दोहोरो अंकले घट्यो नेप्से, ६४ करोड बराबरको शेयर कारोबार

 २ कार्तिक, काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधवार नेप्से परिसूचक दोहोरो अंक घटेको छ ।

परिसूचक १२ दशमलव ८१ अंक घटेर १ हजार ८४५ दशमलव ५१ विन्दुमा झरेको हो । यस दिन कारोबारमा आएका २१६ धितोपत्रको २१ लाख ५१ हजार ७१४ कित्ता शेयर २० हजार २७४ पटकमा रू. ६४ करोड ३६ लाख ७ हजार ९७५ बराबरको शेयर खरीदविक्री भएको छ । पछिल्लो समय कम्पनीहरुको शेयरमूल्य निकै सस्तो हुँदा पनि तरलताको अवस्था र ब्याजदर असहज भएका कारण पूँजीबजार प्रभावित बनेको एक लगानीकर्ताले बताए ।

frontline

विगत केही साता बैंकिङ प्रणालीमा निक्षेप थपिएपनि कर्जा प्रभाव सुस्त भएकोे छ । ब्याजदर महँगो बन्दै गएको छ । जसका कारण ऋण लिएर लगानी गर्नेहरुका लागि पनि परिस्थिति सहजे छैन । यी कारण पनि बजार प्रभावित भएको हो ।

यद्धपि लाभांशको सिजन शुरु भएको छ । विगतमा राम्रो लाभांश दिदै आएका कम्पनीको आधारभुत पक्ष र प्राविधिक पक्षहरु राम्रोसँग केलाएर लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने जानकारहरु बताउँछन् । 

कारोबारमा आएका २१६ धितोपत्रमध्ये अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।

शेयर मूल्य प्रतिकित्ता रू. ८८८ दशमलव ८० कायम भएको छ। त्यसैगरी दोस्रोमा सयपत्रि हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत वृद्धि भएर रू.२३५ दशमलव ६० कायम भएको छ । 

बुधवार सबैभन्दा बढी पिपुल्स पावरका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ७ दशमलव ४७ प्रतिशत घटेसँगै सर्वाधिक गुमाएका हुन् । कम्पनीको शेयर मूल्य रू. २१३ मा झरेको हो । त्यसैगरी दोस्रोमा सामलिङ्ग पावर कम्पनीको शेयर मूल्य ६ दशमलव १३ प्रतिशत घटेर रू.३९८ कायम भएको छ । 

सर्वाधिक शेयर खरीदविक्री सोल्टी होटलको भएको छ । यस कम्पनीको रू. ३ करोड ७२ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई आकर्षक लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै सर्वाधिक शेयर खरीदविक्री भएको हो । कम्पनीले हाल कायम चुक्तापूँजीको २१ दशमलव ३२ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो ।

त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा नबिल बैंकको रू. २ करोड ४१ लाख बराबरको भएको छ । कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये होटल एण्ड टुरिजम समूहको परिसूचक १ दशमलव ५६ प्रतिशत र म्युचुअल फण्ड समूहको शून्य दशमलव १८ प्रतिशत बढेको छ भने बाँकी सबै समूहको समूहगत परिसूचक घटेको हो । सबैभन्दा बढी समूहगत परिसूचक घट्नेमा  वित्त समूहको परिसूचक २ दशमलव ५४ प्रतिशत घटेको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here