दुर्घटनास्थलबाट मृत्यु भएकाहरुको नगद र सुन गायब

१६ माघ, काठमाडौं । इलामको रोङ गाउँपालिका–४ पहिरोमा जिप दुर्घटनामा मृत्यु भएकाहरुको नगद र सुन हराएको छ ।

दुर्घटनामा ज्यान गुमाएका झापाको मेचीनगर नगरपालिका–४ का ५५ वर्षीय रमेश थापा र ४० वर्षीय सूर्यबहादुर थापाको साथमा रहेको करिब ४ लाख रुपैयाँ नगद र आधा तोलाको सुनको औँठी हराएको हो ।

frontline

मृतकका भाइ मनोजकुमार थापाका अनुसार इलामबाट खसीबाख्रा खरीद गरी झापामा ल्याएर बिक्री गर्ने थापा दाजुभाइले दुर्घटना भएको दिन जिप लिएर इलामतर्फ जाँदै थिए ।

‘खसीबाख्रा किन्न उहाँहरुले नगद लिएर जानु भएको थियो, घटनास्थलमा हामी पुग्दा प्रहरी र स्थानीय आइसकेका थिए’ उनले भने, ‘दाजुको साथमा रहेको करिब चार लाख रुपैयाँ र औंठी त्यहाँ थिएन ।’

उनका अनुसार थापा दाजुभाइ १२ माघमा बिहान ४ बजे खसी किन्न इलामतिर गएका थिए । ‘परिवारलाई ५: ५५ बजे दुर्घटना भएको खबर भयो, लगत्तै त्यहाँ गएका थियौ’ उनले भने, ‘यस विषयमा प्रहरी र जनप्रतिनिधिलाई पनि खबर गराएका छौं ।’

मृतकका छिमेकी अर्जुन कार्कीले पनि प्रहरीलाई यस विषयमा जानकारी गराएको बताए । उनले भने, ‘यस्तो संवेदनशील अवस्थामा चोरी गर्नेलाई प्रहरीले तत्काल कानूनी दायरामा ल्याउनुपर्छ ।’

जिल्ला प्रहरी कार्यालय, इलामका प्रमुख एसपी महेन्द्र श्रेष्ठले पीडितले दिएको सूचनाको आधारमा हराएको भनिएको नगद र सुनको खोजी भइरहेको बताए ।

‘प्रहरी पुग्दा स्थानीय जम्मा भइसकेका थिए, पीडितले खबर गर्नुभएपछि सोधपुछ गरिरहेका छौं’ उनले भने, ‘यो विषयमा संवेदनशील भएर अनुसन्धान गरिरहेका छौं ।’

घटनामा जिप चालक ३३ वर्षीय अर्जुन कोइराला घाइते छन् । उनको बिर्तामोडको विएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार जिप अनियन्त्रित भएर ५ सय मिटर तल खसेको थियो । दुर्घटनाको थप कारणबारे अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here