धानमा बाला नलागेको भन्दै किसानहरुले माइतीघर मण्डलामा प्रदर्शन

१६ कात्तिक, काठमाडौं । धानमा बाला नलागेको भन्दै किसानहरुले मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । उचित क्षतिपूर्ति माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

काठमाडौं दहचोककी जयन्ती भण्डारी पनि प्लेकार्डसहित प्रदर्शनमा सहभागी थिइन् । उमेरले ५१ वर्ष पुगेकी जयन्तीको हातमा किसानलाई राहात र उचित क्षतिपूर्ति देउ भन्ने नारा लेखिएको प्लेकार्ड थियो । कृषि पेशाको लामो भोगाइमा पहिलो पटक आफूले खेतमा लगाएको धानमा यस वर्ष बाला नलागेको गुनासो उनकाे थियो ।

frontline

दहचोकको दुई रोपनी क्षेत्रफलमा लगाइएको धानमा यस वर्ष बाला लगेन,’ भण्डारीले भनिन्, ‘पाँच मुरी धान फल्ने खेतमा यस पटक दुई बोरा पनि धान फलेन ।’ गाउँका सबैले बिउ लगेको पसलबाटै लगेर धान रोपेको र अहिले सबैको धानमा दाना नलागेको उनले बताइन् ।

ललितपुरको चपागाउँका किसान रामहरी घिमिरेको गुनासो पनि जयन्तीको जस्तै छ । उनले लगाएको धानबालीमा पनि यो वर्ष दाना लागेन । बढी फल्छ भनेर नयाँ प्रजातीको हाइब्रिड धान लगाएको तर धान पाक्ने बेला धानको बाला न निहुरिएपछि छामेर हेर्दा दाना नै नलागेको भेटिएको उनको गुनासो छ ।

‘पाँच रोपनीमा लगाएको धानको बोट सग्लो छ तर दाना छैन,’ घिमिरे गुनासो गर्छन् । किसानले यस वर्ष लगाएको डीवाई २८ प्रजातीको धानमा धेरै समस्या देखिएको घिमिरेको दाबी छ । आफ्नो क्षेत्रमा खुमल ८ र टाइचिन प्रजातीको धानमा पनि पुष्ट दाना नलागेको उनले बताए ।

प्रदर्शनमै आएका मातातीर्थकी रोजु थापाको गुनासो पनि उस्तै छ । मातातिर्थमा दुई रोपनी क्षेत्रफलमा लगाइएको धानमा भुस मात्रै रहेको उनले बताइन् । पाँच रोपनी खेतमा टाइचिन धान लगाएको भएपनि आधामा मात्रै दाना लगेको थापाको गुनासो छ । प्रर्दशनमा काठमाडौं उपत्यका भरका किसान प्रतिनिधिहरु सहभागी छन् ।

उपत्यकाका ५ सय रोपनी धानमा समस्या

प्रर्दशनमा सहभागी किसानहरुका अनुसार उपत्यकाका तीन वटै जिल्लामा लगाइएको धानमा समस्या देखिएको छ । धानमा बाला नलाग्ने समस्याबाट भक्तपुरको तेलकोटका किसान सबैभन्दा धेरै प्रभावित भएका छन् । काठमाडौंको मातातिर्थ, दहचोकको र ललितपुरको चापगाउँ क्षेत्रका किसानले लगाएको धानमा पनि दाना लागेको छैन ।

नफलेको धानको मूठोसहित प्रर्दशनमा उत्रिएका किसानहरुले झुक्याएर नफल्ने धानको बिउ बेच्ने बिक्रेतालाई कारबाही गर्न माग गरेका छन् । किसानलाई उचित क्षतिपूर्ती दिन, साना किसानको ऋण मिनाहा गर्न पनि उनीहरुले सरकारसँग आग्रह गरेका छन् । कृषि सूचना प्रणाली प्रभावकारी बनाउन र गुणस्तरीय मल बिउ उपलब्धताका लागि पनि उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

विज्ञ भन्छन् : किसानकै गल्ती 

धान नफलेको बारे अनुसन्धान गरिरहेको राष्ट्रिय कृषि अनुसन्धान परिषद् र बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रको प्रारम्भिक अनुसन्धानमा किसानले गलत धानको बिउ रोजेको पाइएको छ । धेरै फल्ने लोभमा सरकारले सिफारिस नै नगरेको धान किसानले लगाएको पाइएको नार्ककका धानविज्ञ डा. सुशिल सुवेदीले बताए ।

समुन्द्री सतहबाट ७ सय मिटरसम्म मात्रै उपयुक्त भनी सिफारिस गरिएको डीवाई २८ चाइनिज धान उपत्यकामा लगाइएको भेटिएको सुवेदीको भनाइ छ । ‘भक्तपुरको तेलकोट भन्दा माथी हामीले स्थलगत अध्ययन गरेका थियौं, ठूलो क्षेत्रफलको धानको बालामा भुस मात्रै छ । एउटा बालामा ३ देखि ४ वटा मात्रै धानका गेडा पाईयो,’ धानविज्ञ डा. सुवेदीले भने ।

अघिल्लो वर्ष यही धान धेरै फलेको भन्दै किसान किसान बीचको गलत सञ्चारले उक्त धान धेरै किसानले लगाएको पाइएको उनले बताए । ‘कुनै वर्ष फल्यो भन्दैमा सधैं फल्छ भन्ने वैज्ञानिक ग्यारेन्टी नहुने भएकाले नै सिफारिस नै नगरिएको बिउ लगाउनु हुन्न तर यहाँ किसानले सोही धान लगाएको पाइयो,’ डा सुवेदीले भने । यसबाहेक धानलाई असर पुर्‍याउने अरु कुनै कारण भए पत्ता लगाउन धानको डीएनए अनुसन्धान गर्न गर्न राष्ट्रिय कृषि अनुसन्धान परिषद् र बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्रले तयारी थालेको सुवेदीले जानकारी दिए ।

कृषि सूचना प्रभावकारी बनाऊ

धान किसानले व्यहोरोको समस्याको स्वमित्व सरकारले पनि लिनु पर्ने राष्ट्रिय कृषक महासंघको भनाइ छ ।

कृषकले सह कृषि सूचना नपाएका कारण यो अवस्थाको क्षतिको अवस्था सिर्जना भएको महासंघका अध्यक्ष उद्धव अधिकारी बताउँछन् । कहिले गरिमा धान त , कहिले डीवाई २८ आखिर पीडित हुने त किसान नै हुन,’ अधिकारी भन्छन्, ‘यसले समग्र अर्थतन्त्रलाई असर गर्ने भएकाले किसानलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गरिनु पर्छ ।’ गलत बिउ बिक्रीलाई नियमन गर्न सरकारले काम गर्नु पर्ने भन्दै उनले रैथाने प्रजातिको बिउको प्रवर्द्धन गर्न ढिलाइ गर्न नहुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here