द्वन्द्व रोक्न किन तम्सियो अमेरिका ?

कश्मीरमा सहयोग गर्ने ट्रम्पको प्रस्ताव, भारत मौन

नयाँ दिल्ली । भारत र पाकिस्तानले शनिबार अर्को देशले आफ्नो सैन्य हवाई अड्डाहरूमा आक्रमण गरेको र क्षति पुर्‍याएको दाबी गरेका छन् । यतिबेला दुई देशबिचको तनाव चरम सीमामा छ । 

frontline

यसैबिच, अमेरिकी विदेशमन्त्री मार्काे रुबियो र उपराष्ट्रपति जेडी भान्स सक्रिय भए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफ, भारतीय विदेशमन्त्री एस जयशंकर र पाकिस्तानी सेना प्रमुख असिम मुनीरसँग कुराकानी गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार दिउँसो तीनै सशस्त्र सेनाका प्रमुखहरूसँग भेटघाट गरे । 

पाकिस्तानसँग जारी द्वन्द्व अन्त्य गर्ने भारतको तर्फबाट यो पहिलो संकेत थियो । दिउँसो करिब ३ः३० बजे, पाकिस्तानका डीजीएमओ (सैन्य अपरेसनका महानिर्देशक)ले भारतका डीजीएमओसँग फोनमा कुरा पनि गरे । यस वार्तामा दुवै देशले जमिन, वायु र जल क्षेत्रबाट एकअर्काविरुद्ध सैन्य कारबाही रोक्न सहमति जनाएका छन् । भारत–पाकिस्तान द्वन्द्वको बारेमा आइतबार साँझ तीनै सेनाले पत्रकार सम्मेलन गरे । यद्यपि, भारत र पाकिस्तानबिचको युद्धविरामबारे पहिलो जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका थिए ।

cc6f63d0-2ef6-11f0-9c78-7758db916956.jpg

डोनाल्ड ट्रम्पले शनिबार साँझ ५ः३० बजे आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा एक पोस्टमा भारत र पाकिस्तानबिच युद्धविरामको घोषणा गरे । अनि रातभर चलेको वार्तामा मध्यस्थता गरेको दाबी अमेरिकाले गरेको छ । दुवै देशलाई बधाई दिँदै ट्रम्पले लेखे, ‘यो संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको रातभरको वार्तापछि भएको हो ।’ भारत र पाकिस्तानबिच युद्धविरामको यो पहिलो सार्वजनिक घोषणा थियो, जुन भारत र पाकिस्तानबाट आधिकारिक बयान आउनुभन्दा पहिले गरिएको थियो । यसको लगत्तै, पाकिस्तानका विदेशमन्त्री इशाक दारले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा युद्धविरामको पुष्टि गरे । अमेरिका, साउदी अरेबिया र बेलायत सहित ३० भन्दा बढी देशहरू कूटनीतिक प्रयासमा संलग्न रहेको उनले  बताए ।

437fe3a0-2ef7-11f0-8ff1-59f5dcf8e9f5.jpg
  • भारतले गरेन अमेरिकाको नामको उल्लेख 

भारतका विदेश सचिव विक्रम मिश्रीले शनिबार साँझ ५ः४५ बजे मिडिया ब्रिफिङ गर्दै दुई देशबिच लडाइँ रोक्न भएको सम्झौताबारेमा जानकारी दिए । विक्रम मिश्रीले पाकिस्तानका डीजीएमओले भारतीय डीजीएमओलाई गरेको फोन वार्तापछि दुई देशबिच द्विपक्षीय सहमति भएकोमा जोड दिए । उनले अमेरिका वा अन्य कुनै देशको नाम लिएनन् । 

3bca34c0-2ef8-11f0-8f57-b7237f6a66e6.jpg

यसपछि, भारतको सूचना मन्त्रालयले पाकिस्तानसँग थप वार्ताको बारेमा कुनै निर्णय नभएको जोड दियो । भारतीय विदेशमन्त्री एस जयशंकरले शनिबार साँझ ६ बजे एक विज्ञप्ति जारी गर्दै युद्धविरामको पुष्टि गर्दै, आतंकवादमा भारतको कडा अडान दोहोर्‍याउँदै र भारत र पाकिस्तानबिच द्विपक्षीय सहमतिको बारेमा कुरा गरेका छन् । 

  • द्वन्द्व रोक्न किन तम्सियो अमेरिका ? 

