धवलागिरी गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडकको यात्रा जोखिमपूर्ण

२५ पुस, बेनी ।  म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धवलागिरी गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडकको यात्रा जोखिमपूर्ण बनेको छ ।

बादिकाको उकालोमा नयाँ वैकल्पिक सडक निर्माण गर्न पूर्वाधार विकास कार्यालय, स्थानीय प्रशासन, सुरक्षा निकाय र धवलागिरी गाउँपालिकाले पुष १३ गतेदेखि दरबाङ–धारापानी–ताकम हुँदै मुना जोड्ने सडकमा अनिश्चितकालका लागि सवारी आवत जावत बन्द गरेका थिए । 

frontline

विकल्पकोरुपमा सञ्चालन गरिएको दरबाङ–खारा–भारबाङ–ताकम–मुना वैकल्पिक सडक अन्तरगत मालिका र धवलागिरी गाउँपालिकाको सिमानामा पर्ने भारबाङस्थित म्याग्दी नदीमा पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्नुपरेको हो ।  

गाउँपालिकाका र निर्माण कम्पनीले म्याग्दी खोलामा सात वटा ह्युम पाइप राखेका थिए । तर खोलाको पानी ह्युम पाइप भन्दा बाहिरबाट बगेको हुनाले जिप, बस, मोटरसाइकल र ट्याक्टर आवत जावत गर्न जोखिम भएको यातायात व्यवसायी ओम बिकले बताए । 

सवारी साधनका इञ्जिन पानीमा डुब्ने र मोटरसाइकलाई खोलाले बगाउने खतरा रहेको उनले बताए ।

भारबाङदेखि ताकम जोड्ने सडकमा ग्रेड र घुम्ति नमिलेकाले सवारी चलाउन अप्ठ्यारो भएको बस चालक राम्जी थापाले बताए । 

झारबाङ घाटमा पूर्वाधार विकास कार्यालयले ४० मिटर लामो पक्कि पुल पनि निर्माण गरिरहेको छ । गत असारमा सम्पन्न गर्ने लक्ष्य राखिएको पुलको दुई तर्फ पिल्लर मात्र ठडिएको छ ।

धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले म्याग्दी खोलामा थप ह्युम पाइप राख्न, सडक मर्मत गर्न र मोटरेबल पुल निर्माणलाई पूर्णता दिन सम्बन्धित निर्माण कम्पनीलाई ताकेता गरिएको बताइन् । 

बिस २०७५मा मार्ग खोलिएपनि दरबाङ-बिम-ताकम-मुना सडकमा पर्ने म्याग्दी नदीमा मोटरेबल पुल नहुँदा यातायातका साधन सञ्चालन हुन सकेको थिएन् । बर्खा अघिनै म्याग्दी नदीमा मोटरेबल पुल निर्माण सकेर सडक सञ्चालन गर्ने गाउँपालिकाको योजना छ । 

पूर्वाधार विकास कार्यालय म्याग्दीसंग २०७६ चैत ४ गते १४ करोड ३८ लाख ६७ हजार १७६ रुपैयाँमा ठेक्का सम्झौता गरेको धुलीखेल–ब्राइट–कुवर जेभीले बादिकाको उकालोमा वैैकल्पिक सडक निर्माण गरिरहेको छ । 

यसअघि मार्ग खोल्न बनाइएको सडक धेरै उकालो र ग्रेड नमिलेकाले जोखिमयुक्त भएकोहुँदा दुई वटा घुम्ति थपेर करिव चार सय मिटर नयाँ मार्ग निर्माण गर्न लागिएको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले बताए । 

आगामी चैत ४ गतेसम्म ठेक्का अवधि भएको आयोजना अन्तरगत सडक फराकिलो बनाउने, ग्रेड तथा घुम्ति सुधार र पर्खाल निर्माण भइरहेको छ ।

दरवाङको म्याग्दी खोला मोटरेबल पुल देखि दङखोला सम्मको खण्डमा बिस्तार र पर्खालको काम सकेर नाली बनाइरहेको छ । 

दरबाङदेखि धारापानी गाउसम्मको सात किलोमिटर सडक स्तरोन्नति हुन लागेको हो । दरवाङ-दाङखोला-ताकम-मुना-ढोरपाटन सडक आयोजनालाई गण्डकी प्रदेश सरकारले (क) वर्गमा राखेको छ ।

सबै स्थानीय तहका केन्द्र जोड्ने सडकलाई स्तरोन्नति गर्ने प्रदेश सरकारको घोषणा अनुसार यो आयोजना सञ्चालन भएको हो ।

पहिलो चरणमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको धारापानी सम्मको सडक स्तरोन्नतिको हालसम्मको प्रगति ३६ प्रतिशत छ ।

स्तरोन्नति गरेर सडकलाई ८ मिटर फराकीलो बनाइने भएको छ । ग्राबेल गरिने सडकको ग्रेड र घुम्ति मिलाउनुका साथै ग्यावीन, मेसिनरी पर्खाल निर्माण र केही ठाउँमा ढलान गर्ने लक्ष्य छ । 
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here