा गरिएको छ ।

पर्यटनको लागि अति महत्वपूर्ण सडक भएकाले सो सडक सम्पन्न भएपछि नगरकोटको पर्यटकलाई धुलिखेलसम्म ल्याउन र त्यहाँबाट प्रसिद्ध धार्मिकस्थल नमोबुद्धसम्म जानका लागि निकै सहज हुने बताइएको छ ।

सडकलाई प्राथमिकतामा राखेर क्रमागत योजनाको रूपमा विकास गर्ने र बहुवर्षीय योजनाको रुपमा स्वीकृत गरेर लैजाने विषयमा कुरा भइरहेको प्रदेशसभा सदस्य हुमागाईंले बताइन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here