यदि यो द्वन्द्व अझ बढ्यो भने पाकिस्तानले केही कदम चाल्न सक्ने अनि यसले स्थितिलाई अझ गम्भीर बनाउन सक्ने अमेरिकाको सबैभन्दा ठुलो चिन्ता भएको विश्लेषकहरू मान्दछन् । जवाहरलाल नेहरु विश्वविद्यालयका पूर्व प्राध्यापक तथा अन्तर्राष्ट्रिय मामिलाका विज्ञ प्राध्यापक चिन्तामणि महापात्र भन्छन्, ‘यदि यो द्वन्द्व झनै चर्कियो र पाकिस्तानी सेनाको लागि अवस्था गम्भीर भयो भने पाकिस्तानले कुनै पनि कदम चाल्न सक्छ भन्ने कुरामा अमेरिका चिन्तित थियो । यस्तो देखिन्छ कि अमेरिकाले पाकिस्तानी सेनालाई डीजीएमओ मार्फत भारतसँग वार्ता गर्न दबाब दियो ।’ 

f8113610-2ef8-11f0-8f57-b7237f6a66e6.jpg

पूर्व भारतीय कूटनीतिज्ञ तथा अन्तर्राष्ट्रिय मामिला विज्ञ राजीव भाटिया पनि भारत र पाकिस्तानबिचको द्वन्द्व बढ्दै गएकोमा अमेरिका चिन्तित भएको र परिस्थिति गम्भीर बन्दै जाँदा अमेरिकाले कूटनीतिक प्रयास तीव्र पारेको ठान्दछन् । भाटिया भन्छन्, ‘हरेक तहमा भारतले यही भनिरहेको थियो कि पाकिस्तानले यो मुद्दालाई अगाडि बढाएन भने हामी रोकिनेछौँ । तर जब परिस्थितिमा सुधार भएन तब यो स्पष्ट भयो कि अब स्थिति धेरै गम्भीर भएको छ । सार्वजनिक रूपमा अमेरिकाले यो भारत र पाकिस्तानबिचको लडाई हो भनेर भन्दै आएको हुन सक्छ, दुवै देशले आफैँले समाधान खोज्नुपर्छ, तर पर्दा पछाडिबाट यसलाई रोक्न खोजिरहेको थियो । अमेरिकाको यी प्रयासहरूका कारण यो द्वन्द्व रोकिएको छ ।’ 

पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले अमेरिकालाई खुलेआम धन्यवाद दिएका छन् । तर भारतले यसबारे केही बोलेको छैन । यस विषयमा प्राध्यापक महापात्र भन्छन्, ‘पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ पनि चाहन्थे कि कसैले हस्तक्षेप गरोस् र युद्धविराम घोषणा होस् । यो स्पष्ट छ कि पाकिस्तानले अमेरिकालाई धन्यवाद दिइरहेको छ । तर भारतले कसैसँग युद्धविराम मागेको थिएन् । पाकिस्तानले नै तनाव कम गरोस् भन्ने भारतले चाहेको उनको बुझाई छ । ‘यो अभियान पाकिस्तानको सेना वा आम जनताको विरुद्धमा नभएर आतंकवादको विरुद्धमा हो भन्ने भारतको अडान पहिले नै स्पष्ट थियो । भारतले अमेरिकालाई धन्यवाद दिएको छैन किनभने यस अवस्थामा अमेरिकाले भारतको लागि केही गरेको छैन ।’ उनले भने । 

