दुई समूहको टक्कर, अध्यक्षमा किशोरी यादव र प्रेम कुमार यादवबीच प्रतिष्पर्धा

मेवालाल यादव
रौतहट – खानेपानी तथा सरसफाई उपभोक्ता समिति निर्वाचनका लागि दुई समूहबीच तीव्र प्रतिस्पर्धा हुँदैछ। कुल ६२९ मतदाता रहेको यस समितिको नेतृत्वका लागि किशोरी यादव र प्रेम कुमार यादव मुख्य दाबेदारका रूपमा अगाडि आएका छन्। उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भइसकेको छ भने उम्मेदवारी फिर्ता दिने अन्तिम मिति चैत ६ गते तोकिएको छ।





यसअघि उपभोक्ता समितिको अध्यक्ष पदमा पूर्व विधायक नागेन्द्र सिन्हा थिए। अहिलेको निर्वाचनले नयाँ नेतृत्व चयन गर्नेछ, जसले आगामी वर्षहरूमा उपभोक्ता समितिको व्यवस्थापन, खानेपानी सेवा सुधार र सरसफाइ व्यवस्थापनलाई प्रभावकारी बनाउने जिम्मेवारी पाउनेछ।
किशोरी यादव नेतृत्वको समूहले उपभोक्ताहरूलाई प्रभावकारी सेवा दिन, खानेपानीको उचित व्यवस्थापन गर्न तथा संस्थाको पूर्वाधार सुधार गर्न मुख्य एजेन्डा अघि सारेको छ। उनका अनुसार यदि नेतृत्व सम्हाल्न पाएमा खानेपानी सेवाको पहुँच अझ व्यवस्थित बनाइनेछ। यस समूहबाट अध्यक्षमा किशोरी यादव, उपाध्यक्षमा नागेन्द्र साह तेली, सचिवमा नागेन्द्र साह कानु, सहसचिवमा लक्ष्मीनारायण साह, कोषाध्यक्षमा प्रेम देवी, सदस्यहरूमा मोहम्मद जमालुदिन र रामविनय झा, महिला सदस्यमा उर्मिला देवी तथा दलित महिला सदस्यमा कोशिला देवीले उम्मेदवारी दिएका छन्।
किशोरी यादवले उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै भने, “हामी उपभोक्ताहरूको हितलाई प्राथमिकतामा राखेर काम गर्नेछौं। खानेपानी सेवामा देखिएका समस्या समाधान गर्न ठोस कदम चाल्नेछौं।”
अर्को समूहको नेतृत्व प्रेम कुमार यादवले गरेका छन्। उनी संस्थालाई अझ व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यसहित निर्वाचनमा उत्रिएका छन्। उनका अनुसार समितिमा व्यवस्थापन कमजोरी हटाएर उपभोक्ताहरूलाई गुणस्तरीय सेवा प्रदान गर्न सकिन्छ। यस समूहबाट अध्यक्षमा प्रेम कुमार यादव, उपाध्यक्षमा धर्मेन्द्र कुमार सिंह, सचिवमा मोहन प्रसाद माली, सहसचिवमा हिरालाल राउत पटेल, कोषाध्यक्षमा नेमी गुप्ता, सदस्यहरूमा राजकिशोर साह र अर्जुन कुमार साह, महिला सदस्यमा ललिता देवी तथा दलित महिला सदस्यमा रम्भा देवी गिरीले उम्मेदवारी दर्ता गराएका छन्।
प्रेम कुमार यादवका अनुसार, “हामीले व्यवस्थापन सुधार, पारदर्शिता र उपभोक्ताहरूको हितलाई प्राथमिकतामा राखेर यो निर्वाचनमा भाग लिएका छौं।”
मतदाताहरूले नयाँ नेतृत्वसँग धेरै अपेक्षा राखेका छन्। पछिल्ला वर्षहरूमा खानेपानी व्यवस्थापनमा सुधारका प्रयास भए पनि केही समस्या कायमै रहेको उपभोक्ताहरू बताउँछन्। यस निर्वाचनपछि नयाँ नेतृत्वले ती समस्याहरू समाधान गर्ने आशा गरिएको छ।
अब हेर्न बाँकी छ, उपभोक्ता समितिको नेतृत्व कसले लिन्छ – संस्थाको सुधारको प्रतिबद्धता राख्ने किशोरी यादव समूह, वा पारदर्शिता र व्यवस्थापन सुधार प्राथमिकता दिने प्रेम कुमार यादव समूह? निर्वाचनको नतिजाले नै उपभोक्ताहरूको चाहना स्पष्ट पार्नेछ।
प्रतिक्रिया दिनुहोस्