दुर्गाप्रसादलाई भारु पाँच लाख क्षतिपूर्ति दिन कलकत्ता उच्च अदालतको आदेश
२३ मंसिर, काठमाडौं । भारतको जेलबाट रिहा भएका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)लाई भारु पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिन कलकत्ताको उच्च अदालतले आदेश दिएको छ ।
विनाकसुर ४० वर्ष थुनिएर गत चैतमा रिहा भएका उनलाई क्षतिपूर्ति दिन कलकत्ताको उच्च अदालतले पश्चिम बंगाल सरकारलाई आदेश दिएको हो ।
मुख्य न्यायाधीश प्रकाश श्रीवास्तव र न्यायाधीश राजषिर् भारद्वाजको संयुक्त इजलासले तिम्सिनाको खातामा तत्काल भारु पाँच लाख (नेपाली आठ लाख रुपैयाँ) जम्मा गर्न आदेश दिएको हो ।
दुर्गाप्रसादको मुद्दामा बहस पैरवी गरेका कोलकाताका वकिल हिरक सिन्हाका अनुसार उच्च अदालतले ७ डिसेम्बर (मंसिर २१ गते) को दिन भारतस्थित नेपाली महावाणिज्य दूतावासमार्फत् दुर्गाप्रसादको बैंक खातामा पाँच लाख भारु पठाउन आदेश दिएको हो ।
कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वर पौडेलले अबको ६ साताभित्र सरकारले तिम्सिनाकै खातामा रकम जम्मा गर्नुपर्ने उनको भनाई छ ।
उनले दुर्गाप्रसादको बैंक खाता नभए, उनको नजिकको नातेदारको खातामा रकम पठाइने पनि बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्