  • कश्मीरमा सहयोग गर्ने ट्रम्पको प्रस्ताव

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे ११ मा ट्रुथ सोसलमा जारी गरेको एक विज्ञप्तिमा भारत र पाकिस्तानको बलियो नेतृत्वलाई आक्रमण रोक्ने काममा फेरि एक पटक बधाई दिएका छन् । यस वक्तव्यमा ट्रम्पले भनेका छन्, ‘हजार वर्षदेखि विवादित रहेको कश्मीर मुद्दा समाधान गर्न म यी दुई महान राष्ट्रहरूसँग काम गर्न तत्पर छु, ताकि यस क्षेत्रमा शान्ति र समृद्धि कायम रहोस्, र अमेरिका र विश्वका अन्य देशहरूसँग व्यापार बढ्न सकोस् ।’ आफ्नो दोस्रो वक्तव्यमा ट्रम्पले कश्मीर मुद्दाको समाधानको बारेमा कुरा गरेका छन् । कश्मीर एउटा यस्तो मुद्दा हो जसमा भारतले कुनै पनि तेस्रो देशको मध्यस्थता स्वीकार गर्दैन । 

627b0850-2ef9-11f0-9c78-7758db916956.jpg

युद्धविरामको घोषणापछि पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खुलेआम धन्यवाद दिए । तर, भारतले आफ्नो कुनै पनि सार्वजनिक बयानमा अमेरिका वा राष्ट्रपति ट्रम्पको मध्यस्थताको उल्लेख गरेन । भारतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्राथमिकता दिनबाट बचिरहेको विश्वास गरिन्छ । 

ट्रम्पले भारत र पाकिस्तान बीचको द्वन्द्व रोक्नको लागि सार्वजनिक रूपमा श्रेय लिएकोमा भारतलाई कुनै समस्या नभएको विश्लेषकहरू विश्वास गर्छन् । पूर्व भारतीय राजदूत तथा अन्तर्राष्ट्रिय मामिला विज्ञ राजीव भाटिया भन्छन्, ‘सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने अमेरिकाले भारत र पाकिस्तानबिच मध्यस्थता गरेको छैन । तर सहजीकरण गरेको छ, अर्थात् वार्ता सम्पन्न गराएको छ ।’ 

  • ट्रम्पले किन पहिले नै दिए बयान ?

ट्रम्पले आफ्नो दोस्रो बयानमा कश्मीरको मुद्दा पनि उल्लेख गरेका छन् । यो त्यस्तो विषय हो जुन भारतले अन्तर्राष्ट्रियकरण हुन दिन चाहँदैन । भारत र पाकिस्तानबिचको द्वन्द्व समाप्त भएको जानकारी ट्रम्प आफैँले दिनु र कश्मीरबारेमा टिप्पणी गर्नु भारतको मामिलामा एक प्रकारको हस्तक्षेप हो कि अतिक्रमण हो भन्ने प्रश्न पनि उठिरहेको छ । ट्रम्पले आफ्नो तर्फबाट जे पनि भन्न सक्छन्,  तर भारतले उनको कुरालाई कति महत्त्व दिन्छ भन्ने चाहिँ महत्त्वपूर्ण कुरा भएको भाटिया मान्दछन् । 

d1adad40-2ef9-11f0-8f57-b7237f6a66e6.jpg

‘ट्रम्पले पहिले युद्धविरामको घोषणा गर्नु एक प्रकारको अतिरेक हो तर अमेरिकी मिडिया धेरै सक्रिय छ र त्यसैले ट्रम्पले पहिले जानकारी साझा गरेर श्रेय लिन खोजेको हुन सक्छ ।’ राजीव भाटिया भन्छन् । ‘ट्रम्पले भविष्यमा सबै मुद्दाहरूमा छलफल गरिने बताएका छन्, कश्मीरबारे पनि छलफल गरिनेछ, तर मलाई लाग्दैन कि भारत र पाकिस्तानबिच यस्तो वार्ताको लागि कुनै सम्झौता भएको छ । ट्रम्पले एउटा ठुलो र महत्त्वपूर्ण राष्ट्रको नेतृत्व गर्छन्, उनी आफ्नो तर्फबाट भन्न सक्छन् । तर भारतले त्यही गर्नेछ जुन उसले गर्नु पर्नेछ ।’ अझ अगाडि उनले भनेका छन् । जवाहरलाल नेहरु विश्वविद्यालयका पूर्व प्राध्यापक तथा अन्तर्राष्ट्रिय मामिलाका विज्ञ प्राध्यापक चिन्तामणि महापात्र भन्छन्, ‘यदि कुनै तेस्रो देशले कश्मीर मुद्दामा हस्तक्षेप गर्न चाहन्छ भने, भारतले अस्वीकार गर्नेछ । तर यो द्वन्द्व कश्मीरको बारेमा थिएन, आतंकवादबारे थियो ।’ 

‘डोनाल्ड ट्रम्पले पहिले नै जानकारी दिए पनि, यसले भारतलाई कुनै हानि पुर्‍याएको छैन । ट्रम्पको हस्तक्षेप वा उनको अतिरेकबारे सामाजिक सञ्जालमा भइरहेका टिप्पणीहरू राजनीतिक हुन् । यस अवस्थामा, ट्रम्पलाई लिएर भारत र पाकिस्तानको प्रतिक्रिया तुलना गर्न सकिँदैन ।’ त्यसो भए के भारतले अमेरिकी प्रयासलाई बेवास्ता गरिरहेको छ वा कम आँकलन गरिरहेको छ त ? यस्तो नभएको विश्लेषकहरू विश्वास गर्छन् । अन्तर्राष्ट्रिय मामिला विज्ञ स्तुति बनर्जी भन्छिन्, ‘मलाई लाग्दैन कि भारतले अमेरिकाको प्रयासलाई कम आँकलन गरिरहेको छ । भारतले वार्ताको लागि हामी सहयोग स्वीकार गर्न सक्छौँ भनेर स्पष्ट पारिरहेको छ तर वार्ता भारत र पाकिस्तान बिच मात्र हुनेछ । र त्यसैले भारतले अमेरिकाको भनाइमा कुनै सार्वजनिक टिप्पणी गरेको छैन ।’ 

ट्रम्पले किन गरे कश्मीरको कुरा ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पोस्टमा कश्मीर मुद्दाको उल्लेख गरेका छन् र यसलाई समाधान गर्न मद्दत गर्ने प्रस्ताव गरेका छन् । भारतले यो पहललाई स्वागत गरे पनि, कश्मीर मुद्दामा भारतले कुनै पनि विदेशी देशको हस्तक्षेप स्वीकार नगर्ने विश्लेषकहरू विश्वास गर्छन् । 

अन्तर्राष्ट्रिय मामिला विज्ञ स्तुति बनर्जी भन्छिन्, ‘अमेरिकी राष्ट्रपतिको रूपमा, उनले पहिले नै रुस र अमेरिका बिच शान्ति ल्याउने, मध्य पूर्वमा शान्ति ल्याउनेबारे कुरा गरिसकेका छन् । अब उनले कश्मीरबारे कुरा गरेका छन् । यो मुद्दा भारत र पाकिस्तान बिचको हो । भारत कुनै पनि तेस्रो देशको हस्तक्षेप स्वीकार नगर्ने आफ्नो अडानमा अडिग रहनेछ ।’ यद्यपि, भारत र पाकिस्तानबिचको द्वन्द्वमा अमेरिकी राष्ट्रपतिले हस्तक्षेप गरेको यो पहिलो पटक भने होइन । कारगिल युद्धको समयमा पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफ बिल क्लिन्टनलाई भेट्न अमेरिका पुगेर भारतसँग युद्धविरामको माग गरेका थिए । त्यसपछि बिल क्लिन्टनले हस्तक्षेप गरे अनि अटल बिहारी वाजपेयीलाई युद्ध बन्द हुनुपर्ने भनेका थिए । यसपछि, भारत र पाकिस्तानले कारगिल युद्धमा युद्धविरामको घोषणा गरेका थिए । 

fb84bc80-2ef9-11f0-b26b-ab62c890638b.jpg

डोनाल्ड ट्रम्पभन्दा पहिले पनि धेरै अमेरिकी राष्ट्रपतिहरूले कश्मीर मुद्दामा हस्तक्षेप गर्ने प्रयास गरेका छन् । तर भारतले त्यस्ता प्रयासहरूलाई धेरै महत्त्व दिएको छैन । प्राध्यापक चिन्तामणि महापात्र भन्छन्, ‘डोनाल्ड ट्रम्पभन्दा पहिले पनि धेरै अमेरिकी राष्ट्रपतिहरूले कश्मीर मुद्दामा हस्तक्षेप गर्ने प्रयास गरे । पाकिस्तानले सधैँ अमेरिकालाई कश्मीर मुद्दामा हस्तक्षेप गर्न पैरवी गर्छ । तर भारतले यसलाई स्वीकार गरेको छैन । भारतले अहिले कश्मीर मुद्दामा कुनै पनि बाह्य हस्तक्षेप स्वीकार गर्दैन ।’

अमेरिकी राष्ट्रपतिको भनाइलाई पाकिस्तानले कश्मीर मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न खोजिरहेको सङ्केतको रूपमा हेर्न सकिने विश्लेषण आइरहेको छ । ‘पाकिस्तानले सधैँ कश्मीर मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न चाहेको छ । यो निश्चित रूपमा भन्न सकिन्छ कि ट्रम्पको भनाइले पाकिस्तान यस मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न सफल भइरहेको सङ्केत गर्दछ ।’ महापात्र भन्छन् । ‘पाकिस्तानलाई थाहा छ कि भारतले यस विषयमा कुनै पनि तेस्रो देशको हस्तक्षेप कहिल्यै स्वीकार गर्दैन । यस्तो अवस्थामा, पाकिस्तानले संसारलाई देखाउन पनि खोजिरहेको छ कि ऊ कश्मीर मुद्दामा कुरा गर्न चाहन्छ तर भारत यसमा कुरा गर्न चाहँदैन ।’

तर के ट्रम्प कश्मीरमा मध्यस्थता गर्न गम्भीर छन् त ? प्राध्यापक महापात्रा भन्छन्, ‘कश्मीरबारे ट्रम्पको भनाइ धेरै गम्भीर छैन । डोनाल्ड ट्रम्पको मनसाय गलत छैन । उनी भारत र पाकिस्तान बिच सम्झौता ल्याउने कुरा गरिरहेका छन् । यो मनसाय सही छ तर यसमा धेरै गम्भीरता छैन ।’ विश्लेषकहरू त यो पनि विश्वास गर्छन् कि अमेरिकाको पाकिस्तानसँगको सम्बन्ध भारतसँगको भन्दा फरक छ । यस्तो अवस्थामा अमेरिकाले दुवै देशसँगको सम्बन्ध कायम राख्ने चुनौती पनि सामना गरिरहेको छ । स्तुति भन्छिन्, ‘पाकिस्तानसँग अमेरिकाको सम्बन्धमा भारतलाई कुनै समस्या छैन । भारतको पाकिस्तानसँग केही समस्याहरू छन् र भारत चाहन्छ कि पाकिस्तानबाट आतंकवाद अन्त्य होस् । अमेरिकाले यसमा कसरी मद्दत गर्न सक्छ भनेर हेर्नुपर्नेछ ।’ 

#भारत र पाकिस्तान तनाव #डोनाल्ड ट्रम्प

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here